Comments Add Comment
सन्दर्भ– सार्कको भिडियो कन्फ्रेन्स :

प्रधानमन्त्री ओलीले अटेर गरे : चिकित्सक

ईच्छाशक्तिका साथ सहभागी हुनुभएको हो : सल्लाहकार

भिडियो कन्फरेन्समा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय ।

२ चैत, काठमाडौं । मिर्गाैलाको दोस्रो प्रत्यारोपण सफल गरेर ११ दिनपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुदैँ गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संग्लग्न चिकित्सकहरुले प्रष्ट भनेका थिए, ‘अबको ३ महिना संक्रमणको उच्च जोखिम हुन्छ, भेटघाट र कार्यक्रममा सहभागी हुन पूर्णरुपमा बन्देज लगाउनुपर्छ ।’

तर, डिस्चार्ज भएको एक घण्टा नबित्दै प्रधानमन्त्री ओली भेटघाटमा जुटे । उनले आफन्तका साथै निजी सचिवालयका सदस्यहरूसँग भेट गरे ।

त्यसको भोलिपल्ट प्रधानमन्त्री ओली पार्टीका शीर्षस्त नेता तथा सचिवालय सदस्यहरुसँग गफिए ।

र, डिस्चार्ज भएको तेस्रो दिन आज आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा फलोअपका लागि पुगे भने दिउँसो बालुवाटारबाट सिंहदरबार पुगेर कोभिड १९ (कोरोना) सम्बन्धी सार्क राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा सहभागी भए ।

झण्डै एकघण्टासम्म कन्फ्रेन्समा बसेका प्रधानमन्त्री ओलीले २ पटक गरेर करिब १० मिनेट मन्तव्य दिए ।

पहिलेजस्तो प्रधानमन्त्रीको बोली प्रष्ट सुनिएको थिएन । पछाडिबाट प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘अब रोकौं’ भन्ने संकेत गरिरहेको भिडियोमा प्रष्टै देखिन्थ्यो ।

हामीले प्रधानमन्त्री ओलीको उपचारमा संग्लग्न एकजना चिकित्सकलाई सोध्यौं, ‘प्रधानमन्त्रीज्यू अब कन्फ्रेन्समा बोल्न सक्ने गरी पूर्णस्वस्थ भइसक्नुभएको हो ?’

प्रत्यारोपणमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘हामीले चेतावनी दिँदादिँदै उहाँ कार्यक्रममा सहभागी हुनुभएछ, हामीले त मिल्दैन भनेका थियौँ । तर मान्नुभएन ।’

उनका अनुसार प्रधानमन्त्रीको यस्तो कार्यले उपचारमा संग्लग्न चिकित्सकहरुमा चिन्ता बढाएको छ  । उनकाअनुसार जति नै सावधानी अपनाए पनि मिर्गौला प्रत्यारोपण गरेको बिरामीलाई हिँडडुल र मानिसहरुसँग घुलमिल ६ महिनासम्म घातक नै हुन्छ ।

तर, डिस्चार्ज भएको तीनदिनमै उपप्रधानमन्त्री ईश्वर पोखरेल पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, मुख्यसचिव र सल्लाहकारसहित गरेर ६ जनाको टोलीसँग प्रधानमन्त्री ओली सिंहदरबारमा उपस्थित भए ।

यसरी जोखिम लिएर हिँडडुल गर्दा वा सामूहिक बिफ्रिङमा बस्दा संक्रमणको डर हुने बताउँदै एक चिकित्सकले भने, ‘हामीले जान नमिल्ने चेतावनी दिदाँ उहाँहरुले (सल्लाहाकारहरुले) पुरै सावधानी अपनाएर लैजान लागेको भन्नुभयो । हामीले सावधानी गराउने मात्रै त हो ।’

सिहंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जाँदै प्रधानमन्त्री ओली । तस्वीर : रासस

चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपणपछि ६ महिनासम्म इन्फेक्सनको सम्भावना उच्च हुन्छ । प्रत्यारोपण गरेको ६ महिनाको अविधिलाई जोखिमपूर्ण मानिन्छ । यो अवधिमा जुनसुकै बेला, जहाँबाट पनि संक्रमण हुनसक्छ । त्यसैले अत्यन्तै सावधानी अपनाउन आग्रह गरिएको थियो ।

संक्रमणको सम्भावना उच्च हुनको कारण के हो ?

चिकित्सकहरुकाअनुसार प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण फैलन्छ । औषधिको डोज, खाना, पानी र बाहिर वातावरणको थोरै तालमेल नमिलेमा संक्रमण भएर फोक्सोमा असर पर्छ, निमोनिया हुन सक्छ । यस्तो अवस्थामा रुघा लाग्नु पनि घातक मानिन्छ ।

प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ । मानिसको उमेर र स्वास्थ्य अवस्थाअनुसार ‘डोज’ भने फरक–फरक हुन्छ । त्यसैले ट्रान्सप्लान्ट गरेको सुरुवातमा हप्तैपिच्छे ‘ट्रयाक लेभल भेरिफिकेशन’ गर्नुपर्छ । प्रत्यारोण पुरानो भएपछि भने तीन महिनामा एक पटक गर्नुपर्छ ।

किनकि, औषधिको ‘डोज’ ‘ट्याक रेकर्ड भेरिफिकेशन’ को आधारमा तय गरिन्छ ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको सन्दर्भमा अन्य बिरामीको भन्दा उच्च डोजको औषधि चलाइएको छ । किनकि उमेर, रोग प्रतिरोधात्मक क्षमता र अन्य रोगको अवस्थाले हाई डोज औषधि माग गराएको हो ।

यद्यपि साधारणतया प्रत्यारोपण गरेका बिरामीले खाने औषधि त्यतिकै पनि अत्यन्तै हाइ डोजकै हुन्छ । औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ । औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ । प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा ब्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ ।

सोही कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्छ । त्यसैले प्रधानमन्त्री डिस्चार्ज भएको दिन उनका उपचारमा संलग्न चिकित्सकहरुले प्रष्ट भनेका थिए, ‘भिडभाड र अन्तक्रियालाई बेवास्ता नगर्ने हो भने उहाँलाई फेरि अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ ।’

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री नै सहभागी हुन जरुरी थियो ?

आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा भएको राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा अफगानिस्तान, माल्दिभ्स र श्रीलंकाका राष्ट्रपति तथा बंगलादेश र भुटानका प्रधानमन्त्री सहभागी भएका थिए ।

भिडियो कन्फरेन्समा भाग लिनुपूर्व स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इथोलन औषधि प्रयोग गर्दै । तस्वीर : रासस

पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी भए । यसले भर्खरै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली आफैं सहभागी हुन जरुरी थियो वा थिएन भन्ने प्रश्न उठेको छ ।

किनकि, पाकिस्तानका राज्यमन्त्री सहभागी हुँदा नेपालबाट पनि कोरोनासम्बन्धी उच्चस्तरीय समन्वय समितिको संयोजकका हैसियतमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल वा प्रधानमन्त्रीले तोकेका मन्त्री सहभागी हुन सक्थे ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने प्रधानमन्त्री आफ्नै निर्णयले भिडियो कन्फ्रेन्समा सहभागी भएको बताए । थापाले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले यसलाई महत्व दिएर दृढ ईच्छाशक्तिका साथ सहभागी हुने निर्णय गर्नुभएको हो ।’

यसका लागि चिकित्सकहरुले अनुमति दिएको र सबै मापदण्ड पूरा गरेको थापाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment