Comments Add Comment

कोरोनाको प्रकोपमा भारत र नेपाल भारण्ड चरो, चीन व्यास महर्षि

उनी आएछन् । खाडी मुलुकबाट आएछन् । सुन्नु भो – उनी काठको बाकसभित्र राखिएर होइन, जिउँदै आएका छन् । स्वागत गरौं ! साथै शीघ्र स्वास्थ्यलाभको कामना गरौं ।

यिनी पनि दोस्रो संक्रमित चेली झैं आफैं सेवाको खोजीमा आए । यही कुराबाट म आशावादी छु– जनताले यसरी सेवा खोजे भने भाइरस धेरै फैलन पाउने छैन ।

तर, ती दुईको सेवा खोजको प्रवृत्तिमा भिन्नता देखियो ।

दोस्रो र तेस्रो संक्रमितबीच तुलना

दोस्रो र तेस्रो दुवै अन्य मुलुकमा संक्रमित भएका देखिन्छन् । तर, यी दुईमा भिन्नता पनि छ । दोस्रो विकसित मुलुक फ्रान्समा शिक्षा आर्जन गर्दै गरेकी र तेस्रो संक्रमित खाडी मुलुकमा रोजगारमा लागेको ।

यसैगरी दुवै स्वास्थ्य सेवाको खोजमा स्वयं नै स्वास्थ्य परिसरमा पुगेका छन् । तर भिन्नता छ– दोस्रो संक्रमित क्वारेन्टिनमा थिइन् र सहयात्रीको सूचना पाउनासाथ लक्षण नदेखिँदै सेवा खोजमा पुगिन् । र, तेस्रो संक्रमित स्वास्थ्य–समस्याका लक्षणहरु प्रकटपछि अस्पताल पुगेका छन् । सम्भवतः यी दुईबीच स्वास्थ्य–समस्या तलमाथि हुन सक्छ ।

दोस्रो संक्रमित विश्व महामारीको अत्यधिक बृद्धि भइरहेको ( मार्च १३ मा करीव ३००० र मार्च १५ मा ५००० संक्रमित मामिला पुष्टिभएका) बेला फ्रान्समा थिए ।

तेस्रो संक्रमित चैत्र १३ मा पुष्टि भएका दिन संयुक्त अरब इमिरेट्समा ३३३ मामला पुष्टि भएको थियो । संक्रमित चैत्र ६ मा त्यहाँबाट आएका हुन् । जब कि चैत्र १३ को आँकडा अनुसार प्रति १० लाख जनसंख्यामा फ्रान्समा संक्रमित पुष्टि संख्या ३४२ र संयुक्त अरबमा ३४ मात्र रहेको देखिन्छ ।

दोस्रो संक्रमित क्वारेन्टाइनमा रहेका कारण उनीबाट अरुमा संक्रमण नभएको अनुमान गर्न सकिन्छ । तेस्रो संक्रमित लक्षण प्रकट वा महशुस गरेपछि स्वास्थ्य सेवाको खोजमा अस्पताल पुगेका छन् । त्यसमाथि सक्रिय सामाजिक सम्बन्धमा रहेको बुझिन्छ । यसकारण तेस्रो संक्रमितबाट सामुदायिक प्रसारण भयो कि, शंका छ ।

सामुदायिक प्रसारण भइसकेको रहेछ भने उनी संसर्गित क्षेत्रमा संक्रमितका मामिलाहरु प्रकट हुन थाल्नेछन् । (कसरी प्रकट हुन्छ, बुझ्न हेर्नुहोस् महामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ )

सर्भिलेन्स महत्वपूर्ण थियो तर चूक भयो ?

निश्चित थियो, नेपालमा कोभिड–१९ हवाइजहाज चढेर आउँछ । नेपालमा पनि वुहानबाट सिधै ५ जनवरी २०२० मा आइसकेको थियो र त्यो जनवरी १५ सास फेर्न समस्या परेकाले अस्पताल पुगेको थियो (सिन्ह्वा एजेन्सी २० जनवरी २०२०) । तर, त्यसवेला विश्व नै चनाखो थिएन भने नेपालले ध्यान नदिनु स्वाभाविक नै थियो ।

तर, विश्वमा विमानस्थलमा यात्रा विवरण भर्न र सेल्फ क्वारेन्टाइनको परामर्श थालनी गरिने कार्य शुरु भइसकेको थियो । नेपालमा पनि जनवरी २१ देखि विमानस्थलमा ज्वरो नाप्न थर्मल गन प्रयोग गर्न थालिएको थियो । तर, यसको प्रभावकारी पालन भएन ।

फेब्रुअरी १६ मा वुहानबाट विद्यार्थी फर्काइँदा चीनमा गएका प्रतिनिधिहरुले सर्भिलेन्सको महत्व बुझ्नुपर्थ्यो । त्यही दिनदेखि नै स्क्रिनिङ्गमा कडाइ गर्नुपर्ने थियो ।

चैत्र ६ मा तेस्रो संक्रमित व्यक्ति नेपाल भित्रिएका थिए । तिनका पनि स्क्रिनिङ्ग नभएको हुन सक्छ ।

चैत्र ८ मा अष्ट्रेलियाबाट सिंगापुर हुँदै आएका नेपाली विमान यात्रुहरु चैत्र ९ मा निर्वाध डुल्दै रहे । फ्रान्सेली नागरिकहरु भने क्वारेन्टाइनमा थिए ।

विश्व–महामारीले शुरुवाती चरणमा हवाइमार्गबाट पछिल्ला चरणमा सडक मार्ग तय गर्छ । यही कारण पश्चिमाहरुले चीनसँगको सोझो उडान बन्द गर्न थाले । इटलीले ३१ जनवरी २०२० मा गर्‍यो । तर १८ वटा सेञ्जेन मुलुकहरु मध्ये कतिपयले चीनसँगको हवाइ यातायात चालु नै राखेका थिए। यसकारण भाइरस कनेक्टिङ्ग फ्लाइट हुँदै युरोप र अमेरिका आवागमन गरी नै रह्यो । जसको परिणाम, इटली विश्व महामारीको युरोपको शुन्य ग्राउण्ड बन्न पुग्यो । स्पेन पनि अर्को ग्राउण्ड बन्यो ।

चीनले जिम्मेवारपूर्वक अन्तर्राष्ट्रिय विमान उडानलाई नियमित गर्यो । चीनपछि नेपाली जनताको ध्यान खाडी लगायत मलेसिया र दक्षिण कोरियातिर थियो ।

ध्यान दिए पनि त्यहाँको कोभिड–१९ को प्रभावबारे खासै चर्चा भएन । दक्षिण कोरियाबाहेक अन्यमा विश्वका अन्य विकसित मुलकमा भन्दा कम संख्यामा संक्रमित थियो भन्ने हामीले चर्चामा नै ल्याएनौं ।

दृश्य यस्तो भए पनि तेस्रो संक्रमित यूएईबाट नै नेपाल भित्रियो । यस्तो हुनु हाम्रो सर्भिलेन्सको कमजोरी थियो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सर्भिलेन्सका लागि सरकारले विशेष आदेश दिएपछि अत्यधिक सजग हुनु पर्थ्यो । तर, भएन । यसको पुष्टि ‘क्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना कहाँ छन, सरकारलाई थाहा छैन’ अनलाइनखरको समाचारले नै गर्छ ।

अब संसर्गीतहरुको जनसंख्या फैलिसकेको छ– यस कारण सामाजिक सर्भिलेन्स मार्फत हराएकालाई खोज्नुपर्ने हुन्छ ।

नेपालमा कोरोना संक्रमण तथा प्रसारणको सम्भावना

नेपालका ३ संक्रमितमध्ये जनवरी १५ मा अस्पताल आएका एक संक्रमित निको भएको एक महिना पुग्यो । हालसम्म स्रोत नखुलेको मामिला नदेखिएकाले उनबाट सामुदायिक संक्रमण भएको छैन । हाल दुई उपचाररत मध्ये १ लक्षण प्रकटीकरण भइसकेपछि सेवा लिन आएका छन् । तीबाट वा तेस्रो मुलुकबाट आएका ‘कोकोरेकिन’ जस्ता अपरिचित बाहकहरुबाट सामुदायिक प्रसारण भएको हुन सक्छ ।

यहाँनेर हाम्रो आँखा भारतको पिलिभित जिल्लामा पुर्‍याउनुपर्छ । किनकि–

(१) त्यहाँ सामुदायिक प्रसारण देखियो (इन्डिया टूडे २५ मार्च २०२०)

(२) त्यो नेपालको कञ्चनपुर तथा कैलालीसँग सन्निकट र रोटीबेटीको सम्बन्धमा छ ।

(३) त्यहाँका ३८ संक्रमितमध्ये ७ आग्रा, २ गाजियावाद, १ नोयडा र १ लखनउका देखिएका छन् । यी स्थानहरु नेपाली मौसमी श्रमिकहरु घनिभूत रहने स्थानहरु हुन् ।

यसर्थ, अब भारतबाट पसेका नेपालीहरुलाई कडा सर्भिलेन्स गरिनुपर्छ । खासगरी भारतको पिलिभितपछि गौरीफन्टा, गड्डाचौकी र दार्चुलामा अनिवार्य नै भएको छ । जसबारे यस पंक्तिकारका छटपटीहरु अघिल्ला आलेखहरुमा पाउनुहुन्छ । त्यही कारण कोभिड–१९ रोक्न र निमिट्यानन् पार्न भारतसँगको सहकार्य र सह–कदम अति नै महत्वपूर्ण भएको छ । अब कोभिड–१९ मामिलामा भारत र नेपाल भारण्ड चरो हुन् ।

(पञ्चतन्त्रमा भारन्ड नामक दुईमुखे चराको कथा छ । भारन्ड चराको दुईवटा मुख भए पनि पेट एउटै छ । उनीहरु मिलेर खान्छन् । तर, जुन मुखले विष खाए पनि मर्ने त त्यही चरा हो ।)

भारत नेपालप्रति सचेत र यसको सर्भिलेन्स उचित

जब अन्तराष्ट्रिय विमानस्थल बन्द गरियो, तब मुलुकका आँखा भारततर्फ लाग्यो । स्वाभाविक थियो, खुला सीमा आँ गरेर बसेको थियो । नेपालमा क्वारेन्टाइन स्थल बन्न पाएकै थिएनन् । मानव हुल कोलाहल मच्याउँदै सीमाका बार भत्काउँदै नेपालमा पसिरहेका थिए ।

तर, भारतले नेपालसँग सीमाक्षेत्र वरपर पूरै सर्भिलेन्स गरिरहेको थियो । भारतीय स्वास्थ्यमन्त्रीको हवाला दिँदै बीबीसी सेवाका अनुसार भारतले नेपाल सीमावर्ती पाँच प्रान्तका २७ हजारभन्दा बढीलाई सर्भिलेन्समा राखेको र हजारौंको टेस्ट गरेको थियो । १३ मार्च २०२० मा भारतमा संक्रमित पुष्टि संख्या ७३ हुँदा नै भारतले आफ्ना नागरिक तथा विदेशी कूटनीतिज्ञहरुलाई ट्राभल–एडभाइजरी जारी गरेको थियो । त्यसै दिन आपूर्ति श्रृङ्खला नटुट्ने गरी नाकाहरुबाहेक अन्यलाई एकतर्फी बन्द गरेको थियो (काठमाण्डू पोष्ट १३ मार्च)।

चीनसरह जनसंख्या भएको मुलुकमा करीव ४ सय संक्रमित संख्या हुँदा नै नेपाल र भारतका नाकाहरु सीमित गरिसकिएका थिए । सीमापार नेपाल आउने नेपालीलाई क्वारेन्टाइनमा राखिने भनिँदा भारतमा ५११ संक्रमित पुष्टि भएको थियो । तर, त्यसबेला सामुदायिक प्रसारण भइसकेको थिएन ।

विशाल जनसंख्या भएको र हामीसँग बहुक्षेत्र तथा सेवाका लागि र जनताको आवत–जावत (कम्युटिङ्ग) सक्रिय छ । कोभिड–१९ को मामिलामा भारतले छिमेकी मुलुकहरुलाई आकृष्ट र व्यस्त राख्न चाहेको छ । यसका लागि मोदीले सार्क मुलुकबीच सहकार्य तथा सम्वन्ध बढाउन चाहेको देखियो ।

जे होस, भारतको कदम र विजय हाम्रो पनि हो । कोभिड–१९ लाई परास्त गर्न भारत र नेपालले सहकार्य र सहकदम चाल्नै पर्छ । यो पहाडिया राष्ट्रवादीले पचाउनै नसक्ने कुरा भए पनि भाइरसलाई घेराबन्दी गर्ने कडी हो ।

चीन कोभिड–१९ को ज्ञानको चारवेदका रचयिता व्यास ऋषि नै हो भन्दा फरक पर्दैैन । योसँग भाइरस घेराबन्दी गर्ने तथा निस्क्रिय पार्ने लकडाउन, पीपीई र औषधि–रेजिमको प्रयोगको अनुभव छ । यी कुरा नेपालमा अनुकूलन गर्नका लागि चीनसँग सहकार्य उत्तिकै महत्व छ ।

सामर्थ्य नापौं, विकल्प रोजौं

विज्ञानसँग हालसम्म भाइरस विरुद्धको प्रभावकारी औषधि छैन । कुनै पनि भाइरस र व्याक्टेरियाका विरुद्ध खोप प्रभावकारी छैनन् । भाइरसका खास विशेषता भएका कारण खोपले बिफर उन्मूलन गर्‍यो र पोलियो करिब उन्मूलनमा छ । स्मरण रहोस् ‘भ्याक्सिन नै दुर्घटनामा पर्‍यो र ‘भन्नेहरु छन्, तीबाट म प्रशिक्षित र प्रभावित छु । यो रोचक पक्षबारे महामारी रोकिएपछि गरौंला ।

सामथ्र्य पहिल्याउने क्रममा प्रश्न गर्छु– के कोभिड–१९ को महामारी स्वास्थ्य सेवा प्रणालीबाट मात्र सम्भव छ ?

यसको जवाफ एक–दुई दिनमा स्वास्थ्य संस्थाहरुमा भएका समाचारले दिइसकेका छन् । र, त्यहाँ भएका तयारी, बिरामीप्रतिको ग्रहणशीलता र स्वास्थ्यकर्मीको त्रासले नै जवाफ दिन्छ । यस्तो किन भयो ?

सर्वप्रथमः हाम्रो चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको संरचना महामारी रोकथामलाई सम्वोधन गर्न नसकिने गरी निर्माण गरिएको छ र कार्यरत छ । महामारीसँग अनुक्रिया गर्ने एकमात्र सरुवा रोग अस्पताल जीर्णवस्थामा वागमतीको कालमोचनघाट छेउ अवस्थित छ । टीबी र कुष्ठरोगका केही विशेषीकृत सेवा दिने केन्द्रहरु छन् ।

यसैमा जोडिएको कुरा हो, स्वास्थ्यकर्मीहरु भाइरससँग लड्न घ्यू काट्ने चक्कू भिरेर जाँदैनन् । पीपीईका लागि चीनसँग मागिएको समाचार त भर्खर चैत्र १२ मा आएको छ । त्यसमाथि आइसीयू शैया कम छन् र भेन्टिलेटरहरु, ब्लड अक्सिजेनेसन मेसिनहरु (भ्ऋःयक्) आवश्यकता अनुसार छैनन् । त्यसमाथि भाइरसको प्रसारण चरित्र पुरै स्थापित हुन सकेको छैन । यस्तो अवस्थामा स्वास्थ्य संस्थासँग ग्रहणशिलता माग्नै सकिँदैन । सबैलाई थाहा छ–‘शहीद’ हुन विप्लवतिर लाग्नुपर्छ ।

दोस्रो निजी स्वास्थ्य क्षेत्र सरुवा रोगमैत्री छैन । यो नितान्त उपचार सेवामा खासगरी चिरफार सेवामा निर्लिप्त छ । जसलाई उद्यम बेगर फड्केका कर्पाेरेटहरुले लगानी गरेका छन् । तर, तदअनुरुप फिलान्थ्रोपिक संस्कार विकसित भएको छैन । त्यसमाथि त्यसका जनशक्तिको निपूर्णता विशेषीकृत उपचारमा छ, महामारी रोकथाममा छैन ।

तेस्रो फर्मास्युटिकल क्षेत्र यसले बजारलाई टेस्ट किट, केही एन्टिभाइरल, अवसरवादी संक्रमणका एन्टिमाइक्रोबियल र समस्या पीडामा आराम गराउने औषधिहरु उपलव्ध गराउन सक्नुपर्ने हो । तर, सरकारले गच्छेअनुसार चलाउन प्रयास गर्दैछ ।

हाम्रोजस्तो मुलुकले अमेरिकाले नसकेको मास टेस्टिङ्ग अभियान चलाउन सक्दैन । तर सरकारले यात्रा र समस्या विवरणअनुसार आवश्यक परेकालाई टेस्ट उपलब्ध गराउन प्रयाश र व्यवस्थापन गर्दैछ । यसैगरी रोगको लाक्षणीकरण अवसरवादी समस्याको उपचार तथा व्यवस्थापन गर्न औषधि उपलब्ध गराउने स्वास्थ्यमन्त्रीले खुला प्रतिवद्धता जनाएका छन् ।

भाइरसविरुद्ध लड्ने सरकारको सामर्थ्य र कमजोरी यिनै हुन् ।

अब के गर्ने ?

यस नयाँ भाइरसको प्रकोप रोक्न विश्वमा मुख्यतया ३ तौरतरिका थिग्रने क्रममा छन्, ती हुन्

१.जे हुन्छ, त्यही व्यहोर्न तयार । यसले संक्रमण प्रसारको उच्च अवस्थामा पुगेपछि समुदायमा प्रतिरोधात्मक क्षमता विकास हुनेमा विश्वास गर्छ । साथै स्पेनिश फ्लू १९१८ का कारण करोडौं जनसंख्या मर्दा स्पेन लगायत अरु मुलुकहरु उन्नत भएको तर्क दिन्छ । तर, त्यस्तो विनास आधुनिक राज्यले हेर्न सक्दैन र नागरिक तथा दुनियाँले स्वीकार गर्ने छैन ।

२. द्रूत परीक्षण र उत्कृष्ट उपचार । यसलाई दक्षिण कोरिया र ताइवानले अपनाएका छन् । हालसम्म महामारीलाई नियन्त्रणमा राखेका छन् । यो मुख्यतया मेडिकल हस्तक्षेप हो । यसलाई स्वास्थ्य संस्थाको संरचना, परीक्षण तथा उपचार सुविधा, तयारी, तिनीहरुको बिरामीप्रतिको ग्रहणशीलता र स्वास्थ्यकर्मीको प्रतिवद्धताहरु आवश्यक पर्छन् । तत्कालै प्रचुर स्रोत साधन जरुरत पर्छ । तर चीन र दक्षिण कोरियाको प्रति १० लाखमा मृत्यु संख्या २ बराबर भए पनि दक्षिण कोरियाको प्रति १० लाखमा संक्रमित संख्या १५६ र चीनको ५६ मात्र छ । यसकारण दक्षिण कोरिया मोडल उत्कृष्ट भन्न सकिँदैन ।

३.ननमेडिकल हस्तक्षेपसहित उपचार सेवा । यसलाई पहिलोपटक चीनले अभ्यास गरेको हो । शुरुमा पश्चिमा दुनियाँले विरोध गरेका थिए । तर, हाल यूरोपका अधिकांश मुलुकहरु र भारतले अपनाइरहेका छन् । नेपालले पनि यसैलाई अनुसरण गरिरहेको छ ।

लकडाउन नै किन ?

शुरुमा नै भन्छु– लकडाउन जिन्दावाद । यस मामलामा चीनको ज्ञान तथा अनुभव अपनाऊँ । भारतसँगै हरेक कदममा एकाकार होऔं ।

लकडाउन ननमेडिकल हस्तक्षेप सहित उपचार सेवाको एक पुलिन्दा, तर मुख्य हो । यसले भाइरस– बाहकहरुको चलायमानतालाई रोक्छ । र सामुदायिक प्रसारण नहुने अवस्था बनाउँछ । यसै उपायबाट चीनले प्रसारणलाई रोक्न र संक्रमितको उपचार गर्दैछ । यसैले संक्रमण संख्या २ डिजिटमा झारेको थियो र केही दिनसम्म त शुन्यमा राखेको थियो ।

लकडाउन पश्चिमाहरुले समेत अभ्यास गरिरहेका छन् । भारतसँगसँगै नेपालले पनि अपनाइरहेको छ । यसअन्तर्गत असल मित्रहरुको सहयोग र समन्वय हुने कुराको सुनिश्चितता छ । लकडाउन भाइरसलाई निस्कृय बनाउने वैज्ञानिक प्रकृया हो, जसले समय माग्छ ।

यसकारण सरकारलाई समय दिऊँ । यो हामी र दुनियाँको आपत समाधानमा विश्वसँग छ । गरीव छ, सानो छ, तर आधुनिक राज्य हो, यसले ‘जे हुन्छ, त्यही व्यहोर्छु’ भनेर हातखुट्टा तन्काउनुहुँदैन ।

आदरणीय जनताहरु सरकार समय माग गरिरहेको छ, स्वीकार गरौं।

नागरिक समाज र मिडिया

–जनतासँग धैर्य रहन र सहयोग गर्न अनुरोध गरौं

–सरकारसँग सबै तहका श्रमिकहरुलाई आपूर्ति व्यवस्था, राहत र छूट दिन आह्वान गरौं ।

अन्तमा लकडाउनको म्याद छैन । महाभारत जस्तै १८ दिनमा नसकिने देखिन्छ । यसको संकेत भारतमा बढाइएको लकडाउनले दिन्छ । तर, पनि हामी महाभारत युद्धमा उत्री नै सक्यौं ।

हात नमिलाऔं– नमस्कार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment