Comments Add Comment

कोरोना संक्रमितको सम्पर्कमा रहेका २६ जना वीरगञ्जको क्वारेन्टाइनमा

३० चैत, वीरगञ्ज । वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।

वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । पोजेटिभ देखिएका तीनै जना जामे मस्जिदमै रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले संक्रमित व्यक्तिको सम्पर्कमा रहेकोले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । ‘वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखेका छौं’ उनले भने ‘२१ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ, बाँकी पाँच जनाको स्वाब लिन बाँकी छ ।’

जमाती सबैले सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा आएपछि नेपालमै रहेको दावी गर्दै आएका छन् । तर उनीहरु वीरगञ्जको छपकैयास्थित मस्जिदमा आएको दुई साता मात्रै भएको दावी गरिएको छ ।

क्वारेन्टाइनमा रहेका इस्माइल अन्सारीले क्वारेन्टाइनमा दैनिक रुपमा आवश्यक पर्ने समानको समेत प्रबन्ध नरहेको गुनासो गरेका छन् । ‘बिहान न चिया दिए, न पानी नै । दाँत माझ्न ब्रस मञ्जन पनि छैन’ उनले भने, ‘नित्य कर्म गर्न नपाएपछि मानिस त्यसै विरामी परिहाल्छ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment