
४ चैत, काठमाडौं । कालोबजारी गरेर विक्री गर्न खोजेको अवस्थामा दश लाख बढी मास्क बरामद गरेको नेपाल प्रहरीले स्यानिटाइजरको मूल्य बढाएर बेच्न खोज्नेतर्फ ध्यान बढाएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका वेला कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिएको भन्दै प्रहरीले मंगलबार बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजर बरामद गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीलाई अन्य विभिन्न क्षेत्रबाट सूचना आएका छन्, यस्तो समयमा कालोबजारी गर्नेलाई छाडिन्न ।’
आर्केटबाट प्रहरीले रुपेश रौनियारलाई पक्राउ गरेको छ । उनले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताए । थापाका अनुसार कोरोनाको महामारी सुरु भएलगत्तै उनले स्यानिटाइजर लुकाएर राखेका थिए ।
महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको छ । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन साइटबाट मास्क चाहिन्छ भन्दै बढी मूल्यमा विक्री गरेको आरोपमा मिना घिमिरेलाई पक्राउ गरेपछि मास्क बरामद भएको हो ।
पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुस्
गोदाममा थन्कियो प्रहरीले नियन्त्रणमा लिएको अढाइ लाख मास्क !
महान्यायाधिवक्ता खरेलको निर्देशन – बरामद मास्क बिक्रीका लागि पठाउनू
प्रहरीले बरामद गरेको १० लाख मास्क साझा औषधि पसलबाट बेच्ने तयारी
प्रतिक्रिया 4