
संसार अझै कैद छ, जीवनहरू कैदी छन् । उसको सेरोफेरो एउटा अदृश्य शक्तिले संसार दग्ध गर्दैछ । मानव सभ्यता नै आतंकित पार्दै ।
अझै पनि बेग्लैखालको शून्यता !
न त युद्ध हो, न त लडाइँ, न त राजनीतिक झगडा । न कुनै नाकाबन्दी, न सीमानाको विवाद न कुनै धर्म भिडन्त । तर, पनि डरलाग्दो इतिहास रच्दै कोरोनाको शून्यतामा स्तब्ध छ सारा विश्व !
समाचारहरूमा सुने अनुसार यो कोरोना भाइरस (कोभिड-१९) ले रूप परिवर्तन गर्दै हिँडेको छ ।
आर्थिक हिसाबले धेरै कमजोर छ, मेरो मुलुक । त्यो हामी सबैलाई थाहा छ । यो लुकाउनु पर्ने, लाजमान्नु पर्ने विषय पनि रहेन ।
नेपालमा कोरोनाको संक्रमणको हिसाब अंकमा आजसम्मको स्थिति त अझै पनि कन्ट्रोलमै छ । भगवानले रक्षा गरून्, स्थिति डरलाग्दो नबनोस् मेरो मुलुकको !
विदेशतिरको भयावह स्थिति र तस्वीरहरूले मुटु हल्लाइरहेको छ । त्योभन्दा मुटु रुहाउने तस्वीरहरू आफ्नै मुलकभित्र देखिएको छ समाचारहरूमा । काठमाडौंको मात्र कुरा गर्ने हो भने दैनिक ज्यालादारी गरेर बस्नेहरूको अवस्था त्यतिकै दयनीय छ ।
लकडाउनले मध्यम स्तरीयहरूको जीवनमा त एक किसिमले चल्दै जाला । तर, ती निम्न आम्दानीभन्दा पनि तल्लो रेखामा चलिरहेका जिन्दगीहरू जो आज पूरै ठप्प छन् । उनीहरूको पेट रक्षाको व्यवस्था पूर्णरुपमा कसले मिलाइदिने ? कोसँग आशा गर्ने ती मानवहरूले ?
म सम्झिन्छु ती बालुवा चालेर घरको चुलोे बाल्ने घरकी महिला, दिनभरि इँटाको भारी बोकेर बिहान बेलुका चूलो बल्ने घरका पुरुष । तिनी र तिनका सन्तानले पेटको दैनिकी गुजारा कसरी गर्ने ? म भावनामा बगेर लेख्दै छैन, यो यथार्थ समस्या हो ।
स्थानीय सरकार र प्राइभेट सेक्टरबाट केही सहायताको रुपमा खाद्यान्न वितरण गरिएको खबर त आएका छन् । तर, पाउनु पर्ने सबैले पाएका छैनन् ।
एकजना नजिकै बस्ने ज्यालादारी गर्ने महिला, चारजनाको परिवार देखेँ । श्रीमान ट्याक्सी चलाउने तर लकडाउनको कारणले पूर्णरूपमा कमाइ ठप्प ।
ती महिलालाई वडामा केही राहत दिँदै होलान्, लिन जाउँ भनेर उनी तीनपटक गइछन पनि । तर, कहिले नागरिकता, कैले पालो आएको छैन । कहिले घरघरमै ल्याइदिनेछौँ भनेर जवाफ पाएर रित्तो हात फर्किन्छिन् । हुनत हामी छिमेकीले नै व्यक्तिगत रूपमा सहयोग गर्यौं ।
यिनी त हुन् एउटी प्रतिनिधि पात्र । यस्ता कतिले कुनै राहत र खाद्यान्न नपाएर भोकै बस्नु परेको थुप्रै उदाहरण छन् यतिखेर ।
यातायात ठप्प भएर काठमाडौंमै बस्नुपर्ने बाध्यता यस्ता नागरिकलाई व्यवस्थित तरिकाले खाद्यान्न वितरण गर्न नसकिने हो र ? नागरिकता वा कुनै परिचय पत्र जरुरी किन ?
यो विषम परिस्थितिमा त सरकारले नागरिकभन्दा पनि अझ माथि उठेर ‘मानव’ भनेर सहयोग गर्नुपर्छ ।
रोगभन्दा अगाडि त पेट नै आउँदो रहेछ । रोगको त्रास नसकिउन्जेल मानिसले खानु त पर्यो । बालबच्चालाई खुवाउनु पनि पर्यो । खानाका हरचिजहरू सकिएपछि मानिस आ-आफ्ना गाउँ जाँदैगरेका दृश्य र त्यहाँ भित्रका पीडाहरूले अहिले सम्पूर्ण नेपालीहरूको मुटु चिथोरीदिएको छ ।
विश्वास छ, सिंहदरवार, बालुवाटारको मुटु पनि नराम्ररी चिथोरिएको हुनुपर्छ । कहाँ चुकिरहेका छन् त सरकारी निकायहरू ? पैसा छैन ? व्यवस्थापन भएन ? कि ढंग छैन ?
यहाँ म सम्पूर्ण रूपमा आलोचना गर्न मात्र लेखिरहेकी छैन । तर, एउटा सचेत नागरिकको हिसाबले नलेखी बस्न पनि सकिनँ ।
कति नै ठूलो छ र काठमाडौं, नेपाल ? स्थानीय सरकार छन्, प्रदेश सरकार छन्, वडा कार्यालय छन् । उनीहरूसँग प्रायः आ-आफ्नो वडाको डाटा हुनुपर्छ । पक्कै पनि उहाँहरूसँग दैनिक रोजगारी गरेर बस्ने मानिसको तथ्यांक हुनुपर्छ ।
आˆना वडामा रहेका दैनिक ज्यालदारी गर्ने मान्छे नागरिक हुन् या गैरनागरिक ? को घरघर वा टोलटोल स्केजुअल बनाएर व्यवस्थित तरिकाले माइकले फुक्दै खाद्य सामग्री वितरण गर्नुपथ्र्याे । केहीलाई दिने काम त गर्नुगरेका छन्, तर धेरैले पाएका छैनन् ।
काठमाडौंले पाल्न नसक्ने ‘मानवहरू’ अहिले आˆनो घरगाउँको यात्रामा लागेका छन् । सरकारले पनि करिबकरिब आँखा चिम्लिएकै स्थिति देख्छु, एक आम नागरिकको आँखाले ।
ल ठीक छ, एकछिनलाई मानौं काठमाडौंले सबैलाई थाम्न सकेन रे । त्यहाँ सुत्केरी पनि छन्, वृद्ध पनि छन्, बालक पनि छन् । नेपालको जम्माजम्मी लम्बाइ करिब एक हजार किलोमिटर छ ।
ल एकछिनलाई सोचौँ जवानहरू त हिँडेरै जालान् । तर, उनीहरूलाई खाना त चाहियो ठाउँ ठाउँमा । वृद्ध, बालक, सुत्केरी कसरी जाने ? त्यसको व्यवस्था नेपाल सरकारले गरिदिएको भए हुने थिएन र ? हिँडेर जानुभन्दा बढी सुरक्षित हुन्थे होलान् ।
सरकारको पक्षबाट आएका भाषण र सम्बोधनको विषयमा जनताको असन्तुष्टि किन बढ्यो ?
सरकारबाट आएका भाषणमा जनताले केके अपेक्षा गरेका होलान ? अलिक संवेदनशील भएर सोच्नुपर्छ कि ? यो समय राजनीतिका लागि होइन । यो समय त मानवीयताका लागि बोल्ने या गर्ने समय हो । शब्द र जेस्चर त्यस्तो होस्, जसले मन र मुटु छोओस् !
अहिलेसम्म त जनता पूरै संयम भएर अनुशासित भएर बसिरहेको यो समयमा सरकारले प्रत्येक ठाउँको क्लस्टर छुट्याएर तत्काल टेस्ट गर्ने कार्य बढाइहाल्नुपर्ने हो । तर, त्यो पनि सबैतिर सुरु गरेको देखिएको छैन ।
आवश्यक प्रशस्त मात्रामा किट ल्याइसक्नुपर्थ्यो । त्यो पनि आइसकेको जानकारी कुनै सञ्चारमाध्यमबाट सुन्न र ढुक्क हुन पाइएको छैन ।
डब्लुएचओको कुरा सुन्दा मलाई अझै पनि हामी नेपाली ढुक्क भएर बस्ने समय आइसकेको जस्तो लाग्दैन । त्यसैले अझै पनि भन्छु सीमा रक्षा गर्न शस्त्रअस्त्रले सुसज्जित गरेर योद्धाहरूलाई पठाए जस्तै कोरोनाको युद्धमा स्वास्थ्य सुरक्षाको सामग्रीले सुसज्जित बनाएर मात्र पठाऔँ हाम्रा स्वास्थकर्मीहरूलाई ।
नहुनेले हुनेसँग माग्ने चलन संसारभरि नै छ । यद्यपि यो महामारीमा अमेरिका जस्तो सर्वशक्तिशाली राष्ट्रले भारत र चीनसँग कोरोनाविरुद्धको किटदेखि औषधिसम्म मागेको समाचार त हामीलेदेखि सुनिरहेकै छौँ । यस्तो अवस्थामा हाम्रा उच्च निकायले सुरुमै किन माग्न सकेन ?
गत हप्तामात्र हाम्रा माननीय मन्त्रीज्यूले माग आहृवान गरेको सुनियो । यस्तो महामारीको अवस्थामा बिरामी र स्वास्थकर्मीको जीवन रक्षा गर्न हरप्रयास गर्नु सरकारको प्रमुख दायित्व हो । यसो हेर्दा तत्परता देखिए पनि सामग्री ल्याउन अझै सकेको छैन । स्वास्थ्य सुरक्षाका सामान भनेर सुरुमा मगाएको थियो क्यार । तर, त्यसमा नै इमान्दारितामाथि प्रश्न उठेर फिर्ता भयो ।
महामारीको यस्तो असाधारण अवस्थामा सरकारबाट कहाँ के सावधानी अपनाउनुपथ्र्याे । तर, यसमा कमी देखियो नै । जसले गर्दा जे हुनु हुने थिएन, त्यही भयो । यस्तो महामारीमा नदेखिएको इमानदारिताले के हामीलाई लज्जित बनाएको छैन ?
केही फरक दृश्य र कुबेलाका नियुक्तिहरूले नागरिकलाई नकारात्मक असर पारेको छ । आˆनो ज्यानको परवाह नगरी अरूको जीवन रक्षा गर्न हिँडेका स्वास्थ्यकर्मीमाथिको लाठी प्रहारले सम्पूर्ण नेपालीको मुटु छियाछिया पारेको छ । यो मानसिक कुण्ठा हो कि सरकारमाथिको लाठी प्रहार हो ? गम्भीर भएर सोच्ने कि ?
यो महामारीमा नागरिकहरूलाई पूर्ण सुरक्षित भनेर भन्न नसकिएको समयमा सरकारले विभिन्न आयोगमा नियुक्ति अहिले नै गर्नुपर्ने जरूरी परिसकेको थियो र ? त्यो न गरेको भए के नै काम रोकिन्थ्यो र ?
यो महामारीमा सम्पूर्ण नेपालीहरू, समाज र सम्पूर्ण देशवासीकै स्वास्थको लागि सरकारले गरेको लकडाउनको (अपवादबाहेक) पूर्ण पालना गरेर घर बसेका छन् ।
के केन्द्र सरकार या स्थानीय सरकार कसैले पनि नागरिकहरूको अनुशासनको प्रशंसाको लागि आत्माबाट कृतज्ञता व्यक्त गर्नुपर्दैन ?
अब अर्को पाटोतिर जाऔँ
भनौं, केही हप्तापछि लकडाउन खुल्ने नै भयो । के खुल्नेबित्तिकै नागरिक खुलमखुला पहिले जस्तै हिँड्ने काम गर्ने अवस्था आइसक्यो ? के हामीले अब हामी पूर्णरुपमा सुरक्षित छौँ भनेर सोच्ने बेला आइसक्यो ? कि हामी ‘कोरोना फ्री मुलुक’ भनेर ढ्याङ्ग्रो पिट्दै टेलिभिजनमार्फत छाती फुलाएर जस्न मनाउने समय आइसकेको छ ?
आकाश त यतिखेर पनि खुला नै छ । धरती चाहिँ बन्द छ । जब यो कैद धरती फ्री जोनमा पुग्नेछ, त्यतिखेर सरकारले धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सरकारले त्यसको व्यवस्थापनको बारेमा प्लानिङ गर्नु सरकारको अर्को ठूलो दायित्व हुनेछ । त्यस विषयमा सरकारले तयारी गरेको छ त ? सरकारले त्यस्ता प्लानिङ दिएर जनतालाई सजक बनाएर मात्र लकडाउन खोल्दा राम्रो होला ।
र, अन्त्यमा फेरि पनि दोहोर्याउन चाहेँ,
यो समय राजनीतिका लागि होइन । यो समय त मानवीयताको लागि बोल्ने र गर्ने समय हो । यस्तो गरौँ जसले मन र मुटु छोओस्
कसैले फेरि नभनून्-
‘लाखौंका लागि उजाड छ यो देश
मुठीभरलाई त स्वर्ग छ’
प्रतिक्रिया 4