Comments Add Comment

अस्ट्रेलियाका प्रधानमन्त्रीले भने – विद्यार्थीलाई समस्या छ भने आफ्नो देश फर्किन सक्छन्

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भए आफ्नो देश फर्किने प्रबन्ध गर्न सुझाव दिएका छन् ।

शुक्रबारको आफ्नो नियमित प्रभातकालीन सन्देशमा सोधिएको एक प्रश्नमा उनले भने, ‘उनीहरुको प्रवेशाज्ञा सर्तमा अस्ट्रेलियामा एक वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ।’

उनले अगाडि भने, ‘त्यस हिसाबले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विधार्थीले आफूलाई सहयोग गर्न सक्दैनन् भने आफ्नो देश फर्किन सक्छन् ।

उनले आफ्नो सरकारले घोषणा गरेका सुविधाहरु यो महामारीका बेला आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि भएको स्पष्ट पारे ।  अस्ट्रेलियामा भएका हजारौं विद्यार्थी नर्सहरुलाई भने  कामको अवसर भएको उनको भनाइ छ ।

प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा भएका विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा स्वदेश फर्किने उपयुक्त समय यही भएको बताए ।

प्रतिपक्षीको विरोध

अस्ट्रेलियाको प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टी तथा उसका भात्री संस्थाहरुले प्रधानमन्त्री मरिसनको यो घोषणाको बिरोध गरेका छन् ।

अस्ट्रेलियाको मजदुर युनियनले भनेको छ, ‘अन्य बेला यहाँको श्रम बजारको अधिकांश हिस्सा ओगटेका यहाँका अस्थायी बासिन्दाहरुलाई यो दु:खका बेला सरकारले सहयोग गर्नुपर्छ ।’

नेपाली समाजमा पनि प्रधानमन्त्री मरिसनको घोषणाबारे  मिश्रित प्रतिक्रियाहरु सार्बजनिक भएका छन् ।

अस्ट्रेलियाका नेपाली कानून व्यवसायी डा शम्शेरसिंह थापाले भने, विद्यार्थीहरुले अस्ट्रेलियामा कामको सुविधा पाएका हुन् । अधिकार होइन । सैद्धान्तिक र ब्यबहारिक कुरालाई अलग-अलग रुपमा हेरिनु पर्छ ।’

अहिले अस्ट्रेलियामा अस्ट्रेलियन नागरिक र स्थायी बासिन्दाहरु पनि समस्यामा रहेको भन्दै उनले सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दाको समस्या पहिले हल गर्नु उसको कर्तव्य भएको बताए ।

विद्यार्थीका समस्याबारे भविष्यमा असर नपर्ने गरी ब्यबहारिक र कूटनीतिक रुपमा हल  गर्नुपर्ने उनको भनाइ छ । ‘तत्कालीन फाइदालाई हेरेर सरकारको आलोचना गर्नु हुँदैन तर यहाँ स्थित शैक्षिक संस्थाहरु र परामर्शदाताहरुले भने नैतिक रुपमा सहयोग गर्नुपर्छ ।’

नेपाली सामाजिक संस्थाहरुको अस्ट्रेलिया ब्यापी महासंघ फेंकाले यहाँ भएका विद्यार्थी तथा अस्थायी बासिन्दालाई स्वास्थ्य र सामाजिक सुरक्षा परियोजनामा समेट्न आग्रह गर्दै दुईवटा पत्र यहाँका सामाजिक सुरक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीलाई  पठाएको छ ।

केही विज्ञहरुले अस्ट्रेलियामा समस्यामा परेका जो सुकैलाई पनि खाना तथा बासको ब्यबस्था गर्ने संस्थाहरु पनि भएका बताए  ।

नेपाली सामाजिक संस्थाहरुले पनि तत्काल समस्यामा पर्नेहरुलाई मानवीयताका आधारमा सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment