Comments Add Comment

मन्त्रीका श्रीमानले कहाँबाट पाए पीपीई ?

१२ चैत, काठमाडौं । यतिबेला अस्पतालहरुमा कोरोना आशंकित बिरामीलाई हेर्ने स्वास्थ्यकर्मीहरुसँग पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) अभाव रहेको समाचार आइरहेका छन् । यस्तो विशेष पोशाकविना जाँच गर्दा स्वास्थ्यकर्मीलाई नै संक्रमणको खतरा हुन्छ ।

तर,  एक मन्त्रीका श्रीमानले मंगलबार ‘पीपीई’ लगाएर फोटो खिचाएर फेसबुकमा पोष्ट गरे । त्यसले तीव्र प्रतिक्रिया उत्पन्न गर्‍यो। डाक्टरले नपाएको पीपीई मन्त्रीको घर-घरमा पुगेको भनेर अफवाह पनि फैलिएको छ । यस विषयमा भूमिसुधार मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले अनलाइनखबरलाई यथार्थ बताएका छन् ।

पौडेलका अनुसार उनले लगाएको वस्त्र ‘मेडिकेटेड पीपीई’ नभएर आफैंले बनाएको पीपीई शैलीको पोशाक मात्र हो । यसले कोरोना संक्रमितसँग सम्पर्क गर्दा पूर्ण सुरक्षित नराख्ने उनले बताए ।

‘मैले कतैबाट यो लुगा अनुदानमा पाएको पनि होइन । पोखरामा रामचन्द्र रेग्मी भन्ने साथीले यस्तो पोशाक बनाएर प्रयोग गरिरहनु भएको रहेछ । मैले पनि आफ्नो अस्पतालमा काम लाग्न सक्छ भनेर उहाँसँग चार थान किनेर ल्याएको हुँ । तीमध्ये तीन थान अस्पताललाई बुझाइसकेको छु भने एक थान आफूसित राखेको छु । म आफैं एउटा सामाजिक व्यक्ति भएकाले विभिन्न व्यक्तिहरुसँग संसर्ग गर्नुपर्ने हुन्छ । त्यसैले यो पोशाक काम लाग्छ भनेर राखेको हुँ ।’

पौडेलका अनुसार रेनकोट बनाउने कपडा बजारबाट निकेर मुख्य गाउन बनाइएको छ । यसर्लाइ तयार गर्दा एक्सएल साइजलाई २२ सय रुपैयाँ र लार्ज साइजलाई २ हजार रुपैयाँ परेको छ । यस्तै मुखमा लगाएको फेस प्रोटेक्सन ट्रान्सपरेन्सी पेपर, फोमको टुक्रा, टेप र इलास्टिकको मद्दतले बनाइएको हो । यसलाई एक सय रुपैयाँ परेको छ । टाउकोमा लगाएको प्लास्टिक मेहन्दी लगाएपछि कपाल छोप्ने प्लास्टिक हो, जुन मेहन्दीको प्याकमा आउँछ । डिस्पोजेबल मास्क १० रुपैयाँको हो भने हातमा लगाएको ग्लोब २० रुपैयाँको । यसरी २ हजार १ सय ३० रुपैयाँमा होम मेड पीपीई तयार भएको हो ।

तर, यो पूर्ण सुरक्षित हुँदैन भन्ने जाँदा जाँन्दै अस्पतालमा चाहिँ किन प्रयोग गर्न लगाउनुभएको त रु भन्ने प्रश्नमा पौडेलले भने, ‘यो अड्को फड्को तेलको धुप भनेजस्तै हो । पीपीई नभएकाले अस्पतालमा आउने बिरामीहरुको नजिक पर्नै डाक्टर, नर्सहरु डराउन थाले । कम्तिमा यो लगाएपछि सामान्य रुघाखोकी लागेका बिरामीलाई परीक्षण गर्न उनीहरुलाई आत्मबल मिल्छ भनेर हो । नत्र सरकारबाट पीपीई उपलब्ध नहुँदासम्म बिरामीले उपचारै नपाउने भए ।’

यो गाउनलाई सरफ पानीले धोएर धेरैपटक प्रयोग गर्न सकिने पौडेलले बताए । सहकारीकर्मीका रुपमा चिनिएका पौडेल वालिङ अस्पतालका सेयर होल्डर तथा लेखा समिति संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment