Comments Add Comment

कोरोनामा स्वास्थ्य मन्त्रालयको काम : ‘थ्यौरी’मा ठीकै छ

थुप्रै कार्ययोजना बने, थुप्रै निर्णयहरु भए, स्वास्थ्य मन्त्रालयले के–के गर्‍यो ?

२ चैत, काठमाडौं । कुनै ठाउँमा पाँचजना मानिस बसेका छन् भने कुनातिर छिरेर दुईजनाले सुटुक्कै कानेखुशी गर्नु कम्युनिस्टहरुको पुरानै काम गर्ने तरिका हो । अहिले देशमा कम्युनिस्टको सरकार चलिरहेको छ । र, कोरोनाको विश्वव्यापी महामारी फैलिइरहेका बेला कम्युनिस्ट सरकारको काम गर्ने तरिका जनताले थाहै नपाउने ‘छापामार शैली’ बाट अगाडि बढिरहेको छ । कोरोनाको जोखिमबाट बच्न सरकारले अहिले देशभर के गरिरहेको छ भन्ने आधिकारिक सूचना सरकारी स्रोतबाट आएको छैन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ८ जना मन्त्रीहरु सम्मिलित उच्चस्तरीय समिति गठन भएता पनि विभिन्न मन्त्रालयबाट भइरहेका कामहरुबारे जानकारी दिने आधिकारिक सूचना प्रणाली सरकारले विकास गरेको छैन । कोरोनाबारे भएका निर्णयहरु कुनै पनि मन्त्रालयले जनतामा प्रवाह गर्न सकिरहेका छैनन् । एकले अर्कोलाई पन्छाउने र सूचना नदिने क्रम बढेको छ । नेता र मन्त्रीहरुको डरले कर्मचारीहरु पनि सूचना दिन डराइरहेका छन् ।

पत्रकार सम्मलेन गरेर मिडियालाई सूचना दिइयो भने त्यो सन्देश निशुल्करुपमा जनतामा पुग्छ । तर, सरकारी अधिकारीहरु पैसा खर्च गरेर कोरोनासम्बन्धी ब्रोसर बनाउने, विज्ञापनहरु प्रकाशित गर्ने र एनसेलबाट म्यासेज पठाउने अभियानतिर लागेका छन्, यसो गर्दा कमिसनको कारोबार फस्टाउँछ, प्रेस विज्ञप्ति जारी गर्दा जनतामा निशुल्क सूचनाहरु पुग्छन् ।

कोरोनाको जोखिमबाट जोगिनका लागि सरकारले के काम गरिरहेको भन्नेबारे स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले चाहिँ यथार्थ कुराहरु मिडियासमक्ष ल्याउने हिम्मत गरेका छन् । शनिबार सार्वजनिक विदाका दिन महानिर्देशक श्रेष्ठले अहिलेसम्म स्वास्थ्य मन्त्रालय अन्तरगत के–के कामहरु भए भन्ने विषयमा विस्तृत जानकारी पस्किए ।

महानिर्देशक श्रेष्ठले दिएको जानकारीलाई केलाउने हो भने अहिलेसम्म स्वास्थ्य मन्त्रालयले के कति कामहरु गरेको रहेछ भन्ने स्पष्ट हुन्छ । मन्त्रालयले सिद्धान्ततः ठीक गरेको भएता पनि व्यवहारिक रुपमा केही कमीकमजोरीहरु रहे, तिनमा सुधार गर्न सरकार तयार रहेको श्रेष्ठको भनाइ छ ।

पढौं, महानिर्देशक श्रेष्ठको भनाइ उनकै शब्दमा–

यो रोग जुनप्रकारले अगाडि बढिराखेको छ, यहाँ सरकारको मात्रै मुख ताकेर पुग्नेवाला छैन । सरकारको कहीँ कमी कमजोरी छ भने कोट्याइदिनुपर्छ । भोलि यो रोग जुनबेला बढ्छ, त्यसबेला कुनै एउटा व्यक्तिविशेषलाई हुँदैन, यो देशले नै सफर गर्ने हो । सफर गर्न थालिसक्या छ ।

अहिलेसम्म हामीले भनेका छौं, नेपालमा यो रोग आएको छैन । एउटा आएको थियो, ठीक भएर गइसक्यो । उहाँसँग सम्पर्क भएका ६० जनालाई हामीले अनुगमन गर्‍यौं, कसैलाई पनि संक्रमण भएको देखिएन ।

एकजना मान्छे नेपालबाट अष्ट्रेलिया गएका थिए, अष्ट्रेलियामा गएपछि पोजेटिभ देखियो । ती मान्छेको पनि घर ठेगाना सबैतिर खोजी गर्दा केही देखिएन । यसरी हामीले सबैतिर खोजीहरु गरेका छौं । कहीँ छुटेको छ भने हामी त्यहाँ जान तयार छौं । केही गल्ती कमजोरी छ भने बाटो सुधार्न हामी तयार छौं । तर, गलत सन्देश गयो र गलत अफवाहहरु फैलाइयो भने त्यसको प्रभाव नकारात्मक पर्न सक्छ ।

थुप्रै कार्ययोजना बने, थुप्रै निर्णयहरु भए

हाम्रो देशको सीमित साधन स्रोत, हाम्रो गभर्नेन्स हामी सप्पैलाई थाहा छ । हामी यहीँ जन्मेका, हुर्केका हौं, बढाउनुपर्ने, घटाउनुपर्ने छैन । अहिले सरकारले यसलाई पूर्ण प्राथमिकता दिएको छ । हामी हरेक दिन यसको विश्लेषण गरिरहेका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूसँग हाम्रो तीन/चारपटक मिटिङ भो । उहाँले दुईचार घण्टा, तीनचार घण्टा टाइम दिनुभो । त्यसपछि अधिकारसम्पन्न एउटा समिति छ, उपप्रधानमन्त्रीज्यूको अध्यक्षतामा । र, ८ जना अरु मन्त्रीहरु हुनुहुन्छ, मुख्यसचिव यसको सदस्य–सचिव हुनुहुन्छ । यसले काम गरिराखेको छ ।

हामी जनवरी ७, ८ मै सम्वद्ध मानिसहरु छलफलमा बसिसकेका छौं । के गर्ने भनेर हामीले त्यहीबेलादेखि तयारी सुरु गर्‍यौं। जनवरी २३ मा पहिलो केस पहिचान भइसकेपछि पत्रकारहरुलाई जानकारी दिएर २४ घण्टाभित्र आइएचआरमा रिपोर्ट गर्नुपर्ने थियो । नेपालका पत्रकारलाई जानकारी दिएपछि हामीले आइएचआरमा रिपोर्ट गर्‍यौं ।

त्यसपछि तुरुन्तै माननीय स्वाथ्यमन्त्रीको अध्यक्षमा एउटा मिटिङ गरियो । सबै सरोकारवाला मन्त्रालयका सचिवहरु र विभागका महानिर्देशकहरु, त्रिभुवन विमानस्थलको, भन्सारको, सबैलाई बोलाएर हामीले मिटिङ गर्‍यौं । र, माक्सहरुको निर्यात भइरहेको थियो, त्यसलाई तुरुन्त रोक्नोस्, लगायतका आदि–इत्यादि निर्णयहरु गर्‍यौं ।

सचिवज्यू (स्वास्थ्य) को अध्यक्षतामा हाम्रो मन्त्रालयस्तरीय एक्सन टिम बन्यो । र, डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा हामीले टेक्निकल टिम बनायौं । टेक्निकल मानिसहरु रहेर हामी काम गर्दैथियौं । त्यसपछि (विश्वमा) रोगको मात्रा जब धेरै बढ्दै गइसकेपछि हामी सम्माननीय प्रधानमन्त्रीज्यूकहाँ पुग्यौं । त्यहाँ तीन/चार चरणमा मिटिङहरु भइसकेपछि उहाँले आफ्नो स्वास्थ्यका कारणले पनि उपप्रधानमन्त्रीज्यूलाई सप्पै जिम्मा दिनुभो ।

अनि उपप्रधानमन्त्रीज्यूको संयोजकत्वमा १० वटा मन्त्रालयका ८ जना मन्त्रीहरु र सदस्य–सचिवमा मुख्यसचिवज्यू रहने गरेर एउटा उच्चस्तरीय संयन्त्र बनायौं । र, हामीले मुख्यसचिवको अध्यक्षतामा एक्सन टिम बनायौं । त्यो एक्सन टिममा सरोकारवाला १०/१२ वटा मन्त्रालयका सचिवहरु छन् । र, आवश्यकता अनुसार त्यहाँ सबैलाई आमन्त्रण गरिन्छ । र, सुरक्षा निकायका प्रतिनिधिहरु रहेको एक्सन टिम बनायौं र थुप्रै कार्ययोजनाहरु, थुप्रै निर्णयहरु भएका छन् ।

ती धेरै निर्णयहरुमध्ये स्वास्थ्यसम्बन्धी हामीले के–के गर्‍यौं, म भन्छु ।

१. ल्याबको व्यवस्था : यसमा एउटा सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो ल्याबलाई मजबुत बनाउनुपर्ने थियो । हाम्रो ल्याब थिएन । हामीले जनवरी २३ तारेखमा जुन टेस्ट गर्‍यौं, त्यो हङकङ पठाएका थियौं । त्यसपछि २७ तारेखदेखि हामीले ल्याब यहीँ सुचारु गर्‍यौं । ल्याबका लागि चाहिने तालिम गर्‍यौं ।

सबै प्रदेशका मान्छेहरुलाई स्वाबको संकलन कसरी गर्ने, हामीले तालिमहरु दियौं । अहिलेको अवस्थामा हेर्दाखेरि ल्याबले हप्तामा ५ सयजति परीक्षणहरु गर्न सक्छ । आवश्यकता पर्‍यो र बिरामीको संख्या बढ्दै गयो भने एक हप्तामा ४ हजारसम्म टेस्ट गर्ने क्षमता हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छ ।

अरु ल्याबहरुको पनि विकास गर्नुपर्‍यो भन्ने भएको हुनाले अरु सम्पूर्ण ईच्छुक ल्याबहरुका लागि दरखास्त आह्वान गरिएको छ । ईच्छुक ल्याबहरुले निवेदन पनि दिनुभएको छ । वहाँहरुको क्षमता मूल्यांकन गरेर भोलि भयावह अवस्था आयो भने कुन–कुन ल्याबलाई सहभागी गर्ने, यो काम पनि हामीले गरेका छौं ।

२. सबै प्रदेशमा निगरानी संयन्त्र : खासमा सर्भिलेन्स (निगरानी) भनिन्छ, यसमा बेसिक सर्भिलेन्स पनि पर्छ । अस्पतालहरुले सबै शंकास्पद बिरामीहरुको रिपोट गर्ने र परीक्षणका लागि टेकुमा पठाउने हामीले भनेका थियौं । अहिले आएर हामीले एक्टिभ रुपमा हामी आफैंले खोज्नुपर्छ भनेर सबै प्रदेशमा हाम्रो हेल्थ इमर्जेन्सी टिम छ । त्यहाँ डब्ल्युएचओबाट प्रादेशिक अफिसर भनेर भर्ना गरेका थियौं, उनीहरुलाई अहिले सर्भिलेन्स अफिसरका रुपमा काम गर्ने भनेका छौं । र, हरेक प्रदेशका सामाजिक विकास मन्त्रालयले सर्भिलेन्स अफिसरहरु उहाँहरुले पनि तोक्नुभएको छ ।

त्यसपछि हामीले काठमाडौंमा पनि एक्टिभ सर्भिलेन्सका लागि हामीले काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका लागि १८ जना, खास गरी पब्लिक हेल्थ ग्रेजुएट गरेका भाइबहिनीहरुलाई भर्ना गरेर एक्टिभ सर्भिलेन्समा खटाइसकेको अवस्था छ । हामीले सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई शंकास्पद बिरामीहरुको रिपोर्ट गर्ने भनेका छौं ।

३. एयरपोर्टमा थ्यौरीमा गएको छ, धेरै ट्रयाकिङ हुन सक्या छैन : हामीकहाँ कोरोना थिएन, आउने बाहिरैबाट हो । त्यसले गर्दा एयरपोर्टमा हाम्रो हेल्थ डेस्क थियो । सुरुमा त्यति प्रभावकारी भएन भनिएको हुनाले अहिले बढी मान्छेहरु राखिएका छन् । बढी साधनसम्पन्न बनाइएको छ । पहिले थर्मोस्क्यानरले हेथ्र्यो दुई ठाउँबाट । त्यो एउटा बिग्रियो, एउटाले मात्रै हेथ्र्यो । त्यसले धेरै हेर्दैन । खासै त्यस्तो केही हुँदैन, मान्छेमा ज्वरो छ भने स्क्यान गर्दा त्यो कम्प्युटरमा देखिएको हुन्छ । मान्छेलाई के भयो भने म आएँ, मेरो जाँचै भएन भन्ने भयो ।

त्यसैले अहिले हामीले इन्फ्रारेड गन दिएका छौं । प्रत्येक मान्छेलाई गनबाट तापक्रमहरु लिइन्छ र सबै मान्छेहरुको डिक्लियरेसन फर्म भरिन्छ । कहाँबाट आउनुभएको, कहाँ बस्नुभएको छ, कहाँ घुम्नुहुन्छ भन्ने सबैको फर्म भर्ने काम हामीले गरिराखेका छौं । त्यहाँ दुईवटा कुरा छन् – जो जो बाहिरबाट आउनुहुन्छ, उहाँहरुमा लक्षण केही छ भने त्यहाँ एम्बुलेन्स छ, त्यसमा राखेर सीधै टेकु अस्पतालमा लान्छौंं । हिजो पनि लग्यौं, अस्ति पनि लग्यौं । दिनहुँ एक/दुईजना मान्छे लगिराखेका छौं ।

कुनै मानिस कोरियाबाट आएको छ, ज्वरो पनि छैन, केही पनि छैन भने उसले एउटा डिक्लियरेसन फर्म भर्नुपर्छ र अर्को एउटा म क्यारेन्टाइनमा बस्छु भन्ने फर्म भर्नुपर्छ ।

क्वारेन्टाइनका फर्महरु हामीले रेकर्डमा राखेका छौं । त्यो रेकर्ड कुन ठाउँको हो, हामीले त्यहाँ जानकारी गराउँछौं । जस्तो–म्याग्दीको मान्छे रहेछ भने म्याग्दीमा यस्तो यस्तो मान्छे, यति नम्बर वडाको मान्छे आएको छ, त्यहाँ घरमा बसेको छ कि छैन, उसको अवस्था के छ, परिवारको अवस्था के छ, त्यो स्थानीय हेल्थपोस्टले मनिटरिङ गर्नुपर्छ भनिएको छ ।

योचाहिँ वास्तवमा थ्यौरीमा गएको छ । तर, एक्टिभ्ली अझै हामीले गर्न सकेका छैनौं । अब एक/दुई दिनबाट हामी यो सुरु गर्दैछौं, कम्प्युटराइज्ड सफ्टवेयरहरु गराएर ट्रयाकिङहरु गरेका छौं । धेरै ट्रयाकिङ हुन सक्या छैन । तर, अबचाहिँ ट्रयाकिङको सिस्टम अलिकति व्यवस्थित गर्दैछौं ।

एयरपोर्टको परीक्षण भनेको त्यहाँ ज्वरो लिने हो । ज्वरोभन्दा बढी लिइँदैन । सुरुमा लिने ज्वरो मात्रै हो । अब हामी क्वारेन्टाइनका लागि एग्रिमेन्ट फारम भर्दैछौं ।

यो त भयो एयरपोर्टको कुरा ।

४. स्थलमार्गका सन्दर्भमा : हामीकहाँ भारतबाट प्रवेश गर्ने १२९ वटा ठाउँहरु रहेछन् । तीमध्ये गाडी चल्ने स्थान ३७ वटा रहेछन् । र, गाडी नचल्ने चारवटा स्थान, जहाँ मानिसहरुको बाक्लो आवत–जावत हुन्छ, त्यहाँ हाम्रो हेल्थ डेस्क राखिएको छ । त्यो हेल्थ डेस्कमा अरु केही हुँदैन, ज्वरो नाप्ने हामीले  इन्फ्रारेट थर्मामिटर दिएका छौं । त्यसले ज्वरो नाप्छ, त्यसपछि मास्कहरु दिन्छौं ।

हेल्थ डेस्कले उनीहरुको रेकर्ड राख्छ । दिनदिनै उता जानेको रेकर्ड राख्दैन, तर जो टाढाबाट आएका छन्, उनीहरुको रेकर्ड राख्छ । शंकास्पद ज्वरो देखियो भने हेल्थडेस्कले तुरुन्त त्यहाँबाट खबर गर्छ र आइसोलेसनमा, अस्पतालमा लगिन्छ । यो काम भएको छ । शुक्रबार मात्रै जनकपुरमा दुई जनालाई अस्पताल लगिएको छ । अस्ति बिराटनगरमा लगिएको छ । यसरी उहाँहरुलाई समातिएको छ र आइसोलेसनमा राखिएको छ । गड्डाचौकीले राखेको छ । यी काम भइराखेका छन् । शंकास्पद व्यक्ति अस्पतालमा छ भने स्वाब लिएर त्यो स्वाब काठमाडौंमा ल्याएर परीक्षण हुन्छ । हामीले यी काम गरेका छौं ।

५. आइसोलेसन बेडहरु छुट्याएका छौं : अस्पतालहरुको व्यवस्थापनका लागि काठमाडौं लगायत हरेक प्रदेशमा एक–एक वटा कम्तिमा, कसैले पाँचवटा पनि गरेका छन्, कसैले दुईवटा गरेका छन्, आइसोलेसन बेडहरुको व्यवस्था भएको छ । त्यसलाई अझ व्यवस्थित गर्न बाँकी छ ।

तीचाहिँ सुविधा सम्पन्न छन् म भन्दिनँ । यसलाई व्यवस्थित गर्नुपर्ने छ । तर, बेड उनीहरुले छुट्याएका छन् ।

काठमाडौंमा पनि बेडहरु छुट्याएका छौं । सुरुमा हामीले सबै अस्पतालमा १५५ वटा बेडहरु भनेका थियौं । थप सुझावहरु आएपछि अब हामीले त्यो रणनीति परिवर्तन गरेका छौं । अब हामी चारवटा अस्पतालहरुलाई तोक्छौं । एक नम्बरमा टेकुलाई तोक्यौं । दुई नम्बरमा हामीले सम्भवतः पाटनलाई तोक्छौं होला । तीन नम्बरमा कीर्तिपुर आयुर्वेदिक अस्पताललाई तोक्छौं । चार नम्बरमा आएर वीर अस्पतालको नयाँ भवनलाई तोक्दैछौं ।

किनभने, एउटा बिरामी ह्याम्समा, एउटा बिरामी ग्राण्डीमा र एउटा बिरामी टिचिङ अस्पतालमा छ भन्नासाथ मान्छेलाई त्रास हुँदोरहेछ । अर्को कुरा त्यहाँ सार्ने पनि सम्भावना हुन्छ । र, अर्को, त्यहाँ राम्रो केयरिङ नहुने भो । संसारभरि यही छ भनेर हाम्रा डब्ल्युएचओका सल्लाहकारहरुले पनि भनेको हुँदा हामीले चार स्थानमा तोक्दैछौं र यसबारे नेपाल सरकारले निर्णय गरिसक्या छ ।

६. प्रचार–प्रसारका कामहरु : हामीले अरु प्रचार–प्रसारका कामहरु पनि गरेका छौं । एनटीसीबाट एक करोडजति म्यासेज गएको छ र एनसेलबाट एक करोड ५० लाख म्यासेजहरु गएका छन् । विभिन्न ब्यानरहरु, फ्लेक्सहरु, ब्रोसियरहरु हामीले वितरण गरिसकेका छौं ।

त्यसपछि अस्पतालमा स्वास्थ्यकर्मीहरुको तालिमका लागि जोहो गर्दैछौं । हामीसँग कमिटी छ । त्यसले विभिन्न सिनारियोहरुको विश्लेषण गरेर कसरी अगाडि जाने भन्ने प्लान गर्छ । यसरी स्वास्थ्य मन्त्रालयले आफ्ना कामहरु गरिराखेको छ । यसमा अझै केही कमीहरु होलान्, यसमा अझै सुधार्न हामी तयार छौं ।

७. कल सेन्टर १११५ मा फोन गर्ने व्यवस्था : हामीले कल सेन्टर स्थापना गरेका छौं । १११५ मा यहाँहरुले फोन गर्नुभयो भने त्यसले रेस्पोन्स गर्छ । त्यसले दुईवटा कुरामा रेस्पोन्स गर्छ । एउटा चाहिँ केही सोधेको प्रश्न छ भने त्यसको जवाफ दिन्छ । अर्को, त्यसले कहीँ शंकास्पद मान्छेहरु छ कि, बिरामीहरु छ कि, त्यसको खोजतलास खोजतलास गरेर सागरजीको नेतृत्वमा रहेको एचयूसीमा खबर गर्छ । त्यहाँ पनि २४ सै घण्टा हाम्रो तीनवटा फोन नम्बरहरु खुल्ला छन् ।

केही प्रश्नोत्तर-

स्वास्थ्य विभागका महानिर्देशक श्रेष्ठले विभिन्न सात प्रकारका कामहरु भइरहेको जानकारी दिइसकेपछि केही प्रश्नहरुको सामना गरे । पत्रकारका प्रश्न र श्रेष्ठका जवाफ यस्ता छन्–

कोरोनाको जोखिमबारे सरकारले प्रभावकारी रुपमा काम गरिराखेको छ भनेर जनतालाई विश्वास दिलाउने आधार के छ ? कसरी पत्याउने जनताले ? एकैचोटि ५० जनामा संक्रमण देखियो भने हाम्रा अस्पतालहरुले धान्न सक्लान् ? सरकारसँग के योजना छ ?

सरकारले विश्वास दिने के हो भने हामी पहिलो देश हौं, जसले पहिलोचोटि आफैंले पहिचान गरेर डब्ल्युएचओलाई रिपोर्ट गर्‍यौं । अहिलेसम्म कसैमा संक्रमण देखिएको छैन, यो राम्रो कुरा हो । हामीकहाँ एउटा चोर पस्यो, काठमाडौंले चोर पत्ता लगायो । हामीले समयमै पत्ता लगाएका छौं । यसले के स्पष्ट हुन्छ भने हाम्रो सर्भिलेन्स सिस्टम कमजोर छ भन्न मिल्दैन ।

दोस्रो– अहिलेसम्म हामीले खोजपड्ताल गरिराखेका छौं । तर, अहिलेसम्म कहीँ देखिएको छैन । अस्ति हुम्लामा रुखाखोकी फैलियो, हामी त्यहाँ पुग्यौं । ६/७ जना मानिसको मृत्यु पनि भएको रहेछ, बुढाबुढी मान्छेहरु बितेका रहेछन् । सिन्धुपाल्चोकमा रुखाखोकी फैलिएको जानकारी आयो, त्यहाँ एकजना पनि मान्छे मरेनन् । अस्पतालमा धेरै बिरामीहरु आए भन्नासाथ हामीसँग रेकर्डको सिस्टम छ, थ्रेसहोल्ड छ । त्यो अहिलेसम्म देखिएको छैन । भर पर्ने एउटा चिज यो हो ।

अर्को, हामीले विभिन्न सिनारियोमा काम गरेका छौं । मेरो घरमा दुईवटा मात्र कोठा छ, एकजना पाहुना आए भने एउटा कोठामा सुताउँदा हुन्छ । तर, एकैचोटि १० जना पाहुना आए भने त मैले एडजस्ट गर्नुपर्‍यो नि । मिलाइन्छ नि । ठीक त्यस्तै प्लान हामीसँग छ ।

जस्तो– अहिले प्रयोगशालाले रगत जाँचिराखेको छ, भोलि त्यो जाँच अरु ल्याबहरुले गर्न सक्छन् । उससँग चारवटा मेसिनहरु छन्, उसले रगत जाँच्ने, खकार जाँच्ने सम्पूर्ण कामहरु रोकेर आफ्नो ध्यान कोरोनामा केन्द्रित गर्छ । जस्तो–अहिले टेकु अस्पतालमा कुकुरले टोकेका मान्छेहरु पनि छन् । एचआईभी एड्सका मान्छेहरु छन् । सबै टेकुले हेरिराखेको छ । भोलि त्यहाँ कोरोनामात्रै हुन्छ, कुकुरले टोकेका मान्छेलाई  हामी अर्को अस्पतालमा व्यवस्थापन गर्छौं । एचआईभी एड्सका बिरामीको व्यवस्थापन अर्को अस्पताललाई तोक्छौं । एचआईभी एड्सका बिरामीलाई वीर अस्पतालले व्यवस्थापन गर्न सक्छ र टेकु अस्पतालले कोरोनामा मात्रै काम गर्छ ।

अहिले वीर अस्पतालको पछाडि जापानले बनाइदिएको बिल्डिङमा डाइलाइसिस चलिराखेको छ । दुईवटा फ्ल्याटहरु खाली छन् । हाम्रो प्लान के छ भने बिरामी धेरै भएमा डाइलाइसिस यता (पुरानो बिल्डिङमा) सार्ने र त्यसलाई कोरोना हस्पिटल बनाइदिने । यो प्लान हामीले बनाएका छौं ।

मान्छे (जनशक्ति) पनि हामीले व्यवस्था गर्नुपर्ने हुन्छ । अब त्यो काम छाडेर यो काम गर भन्नुपर्ने हुन्छ । ६ महिनापछि गर्नुपर्ने अप्रेसनहरु अहिले किन गर्ने ? त्यसलाई क्यान्सिल गरेर हामी यता काम गर्छौं । जो मान्छेका लागि हामी तीन महिना, छ महिना पर्खन सक्छौं, त्यस्ता कुराहरुलाई पेन्डिङमा राखेर हामी काम गर्छौं ।

अहिले ठ्याक्कै प्लान हामीसँग छैन । संसारभरि छैन । हेर्नुहोस्, इटलीमा बिरामीले आईसीयु पाइराखेका छैनन् । त्यसकारणले यो जटिल कुरा छ । तथापि हामीले प्लान गरेका छौं । प्लान ए, प्लान बी, प्लान सी । विभिन्न सिनारियो को व्यवस्थापन गरेका छौं ।

नेपालमा अहिले भइरहेको कोरोनाको टेस्टमा कसरी विश्वस्त हुने ? यहाँ नेगेटिभ देखियो, तर यसलाई हङकङ पठाउनुपर्छ भनेको सुनिन्छ । यो भन्ने वित्तिकै मानिसमा शंका बढ्छ । यस्तो भएपछि नेपालमा भएको टेस्टलाई कसरी विश्वास गर्ने ? नेपालमा भइरहेको टेस्टको अवस्था के हो ? डब्ल्युएचओको मापदण्ड अनुसार टेस्ट भइरहेको छ कि छैन ? नत्र हामीले हङकङ किन पठाउनुपर्ने ?

हाम्रो हरेक टेस्टको क्वालिटी कन्ट्रोल भन्ने हुन्छ । नेपालमा अहिले डब्ल्युएचओ स्टाण्डर्डको टेस्ट भइरहेको छ । र, त्यो टेस्टको क्वालिटी के हो भनेर क्वालिटी कन्ट्रोलका लागि हामी हङकङमा पठाउँछौं । र हामीले जति पनि टेस्टहरु गरेका छौं, जे छ त्यो ठीक भनेर रिपोर्ट आएको छ ।

जस्तो–डोटीको बिरामीको टीबीको टेस्ट हुन्छ, त्यसको क्वालिटी कन्ट्रोल धनगढीमा छ । धनगढीको स्लाइडलाई फेरि काठमाडौंले क्वालिटी कन्ट्रोल गर्छ । त्यसैगरी हङकङ पठाउनु भन्नुको मतलब हाम्रो कामको क्वालिटी चेक हो । जस्तो– दिल्लीको क्वालिटी कन्ट्रोल पुनेमा छ । यो कुरा बुझिदिनुपर्‍यो ।

नेपालमा कोरोनाका बिरामीको खर्च कसले व्यहोर्छ ?

अहिले हामीले यसबारेमा अहिले हामी भन्न सक्दैनौं । सरकारले यसबारेमा केही भनेको छैन ।

टेकु अस्पतालबाट एकजना बिरामी भागेर धरान पुगेको खबर आयो । यसरी भागेको मानिसले अरुलाई भाइरस सार्‍यो कि ? अस्पतालबाट यसरी बिरामी भाग्नु गम्भीर लापरवाही हो कि हैन ?

जेलबाट पनि मान्छे भाग्छ । कोरियाबाट आएको मान्छे आइसोलेसनबाट भागेकै हो । त्यो मान्छेलाई फोबिया भो । ऊ आफूसँग भएका सम्पूर्ण कपडा र सम्पूर्ण चिजहरु वहीँ जलाएर रित्तै नेपाल आएको रहेछ । उसमा ज्वरो पनि छैन, खोकी पनि छैन, कुनै पनि चिन्ह, लक्षण छैन ।

ऊ सीधै टेकु अस्पतालमा आयो । र, भर्ना भयो । त्यहाँ भर्ना भएपछि उसले के भन्यो भने यहाँ कोरोना आउँदैछ, यहाँ सबै आगो लगाउनुपर्छ । ऊ टेकु अस्पतालमा एकदिन बस्यो । उसलाई धेरै सम्झाएर राखियो, तर राति भाग्यो ।

धरान पुग्यो । धरानबाट समातेर उसलाई वीपी प्रतिष्ठानमा राखियो । त्यहाँबाट पनि भाग्यो फेरि । त्यसपछि पुलिस लगाएर राख्या छौं । शायद अबचाहिँ निस्कियो होला । यो एक हप्ताअगाडिको कुरा हो । हल्ला यस्तो हुन्छ क्या !

भगौडाबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाइरेक्टर डा. बासुदेव पाण्डेले थप जवाफ दिए–

म १० दिन अगाडिसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको डाइरेक्टर थिएँ । त्यसैले त्यो बिरामीका बारेमा मलाई थाहा छ । हाम्रो अस्पताल अलि पुरानो छ, ४० वर्ष पुरानो । त्यो घटना भइसकेपछि हामीले झ्यालमा रेलिङ राखिसक्यौं । हामी पनि २/३ सय बेडको अस्पताल तुरुन्तै बनाउन चाहन्छौं । हामीले हरेक दिन भनिराखेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment