Comments Add Comment

कोरोना नियन्त्रण गर्न प्रदेश ५ विपद कोषबाट ७८ लाख निकासा, सार्वजनिक विदाको सूची पनि स्वीकृत

१० वैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेश विपद व्यवस्थापन कोषबाट ७८ लाख रुपैयाँ कोरोना भाइरस जोखिम व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम गर्न जिल्ला विपद व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारले तराईका ६ जिल्लालाई ८ लाख र पहाडी ६ जिल्लालाई ५ लाख रुपैयाँको दरले रकम दिने निर्णय गरेको मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले २०७७ सालमा प्रदेशले दिने ६ दिनको विदा सम्बन्धी निर्णय पनि गरेको छ । जस अनुसार बकर इदमा एक दिन, माघी/माघे संक्रान्तिमा माघ १ गते र २ गते गरी दुई दिन, फागुन ३ गते प्रदेश स्थापना दिवसमा एक दिन विदा दिने निर्णय भएको छ ।

यस्तै स्थानीय तहको निर्णयबाट स्थानीय तहलाई एक दिन बिदा दिन सक्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिने विदा अन्तर्गत रुकुम, रोल्पाका मगर समुदायलाई भूमे पूजामा एक दिन, थारु समुदायलाई बड्का अतवारीमा एक दिन र भगवती जात्राको दिन पाल्पा जिल्लामा एक दिन विदा दिने निर्णय भएको छ ।

प्रदेश सरकारले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment