Comments Add Comment

कागको पछाडि दौडिनुभन्दा

एक पुरुष घरको छतमा घाम तापेर बसिरहेका थिए । छतमा अर्को व्यक्ति दौडदै आइपुगे र उनले अत्तालिदै सुनाए, ‘ए मनबहादुर, छोरालाई गाडीले किचेर मारिदियो ।’

ति पुरुषले केही सोच्नै सकेनन् । आवेशमा त्यही छतबाट हामफाले ।

तेस्रो तलाबाट हुत्तिदै गर्दा पो उनले सोंचे, ‘अरे मेरो त कुनै छोरो नै छैन । मेरो छोरो भए पो मर्नु ?’ दोस्रो तलामा झरिसक्दा उनलाई बोध भयो, उनले विवाह पनि त गरेका थिएनन् । भूँइमा बजारिनु अघिसम्म उनलाई के पनि थाहा भयो, ‘मेरो नाम मनबहादुर त होइन ।’

भारतमा अहिले यस्तै भइरहेको छ । कोरोना लागेको आशंकामा कतिपयले आत्महत्या गरेका खबर आइरहेका छन् । हिन्दी अनलाइन वेबदुनियाँमा यस्तै चार वटा घटनालाई प्रस्तुत गरिएको छ । उक्त खबर अनुसार त्यहाँ आफुलाई कोरोना संक्रमित ठानेर आत्महत्या गरिरहेका छन् ।

घटना भारत उत्तरप्रदेशको हापुड जिल्लाको हो । आफुलाई कोरोना संक्रमण भएको आशंकामा एक युवाले धारिलो हतियारले आफ्नै गर्दन र हात काटेछन् । सैलुनमा काम गर्ने उक्त युवालाई केही दिनअघि ज्वरो आएको रहेछ । त्यही कारण उनी घरमै बसिरहेका थिए । सोही अवस्थामा उनले आत्महत्या गरेको बताइन्छ ।

अर्को घटना कर्नाटकको हो । त्यहाँ एक ५६ वर्षिय व्यक्तिले आत्महत्या गरे । आत्महत्या गर्नुको एउटै कारण थियो कि उनी कोरोना भाइरस संक्रमित व्यक्तिका सम्पर्कमा पुगेका थिए । आफुलाई पनि संक्रमण फैलिएको भयमा उनले रुखमा झुन्डिएर आत्महत्या गरेको बताइन्छ । कर्नाटककै अर्का व्यक्तिले  पनि कोरोना संक्रमित भएको भन्दै आत्महत्या गरे ।

केही समयअघि दिल्लीमा सफदरजंग अस्पतालको छतबाट हाम फालेर एक व्यक्तिले आत्महत्या गरे । उनी अष्ट्रेलियाबाट भारत फर्केकी थिइन् । कोरोना भाइरस संक्रमित उनी एयरपोर्टबाट सोझै अस्पताल पुगेकी थिइन् ।

हाम्रो समाजमा एउटा भनाई छ, ‘कागको पछाडि दौडनुअघि आफ्नो कान छाम्नु ।’ कुनै कुरा सुनेकै भरमा वा हल्लाकै भरमा पछि लाग्दा फन्दामा पर्न सकिन्छ । अहिले कोरोनाको सन्त्रासबीच पनि यस्ता कतिपय हल्ला फैलिएका छन्, जसले हामीलाई भ्रममा पारिरहेका छन् । आतंकित बनाइरहेका छन् । त्यही आतंकको शिकार भएका छन्, कतिपय सर्वसाधरण ।

रुघाखोकी लाग्नसाथ कोरोना लागेको हुँदैन । ज्वरो आउनुको पछाडि पनि कोरोना एकमात्र कारण हुँदैन । कहिले काहीँ रुघाखोकी लाग्छ, ज्वरो आउँछ, शरीर गलेको अनुभव हुन्छ । ज्यान भारी हुन्छ । दिक्दारी हुन्छ । यी अन्य वा सामान्य कारणले हुन्छ । तर, हामीकहाँ अहिले कुनैपनि सामान्य लक्षण मिल्नसाथ भयाभित भइहाल्ने प्रवृत्ति छ ।

रुघाखोकी लाग्नु नै कोरोनाको कारण नहुन सक्छ । कोरोना नै मृत्युको कारण नहुन सक्छ । संसारमा कोराना भाइरसबाट जति संक्रमित छन्, त्यसमध्ये धेरैजसो निको भएका छन् । सामान्य जीवनमा फर्किएका छन् । नेपालमै पहिलो संक्रमित व्यक्ति निको भइसकेका छन् ।

तर, अहिले विश्वमै यो भाइरस फैलिएको र यसको संक्रमण दर उच्च रहेकाले समाज भयाभित भएको हो । जबकी कोरोनाले हामीलाई लखेट्दै, चिथोर्दै आउने होइन ।

सुरक्षा र सर्तकता अपनाएको अवस्थमा कोरोनाले केही गर्दै गर्दैन । तर, आवश्यक सावधानी नअपनाउने हो भने ‘राम राम’ भन्नु बाहेक अरु विकल्प हुँदैन । लापरवाहीको ओखती के हुन्छ ?

आवश्यक सर्तकता अपनाइएको छ भने डर मान्ने कुरा छैन । यद्यपि अनाश्वयक हल्ला र भ्रमको पछाडि लागेर आतंकित भइरहनुभन्दा सत्यतथ्य बुझ्नु उचित हुन्छ । कागको पछाडि दौडिनुभन्दा कान छाम्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment