Comments Add Comment

डा. भट्टराईको लकडाउन दैनिकी : पुस्तकमा लिप्त, चारपटक भोजन

७ वैशाख, काठमाडौं । सँधै व्यस्त सेड्यूलमा चल्ने नेताहरुको अचेल दिनचर्या बेग्लै छ । आमजनता जस्तै उनीहरु पनि लकडाउन पालना गरेर घरभित्रै बसिरहेका छन् ।

सभा, मिटिङ, अन्तर्वार्ताका लागि दौडादौड गरिरहने नेताहरुलाई घरभित्रै निष्क्रिय भएर बस्न कति कठिन भएको होला ? पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई चाहिँ लकडाउनमा पनि आफू सुव्यवस्थित तरिकाले सक्रिय जीवनयापन गरिरहेको बताउँछन् ।

फेसबुकमा एउटा संक्षिप्त भिडियो पोष्ट गरेर डा. भट्टराईले आफ्नो दैनिकी सार्वजनिक गरेका छन् । भट्टराईका अनुसार पुस्तक पढ्ने, चलचित्र हेर्ने, समाचार पढ्ने र साथीभाईसँग फोनमा कुरा गरेर उनको दिन बित्छ ।

बिहान उठेर नित्यकर्मपछि विभिन्न व्यायाम, जगिङ र प्राणायाम गर्ने गरेको उनी बताउँछन् । त्यसपछि अनलाइनका समाचारहरुमा घोत्लिन थाल्छन् ।

‘मेरो सुरुदेखिै बानी छ बिहान पत्रपत्रिका, टिभी र अनलाइनका समाचार हेर्ने । अहिले पनि म एक–डेढ घन्टा समय समाचार हेरेर बिताउँछु,’ डा. भट्टराई भन्छन् ।

डा. भट्टराईले खानपिनको योजनावद्ध तालिका बनाएका छन् । उनी बिहान आठ बजे ब्रेकफास्ट लिन्छन् भने दिउँसो ११–१२ बजे लन्च खान्छन् । लन्चमा दालभात तरकारी नै हुने गरेको उनले बताएका छन् ।

यसैगरी दिउँसो ४ बजेतिर उनी हल्का नास्ता गर्छन् । बेलुका चाहिँ सुख्खा रोटी र साग खाने गरेका छन् ।

डा. भट्टराईले पढाईमा निकै समय व्यतित गरिरहेका छन् । जारेड डाइमन्डले लेखेको एउटा पुस्तक पढिभ्याएका उनले अहिले ३–४ वटा पुस्तक एकैसाथ पल्टाइरहेका छन् । बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ विषयक पुस्तक आधाउधि पुर्‍याएको उनले जानकारी दिएका छन् ।

डा. भट्टराई घरमै बसेर इन्टरनेटमा चलचित्र पनि हेरिरहेका छन् । उनी भन्छन्, ‘हिसिलाजी र मेरो एउटै स्वाभाव के छ भने हामीलाई मनोरञ्जन पनि गर्नुपर्छ । त्यसैले मनोरञ्जनका लागि राम्रा फिल्म छानेर हेर्छौं । फिल्म हेर्दा छोरी पनि सँगै बस्छिन् ।’

सबैले आआफ्नो व्यक्तिगत रुची र पारिवारिक परिवेशअनुसार दिनचर्या बनाउनुपर्ने डा. भट्टराई बताउँछन् । शरीर र मनलाई सक्रिय राख्न नसके तनाव सिर्जना हुने र मनोरोग निम्तिन सक्ने उनको चेतावनी छ ।

‘घरमै बसौं । आफ्नो स्वास्थ्यको ख्याल राखौं । रोग नसर्नका लागि योगदान गरौं,’ डा. भट्टराईले भिडियोमा भनेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको यो भिडियो अहिलेसम्म एक लाख २५ हजार जनाले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment