+
+
Shares

‘कोरोना संक्रमित भेटिँदा आतंकित नहुनुस्, सतर्कता अपनाउनुस्’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १४:४६

१० चैत, काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

शंकास्पद करिब ६ सय जनामा परीक्षण गर्दा एक जनाको रिर्पोट ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए ।

नेपालमा कोरोनाको संक्रमण देखिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । उनी निको भइसकेका छन् ।

चिकित्सकहरू भने संक्रमण देखिए पनि आत्तिनुपर्ने कारण नभएको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘विश्वभरि फैलिएको कोरोना माहामारीको संक्रमण हामी देखिनु अस्वाभाविक होइन तर देखियो भन्दैमा अत्तालिनुपर्ने कारण भने छैन ।’

एक जनामा देखियो भन्दैमा सारा नेपालीहरू आतंक हुन नहुने उनको सुझाव छ ।

जनस्वाथ्य वैज्ञानिक डा. समीरमणि दीक्षित आफैंलाई लागे पनि हतास हुन नहुने बताउँछन् । उनी भन्छन्, ‘कोरोना लागिहाल्यो भने पनि मृत्यु हुने होइन, बरु आत्मबल दह्रो बनाउनुपर्दछ ।’ विश्वका प्रायः सबै देशमा पुगिसकेको कोरोनाको संक्रमण देखिए पनि नआत्तिएर बच्ने उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

‘सामना गरौं’

डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण ३ लाख ४० हजारमा देखिएको छ । उनीहरू मध्ये एक लाख निको भइसकेका छन् ।

आवश्यक सावधानी अपाउन सक्दा १९२ देशमा देखिएको कोरोनाबाट बच्न सकिने जानकारहरू बताउँछन् । डा. दीक्षित सरकारले लक डाउनलगायतका पूर्व तयारी गरेकाले आत्तिनु नपर्ने बताउँछन् ।

‘भोलि संक्रमितको संख्या थपिँदै गइहाल्यो भने पनि आइसोलेसनमा बस्नुपर्ने आइसोलेसनमा जान्छ, क्वारेन्टाइनमा जानुपर्ने क्वारेन्टाइनमा जान्छ’ डा. दीक्षित भन्छन्, ‘लक्षण देखियो भने घरमै बस्नुस्, लक्षण कडा देखियो भने स्वास्थ्यकर्मीलाई जानकारी दिनुस् ।’

उनी भन्छन्, ‘म आफैंलाई लागिहाल्यो भने पनि सामना गर्न सक्छु भन्ने हिम्मत् राख्नुस्, त्यो सकिन्छ पनि ।’

‘सरकारले थप योजना ल्याओस्’

अहिले विदेशबाट फर्किएका नेपालीमा संक्रमण देखिएको छ । कुनै टोल वा गाउँमा देखिए के गर्ने भन्ने विषयमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले योजना बनाउनु पर्ने देखिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. मरासिनी एक जनामा देखिए के गर्ने र टोलमा ८–१० जना संक्रमित भेटिए के गर्ने भन्ने फरक फरक योजना बनाउनु पर्ने बताउँछन् । एक जना मात्रै संक्रमित छ भने ऊ पछिल्लो दुई हप्ता क-कसको सम्पर्कमा थियो भनेर ट्रेसिङ गर्नुपर्ने तर एकभन्दा बढी संक्रमित भेटिए त्यस्तो ठाउँलाई शील गर्नुपर्ने उनको सुझाव छ ।

डा. मरासिनी शील गर्नका लागि सरकारले स्वास्थ्य सुविधालगायतका प्याकेज तयारी गर्नुपर्ने बताउँछन् ।

आफूले प्रयोग गर्ने ल्यापटप, राहदानी, नोटदेखि घरको भर्‍याङ रेलिङ सफा गर्ने, अरु मान्छेको सम्पर्कमा नजाने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

डा. मरासिनी भन्छन्–‘ससानो सावधानीले आफू र अरुलाई कोरोनाबाट जोगाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?