Comments Add Comment

इपिसेन्टर न्यूयोर्क : मुर्दाघरमा ठाउँ अभाव, शव गाड्न ठेक्का दिइयो

न्यूयोर्कमा यसरी हुँदैछ सामूहिक अन्त्येष्टि

३० चैत, काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको बेला न्यूयोर्कमा सामूहिक रुपमा शव अन्त्येष्टि गरिएको तस्वीर सार्वजनिक भएको छ । हार्ट आइल्याण्डको यो तस्वीरमा सुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाल्डोमा काठका कफिन राखिरहेको देखिन्छ ।

ड्रोनबाट लिइएको यो तस्वीर जुन ठाउँको हो, त्यहाँ डेढ सयभन्दा बढी वर्षदेखि यसैगरी सामुहिक रुपमा शवहरु गाडिन्छ । जसका आफन्त वा घरका सदस्य हुँदैनन् वा जो अति गरिब हुन्छन्, ती मानिसहरुको शव गाड्ने ठाउँ हो हार्ट आइल्याण्ड ।

कोरोनाको इपिसेन्टर बनेको न्यूयोर्कको हालत भयावह छ । अमेरिकामा कोरोना सक्रमितहरुको संख्या विश्वमै बढी छ । पछिल्लो तथ्यांकअनुसार न्यूयोर्कमा संक्रमितहरुको संख्या १ लाख ६० हजार भन्दा बढी छ, जसमध्ये ८ हजार बढीको मृत्यु भइसकेको छ ।

पहिले हप्तामा २५ शव, अहिले दैनिक

सामाचार एजेन्सी एपीका अनुसार हार्ट आइल्याण्डमा सामान्यतया एक हप्तामा २५ शव गाडिन्थ्यो र अन्त्येष्टि हप्तामा एक दिन मात्र हुन्थ्यो । तर अहिले दैनिक २५ शव आउँछन् र साताको पाँच दिन शव गाडिन्छ ।

यहाँ शव गाड्ने काम पहिले शहरको मुख्य जेल राइकर्स आइल्याण्डका कैदीहरुबाट गराइन्थ्यो । तर अहिले शवहरुको संख्या बढेपछि त्यसको जिम्मा ठेकेदारलाई दिइएको छ ।

यहाँ शव गाडिएकामध्ये कति जनाको आफन्त थिएनन् वा कति जना गरिब थिए भन्ने कुरा अझैसम्म स्पष्ट छैन । तर मुर्दाघरमा शव राख्ने ठाउँ अभाव भएकाले बेवारिसे शवलाई सुरक्षितरुपमा राख्ने समय घटाइएको छ ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोले यसै हप्ता संकट समाप्त नहुँदासम्म शवलाई हार्ट आइल्याण्डमा अस्थायी रुपमा अन्त्येष्टि गरिनुपर्ने बताएका थिए ।

अमेरिकामा २४ घण्टामा २ हजारको मृत्यु

अमेरिकामा कोरोना संक्रमणका कारण शनिबार २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एकै दिनमा यति धेरै व्यक्तिको मृत्यु अन्य कुनै देशमा भएको छैन ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गत २४ घण्टामा २ हजार १ सय ८ जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमित व्यक्तिको संख्या ५ लाखभन्दा बढी भइसकेको छ ।

कोरोनाको महामारीमा मारिएका व्यक्तिहरुको संख्याको आधारमा अमेरिकाले इटलीलाई छिट्टै पछि पारिसकेको छ ।

स्थिर हुँदैछ संकट

ह्वाइटहाउसमा कोरोना भाइरस (कोभिड–१९)का लागि गठित टास्क फोर्सका जानकारहरुका अनुसार महामारीको अवस्था अब स्थिर हुने संकेत देखिएको छ ।

तर डाक्टर डेबोरा बक्र्सले चेतावनी दिँदै भनेका छन्, ‘यो कुरा उत्साहबद्र्धक हुनसक्ला, तर हामी अझै पनि संकटको चरम स्थितिमा पुगिसकेका छैनौं ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मृतकहरुको संख्या एक लाख भन्दा बढी नहुने विश्वास व्यक्त गरेका छन् । यसअघि कोरोनाको कारण अमेरिकामा दुई लाख जनाको मृत्यु हुने भविष्यवाणी गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीले आक्रामक रणनीति अपनायौं, त्यसैले धेरै व्यक्तिहरुको ज्यान जोगिएको छ ।’

टास्क फोर्सका एक प्रमुख सदस्य डाक्टर एन्थोनी फसीले एनबीसी च्यानलसँग कुरा गर्दै अमेरिकामा मृतकको संख्या ६० हजार आसपास हुने बताएका छन् । गत महिनाको अन्तिमतिर उनै डाक्टर एन्थोनीले कोरोनाबाट अमेरिकामा १ देखि २ लाख व्यक्तिको ज्यान जाने आशंका गरिएको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment