Comments Add Comment

बेलायती सेयरमा वित्तीय संकटयताकै ठूलो गिरावट

ओरालो बाटोमा विश्व सेयर बजार

२६ फागुन, काठमाडौं । सोमबार बेलायतको प्रमुख सेयर बजारमा सन् २००८ मा देखिएको वित्तीय संकटयताकै ठूलो गिरावट आएको छ । सोमबारको शुरुवाती करोबारमा बेलायती सेयर परिसूचक फुट्सी १०० आठ प्रतिशतले घटेको हो । बेलायती सेयर परिसूचकको लागि यो वित्तीय संकटयता एकै दिनमा देखिएको सबैभन्दा ठूलो गिरावट हो ।

सोमबार सेयरमा आएको कमीसँगै धेरै कम्पनीले अर्बौं डलर गुमाएका छन् । कोरोना भाइरस कोभिड–१९ को प्रकोपको कारण यसअघि नै समस्यामा रहेको शेयर बजारलाई रुस र साउदी अरेबियाबीचको तेलको उत्पादनको विवादले थप कमजोर बन्न सहयोग पु¥याएको हो ।

सोमबार बेलायतबाहेक अन्य मुलुकको प्रमुख सेयर बजार पनि घटेका छन् । चीनको निर्यातमा देखिएको उल्लेख्य कमी र जापानी अर्थतन्त्र कमजोर बन्ने आशंकासँगै सोमबार अधिकांश एसियाली सेयर बजार घटेका छन् । सोमबार बजार बन्द हुँदा चिनियाँ सेयर परिसूचक सांघाई कम्पोजिट इन्डेक्स ३ दशमलव ०१ प्रतिशत घटेर २९४३ दशमलव २९ अंकमा आइपुगेको थियो ।

जापानी सेयर सूचक निक्कैई२२५ ५ दशमलव ०७ प्रतिशत घट्दा दक्षिण कोरियाको कोस्पी सेयर परिसूचकमा पनि ४ दशमलव १९ प्रतिशतको कमी देखिएको थियो । त्यस्तै हङकङको हेङसेङ, इन्डोनेशियाको जकार्ता कम्पोजिट, थाइल्याण्डको सेट कम्पोजिटमा पनि सोमबार ४ प्रतिशतभन्दा धेरै गिरावट देखिएको छ ।

कोरोना भाइरसको कारण चीन र जापानको अर्थतन्त्र कमजोर बनेको समाचार सार्वजनिक भएसँगै त्यसको असर एसियाली सेयर बजारमा देखिएको हो । सोमबार तेलको भाउ पनि २० प्रतिशतभन्दा धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment