Comments Add Comment

कोरोनाले नरोकिएको चिनियाँ पढाइ : कक्षाकोठामा शिक्षक, घरघरमा विद्यार्थी

Photo Credit : China News Service/Getty
चीनको ग्वान्झाउ प्रान्तस्थित ग्वान्डोङ्ग स्कुलकी एक शिक्षिका अनलाइनमार्फत विद्यार्थीहरुलाई पढाउँदै ।

२८ फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) भाइरसको प्रकोप अहिले विश्वभर फैलिएको छ । यो भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १९ हजार नाघिसकेको छ भने ४ हजार ३०० ले ज्यान गुमाइसकेका छन् । तर सबैभन्दा बढी प्रभाव चीनमै पर्‍यो ।

भाइरसको प्रकोप फैलिएसँगै यसलाई नियन्त्रण गर्न चीनमा सबै विद्यालय र कलेजहरु बन्द छन् । तर यस्तो अवस्थामा पनि सबै विद्यालय तथा शैक्षिक संस्थामा पढाइ भने रोकिएन ।

सिंघुवा युनिभर्सिटीको कन्ट्रोल सेन्टरले अहिले एक सातामा ४ हजारभन्दा धेरै भर्चुअल कक्षा लिइरहेको छ । भर्चुअल कक्षामा शिक्षक त उपस्थित हुन्छन् । तर विद्यार्थीहरु भने हुँदैनन् । उनीहरुले घरमा अनलाइनमा बसेर शिक्षकले पढाएको सिक्छन् र अभ्यास गर्छन् ।

अहिले चीनमा २७ करोड ६० लाख विद्यार्थीहरु यसरी नै घरमै बसेर अध्ययन गरिरहेका छन् । पढाइ पूरा गर्ने अर्को माध्यम भेटिएकोमा विद्यार्थीहरु पनि खुसी छन् । अनलाइनबाट पढाइ गर्दा केही कमी भए पनि केहीमा निकै फाइदा पुगेको शिक्षकहरु पनि बताउँछन् ।

मन्त्रालयले विद्यार्थीको पढाइमा कुनै असर नहोस् भन्नका लागि सात हजार सर्भर भएको ‘नेशनल इन्टरनेट क्लाउड क्लासरुम’को योजना ल्याएको थियो । यो प्रणालीमा एकैपटक ५ करोड मानिसले अध्ययन गर्दा पनि साइट क्र्यास हुँदैन

अनलाइनबाट आफ्ना विद्यार्थीहरुलाई पढाइरहेकी सिंघुवा यूनिभर्सिटीकी एक प्राध्यापक चु क्युफिङका अनुसार चिनियाँ विद्यार्थी निकै लजालु स्वभावका हुन्छन् । त्यसैले उनीहरुले कक्षाकोठामा राम्रोसँग आफूलाई मनमा लागेको कुरा शिक्षकसँग सोध्न सक्दैनथे ।

अनलाइनबाट पढाउन थालेपछि भने त्यस्ता विद्यार्थीले आफूलाई मनमा लागेको प्रश्न आफैंले लेखेर पठाउँछन् । यसबाट उनीहरुको पढाइको गुणस्तरमा पनि सुधार आइरहेको उनको भनाइ छ ।

अहिले चीनमा केही विद्यालयहरु खुल्ने तयारीमा छन् । तर अझै पनि धेरै विद्यालय तथा कलेज बन्द नै छन् । यस्तोमा अनलाइन कक्षा निकै महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।

कोरोनाका कारण विद्यालय बन्द भएपछि त्यसको क्षति न्यूनीकरण गर्न सबैभन्दा छिटो कदम शैक्षिक क्षेत्रले कदम चालेको चिनियाँ सरकारी टेलिभिजनले बताएको छ । समाचारहरुमा जनाएअनुसार शैक्षिक संस्थाहरु बन्द गरिएसँगै फेब्रुअरी २ मा नै २२ अनलाइन पाठ्यक्रमको प्लेटफर्म र २४ हजार अनलाइन कोर्सको व्यवस्था गरिएको थियो ।

यसरी अनलाइनको कक्षा खोल्नेमा सांघाईको चियाओ टोङ युनिभर्सिटी र पेकिङ युनिभर्सिटीजस्ता विश्वविद्यालय अगाडि देखिएका थिए । चीनको शिक्षा मन्त्रालयले पनि अनलाइन सिकाइलाई प्रेरित गर्दै सरकारले विद्यालय बन्द गरेको, तर सिकाइमा रोक नलगाएको बताएको थियो । मन्त्रालयले विद्यार्थीको पढाइमा कुनै असर नहोस् भन्नका लागि सात हजार सर्भर भएको ‘नेशनल इन्टरनेट क्लाउड क्लासरुम’को योजना ल्याएको थियो । यो प्रणालीमा एकैपटक ५ करोड मानिसले अध्ययन गर्दा पनि साइट क्र्यास हुँदैन ।

मन्त्रालयले अनलाइन सिकाइको लागि मुख्य शिक्षकहरुलाई घरमा नै आवश्यक उपकरण पु¥याइने पनि बताएको थियो ।

कोरोना भाइरसको प्रकोप अझै कति दिनसम्म रहन्छ भन्ने थाहा छैन । तर चीनमा अनलाइनको माध्यमबाट आफ्नो अध्ययन पूरा गरिरहेका विद्यार्थीको पढाइमा भने पढाइमा कुनै असर पर्ने छैन । अनलाइन सिकाइबारे केही नराम्रा पक्षहरु पनि आएका छन् । तर घरमा चुपचाप बस्नुभन्दा उनीहरुको सिकाइले उनीहरुलाई अब विद्यालय जाँदा खड्किने सिकाइको अभाव पूरा गर्न भने पक्कै पनि सहयोग पुग्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment