News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलले २२ संस्करणमा ११४ खेल खेलेको छ र पाँच पटक विश्वकप उपाधि जितेको छ।
- जर्मनीले ११२ खेल खेलेको छ र चार पटक विश्वकप उपाधि जितेको छ।
- अर्जेन्टिनाले ८८ खेल खेलेको छ र २०२२ मा तेस्रो पटक विश्वकप जितेको थियो।
५ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलको सबैभन्दा ठुलो खेल मेला हो । यसमा ट्रफी र गोलको मात्र गणना हुँदैन । कुन टिमले विश्वकपमा आफूलाई सधैं प्रतिस्पर्धात्मक टोलीको रुपमा उभ्याउन सफल भयो भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।
जस्तै विश्वकप भन्ने बित्तिकै ब्राजिल लगायत देशको नाम अघि आइहाल्छ । फुटबलको सबैभन्दा ठूलो स्टेजमा खेल्ने सपना बनाएका धेरै देशहरू अझै त्यहाँसम्म पुग्न सकेका छैनन् ।
तर केही त्यस्ता देशहरू पनि छन् जसले लगातारजसो विश्वकपमा आफूलाई उपाधि दाबेदारको रुपमा पेश गरिरहेका छन् र धेरै खेल समेत खेलेका छन् । जसलाई विश्वकपो ट्र्यु जायन्ट्सको रुपमा समेत लिने गरिन्छ ।
यहाँ फिफा विश्वकपको २२ संस्करण सम्पन्न भइसक्दा सर्वाधिक खेल खेल्ने १० टोलीको बारेमा चर्चा गरिएको छ ।
ब्राजिल ११४
अहिलेसम्मको सबै विश्वकप खेल्ने एक मात्र राष्ट्रको रुपमा रहेको ब्राजिलले कीर्तिमानी पाँच पटक विश्वकप उपाधि समेत जितेको छ । यस्तै ब्राजिल विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने टोली समेत हो ।
ब्राजिलले २२ संस्करणमा गरी कूल ११४ खेल खेलेको छ । पाँच उपाधि जित्ने क्रममा ब्राजलिका लागि लेजेन्डहरू पेले, रोनाल्डो, रोमारियो, रोनाल्डिन्हो जस्ता खेलाडीहरू स्टारको रुपमा उदाएका थिए ।
ब्राजिल विश्व फुटबलको पर्यायवाची र विश्वकपको सिम्बोलको रुपमा रहेको छ ।
जर्मनी ११२
सर्वाधिक खेल खेल्ने सूचीको दोस्रो स्थानमा छ युरोपियन राष्ट्र जर्मनी । जर्मनीले विश्वकपमा ११२ खेल खेलेको छ ।
ब्राजिल भन्दा उपाधिको सूचीमा पछि रहेको जर्मनीले ४ पटक विश्वकप जितेको छ । विश्वकपमा सदाबहार दाबेदारको रुपमा जर्मनी रहँदै आएको छ ।
जर्मनीले पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमै भएको विश्वकप उपाधि जितेको थियो ।
अर्जेन्टिना ८८
फिफा विश्वकपको साविक विजेता अर्जेन्टिना सर्वाधिक विश्वकप खेल खेल्नेमा तेस्रो स्थानमा छ । अर्जेन्टिनाले अहिलेसम्म १७ संस्करणमा गरी कुल ८८ खेल खेलेको छ ।
पछिल्लो पटक कतारमा भएको २०२२ को विश्वकप जित्दै अर्जेन्टिनाले तेस्रो पटक उपाधि उचालेको थियो ।
विश्व फुटबलकै सुपरस्टारको रुपमा रहेका लिओनल मेसीको कप्तानीमा अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको थियो ।
इटली ८३
जर्मनीसँगै समान चार पटक विश्वकप जितेको इटाली पछिल्ला केही संस्करण विश्वकपमा छनोट हुन सकिरहेको छैन । यद्यपी इटाली सर्वाधिक खेल खेल्नेमा चौथो स्थानमा छ ।
इटालीले विश्वकपमा ८३ खेल खेलेको छ । त्यो संख्या बढाउन इटलीले विश्वकपमा छनोट हुने चुनौती पूरा गर्नुपर्नेछ ।
इंग्ल्यान्ड ७४
इंग्ल्यान्डलाई फुटबलकै जन्मदाताको रुपमा लिइन्छ । विश्वकप फुटबलमा इंग्लयान्डमा ७४ खेल खेलेको छ र यो सूचीमा पाँचौं स्थानमा छ ।
थ्री लायन्सको रुपमा परिचित इंग्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा भएको विश्वकप जितेको थियो । त्यसपछि इंग्ल्यान्ड लगातार उपाधि दाबेदार भएपनि फेरि जित्न सकेको छैन ।
फ्रान्स ७३
फ्रान्स पछिल्लो समय विश्व फुटबलको सुपर पावरको रुपमा अघि बढिरहेको छ । पछिल्लो तीन दशकमा फ्रान्सले दुई पटक विश्वकप जितेको छ । फ्रान्सले विश्वकपमा अहिलेसम्म ७३ खेल खेलेको छ ।
सन् १९९८ मा घरेलु मैदानमा पहिलो पटक विश्वकप जितेको फ्रान्सले २०१८ मा रुसमा दोस्रो पटक उपाधि जितेको थियो ।
सन् २०२२ मा पनि फाइनल पुगेको फ्रान्स अर्जेन्टिनासँग पराजित भएको थियो ।
स्पेन ६७
पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा चम्केको अर्को युरोपेली राष्ट्र हो स्पेन । स्पेनले विश्वकपमा ६७ खेल खेलेको छ ।
गोल्डेन जेनेरेसनको रुपमा परिचित स्पेनी टोलीले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उपाधि जितेको थियो । जसबाट स्पेनले पुरुष फुटबलमा आफ्नो उत्कृष्ट सुरुवात गरेको थियो ।
त्यही लयलाई फेरि दोहोर्याउने लक्ष्यमा स्पेन रहेको छ ।
मेक्सिको ६६
मेक्सिको विश्वकपमा धेरै अनुभवी टोली हो तर अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । मेक्सिकोले दुई पटक फिफा विश्वकप नै आयोजना गरिसकेको छ भने सहआयोजकको रुपमा तेस्रो पटक आयोजना गर्दैछ ।
मेक्सिकोले अहिलेसम्म विश्वकपमा ६६ खेल खेलेको छ र आधुनिक विश्व फुटबलमा कन्सिस्टेन्ट टिमको रुपमा रहेको छ ।
२०२६ को विश्वकप आयोजना पछि मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र समेत बन्दैछ ।
उरुग्वे ५९
विश्वकपको इतिहास खोतल्दा सबैले सम्झने पहिलो नाम हो उरुग्वे । उरुग्वे पहिलो पटक विश्वकप जित्ने राष्ट्र हो । उरुग्वेले विश्वकपमा ५९ खेल खेलेको छ ।
सन् १९३० को पहिलो विश्वकप उपाधि जितेर इतिहास रचेको उरुग्वेले सन् १९५० मा दोस्रो पटक विश्वकप जितेको थियो ।
नेदरल्यान्ड्स ५५
विश्वकपमा अभागी टोलीको रुपमा रहेको नेदरल्यान्ड्स विश्वकपमा अहिलेसम्म ३ फाइनल खेल्दा पनि उपाधि जित्न सकेको छैन ।
नेदरल्यान्ड्सले अहिलेसम्म विश्वकपमा ५५ खेल खेलेको छ ।
योहान क्रफ, डेनिस बर्गक्याम्प हुँदै आर्यन रोबेन, वेस्ने स्नाइडर, भर्जिल भान डाइक जस्ता खेलाडीहरू हहुँदा पनि डच टोली अझै पहिलो विश्वकप उपाधिको खोजीमा छ ।
प्रतिक्रिया 4