Comments Add Comment

अर्थतन्त्र चलायमान बनाउन ‘ट्राफिक लाइट प्रणाली’

९ वैशाख, काठमाडौं । मुलुकमा लकडाउन सुरु भएको करिब एक महिना पुग्न लाग्यो । ११ चैतबाट सुरु भएको लकडाउनसँगै मुलुकमा आर्थिक गतिविधि समेत ठप्पप्रायः रहेको छ ।

यसैबीच, कोरोना संक्रमण पनि नेपालभित्र करिब–करिब नियन्त्रण भित्रै देखिएको छ । कोरोनाको त्रास र बन्द आर्थिक गतिविधिका कारण भने नेपालको आर्थिक क्षेत्र गम्भीर अवस्थामा पुगेको संकेतहरू देखिन थालिसकेको छ ।

गत चैतमा वैदेशिक व्यापार आधा घटेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, भन्सार बिन्दुहरूबाट मात्र दैनिक एक अर्ब बराबरको राजस्व क्षति भइरहेको छ । लाखौँ मानिसको रोजीरोटी खोसिएको छ । सरकारका आर्थिक प्राथमिकता फेरिएका छन् । विकास र समृद्धिको बहस कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा केन्द्रित भएका छन् । फलस्वरुप यस वर्ष आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म (विश्व बैङ्कको प्रक्षेपण अनुसार) झर्नेछ ।

यो अवस्थामा लामो समयसम्म लकडाउन कायम राख्नुको साटो अर्थतन्त्रका अवयवहरूलाई क्रमशः क्रियाशील बनाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्दै अर्थतन्त्र चलायमान बनाउन ‘ट्राफिक लाइट प्रणाली’ प्रभावकारी हुने विज्ञहरूको सुझाव छ ।

अर्थविद् केशव आचार्य अब कोरोनाबाट अतिप्रभावित, कम प्रभावित र सुरक्षित स्थान/क्षेत्र पहिचान गरी त्यसलाई ट्राफिक लाइटकै शैलीमा सञ्चालन गर्नुपर्ने बताउँछन् । कोरोनाबाट सुरक्षित स्थान/क्षेत्रलाई ‘ग्रिन जोन’ घोषणा गरी सुरक्षाका सबै उपाय अपनाएर आर्थिक गतिविधि सञ्चालन गराउनुपर्ने उनी बताउँछन् ।

‘कोरोनाको जोखिम रहेको तर नफैलिएको स्थानलाई ‘एल्लो जोन’ भनौँ र त्यस क्षेत्रका मानिसलाई अधिक सचेत गराउँदै आर्थिक गतिविधि खुला पारौँ’, आचार्य भन्छन्, ‘अति प्रभावित क्षेत्रलाई चाहिँ ‘रेडजोन’ घोषणा गरेर उपचार र संक्रमण न्यूनीकरणमा केन्द्रित हुनुपर्छ ।’

अर्का अर्थविद् डा. गोविन्दराज पोखरेल घनाबस्तीबाट परका क्षेत्रमा आर्थिक गतिविधि नियमित गर्न सुझाव दिन्छन् । ‘कम्तीमा ठूलो क्षेत्रमा लगाइएको व्यवसायिक कृषिलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘त्यसो गर्दा सुरक्षा प्रवन्धमा भने कुनै पनि सम्झौता गर्नु हुँदैन ।’

त्यसपछि, खाद्य उद्योग र गौरवका आयोजनाहरूको कामलाई पनि निरन्तरता दिन उनको सुझाव छ । ‘मजदुरले काम पाउने, उत्पादन भइरहने र खपत गर्ने संयन्त्र पनि सुचारु राख्ने हो भने कोरोनाले पारेको आर्थिक खाडल क्रमशः कम गर्दै लैजान सकिन्छ’, पोखरेल भन्छन्, ‘तरकारी फलाइरहने, त्यसलाई गाडीमा राखेर बजारसम्म पर्‍याइरहने र सुरक्षित तवरले उपभोग गर्ने वातावरण बनाउनु पर्‍यो ।’

अत्यावश्यक वस्तु, औषधि र खाद्यान्न उत्पादन गर्ने उद्योगलाई भाइरसबाट बच्ने उपाय अपनाएर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

नेपालका ठूला सहरहरूमा विदेशमा जस्तै ठूलो संख्यामा बाहिरका मानिसहरूको अस्थायी बसोबास छ । त्यसकारण पहिलो चरणमा सहरभन्दा परका क्षेत्रमा मात्र आर्थिक गतिविधि सुचारु गर्नुपर्ने सुझाव विज्ञहरूको छ । ठूला सहरहरूलाई अझ केही समय बढी ‘केयर’ गर्नुपर्ने उनीहरूको सुझाव छ ।

छिटो ‘रिकभरी’ हुनसक्ने क्षेत्र

११ चैतयता राष्ट्रिय जीवनको हरेक क्षेत्र ठप्प छ । विज्ञहरू यीमध्ये कृषि र उद्योगलाई कोरोना महामारीको बीचमा पनि छिटो पुनरुत्थान हुनसक्ने क्षेत्र मान्छन् । अहिले गहुँ र दाल स्याहार्ने समय हो । यो धान र बर्खे तरकारीको ब्याड राख्ने समय पनि हो ।


भारत लगायत मुलुकबाट फर्किएका युवा शक्तिलाई कृषि र सिप भएका युवालाई विकास निर्माणमा लगाउने हो भने रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने अर्थविद् आचार्य बताउँछन् । विकास निर्माणलाई निरन्तरता दिने हो भने उद्योग क्षेत्र समेत छिट्टै पुरानो अवस्थामा फर्कने उनको भनाइ छ ।

सेवा क्षेत्रमा दीर्घकालीन असर

राष्ट्रिय योजना आयोगले कुल गार्हस्थ उत्पादनमा योगदान गर्ने भनी तोकेका करिब एक दर्जन क्षेत्रमध्ये तत्काल पुनरुत्थान हुन नसक्ने भनेको सेवा क्षेत्र हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ दीपकराज जोशी कोरोना भाइरसको असरबाट उक्सन पर्यटन क्षेत्रलाई सन् २०२२ सम्म लाग्ने बताउँछन् ।

त्यसका लागि अहिले पर्यटन क्षेत्रलाई बचाउने, २०२१ मा पुनरुत्थानका कार्यक्रमहरू ल्याउने र २०२२ मा पर्यटकीय गतिविधि सघन बनाउनु पर्ने उनको सुझाव छ ।

अहिले त संसारभर नै कोही घुमघाममा निस्कन सक्ने अवस्था छैन । यो अवस्थाले विश्वभर नै पर्यटन क्षेत्रमा दीर्घकालीन असर पार्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment