Comments Add Comment

विश्वसनीयतामा प्रश्न उठे पनि सरकारले आरडीटी टेस्ट नरोक्ने

मन्त्री भन्छन् : विश्वसनीयता र कमजोरीमा ध्यान दिन्छौं

२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वसनीयतामा प्रश्न उठे पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीवडी परीक्षण

नरोकिने बताएका छन् ।
सोमबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको वैठकमा उनले आरडीटी विधिको विश्वसनीयता र कमजोरीमा ध्यान दिँदै निरन्तरता दिने बताएका हुन् ।

‘आरडीटी टेष्टलाई हामी लान्छौं । यसको विश्वसनीयता र कमजोरीका विषयमा पनि ध्यान दिएका छौं’ उनले भने, ‘आरडीटी पोजेटिभ आयो भने छुट्टै राखिहाल्छौं । पोजेटिभ आएन भने पनि लिएकामध्ये १० प्रतिशतलाई र्‍यान्डमली पीसीआर प्रविधिमा लगेर ठीक हो कि होइन भनेर परीक्षण गर्छौं ।’

समिति बैठकमा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाललगायतले आरडीटी विधिको परीक्षणमा प्रश्न उठेको भन्दै रोक्न सुझाव दिएका थिए । तर मन्त्री ढकालले आरडीटी परीक्षण रोक्न नसकिने जवाफ दिए ।

क्वारेन्टाइनमा रहेका, क्वारेन्टाइनमा निश्चित अवधि पार गरेका, तत्कालका लागि आशंकाबाट मुक्त हुनका निम्ति र्‍यापिड टेष्टलाई प्रयोग गरेको मन्त्री ढकालको जवाफ छ ।
कोरोना संक्रमण भएको वा नभएको तत्काल छुट्याउन (आरडीटी) विधिबाट कोरोना परीक्षण सहज भइरहेको उनको भनाइ छ ।

उदयपुर पठाएको सामाग्री विरागनटरमा रोकियो !

समिति बैठकमा उदयपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लक्ष्मी परियारले प्रत्येक उदयपुरबासीको कोरोना परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिन् । जवाफमा मन्त्री ढकालले उदयपुरका लागि पठाएको पीसीआर मेसिन विराटनगरमा रोकिएको जवाफ दिए ।

‘अतिप्रभावित भएपछि उदयपुरमा एउटा पठाऔं भनेर हामीले यहाँबाट पठायौं । विराटनगर पुगेपछि त्यो विराटनगरमै रह्यो । विराटनगरका साथीहरुले अहिले त्यहाँ पठाइयो भने भोलि आउँछ आउँदैन, अहिले नै राखियो भने पछि सम्पत्ति हुन्छ भन्ने हिसाबले् राखे’ मन्त्री ढकालले समिति बैठकमा भने ।

परीक्षण व्यापक बनाउने प्रतिवद्धता

मन्त्री ढकालले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने पनि बताए । उनले परीक्षणकालागि आगामी दिनमा सामान अभाव पनि नहुने भन्दै थपे, ‘अब हामी सम्पूर्ण रुपमा परीक्षणको दायरालाई पनि क्रमशः ब्यापक बनाउँदै लानेछौं ।’

पीसीआर विधिबाटै एक लाख भन्दा बढीको परीक्षण गर्ने र आरडीटी टेस्ट पनि बढाइने उनले जानकारी दिए । हालसम्म करिब १८ हजारको पीसीआर विधिबाट परीक्षण भएको छ ।

मन्त्री ढकालले २१५ वटा भेण्टिलेटर ल्याउने तयारी भइरहेको पनि जानकारी गराए । ‘उपत्यकाभित्र १२० र उपत्यका बाहिर ११५ वटा गरेर २१५ वटा यो बीचमा ल्याएर जोड्नुपर्छ भनेर लागेका छौं । बीचमा केही आएका छन्, तर, उल्लेख्य रुपमा छैन’ उनले भने ।

निजी अस्पताल जुनसुकै बेला प्रयोग गर्न सकिन्छ

स्वास्थ्यमन्त्री ढकालले सरकारले जुनसुकै बेला निजी अस्पताल प्रयोग गर्न सक्ने बताएका छन् । ‘जुनकुनै बेला सबै अस्पतालहरु सेवाका निम्ति पूर्ण रुपमा सरकारले प्रयोग गर्न सक्छ भनेर उहाँ (निजी अस्पताल सञ्चालक) हरुसँग कुराकानी गरेका छौं’ उनले भने ।

सोमबारसमितिमा कांग्रेसका सांसद मिनेन्द्र रिजालले निजी स्वास्थ्य सेवाका विषयमा सरकारले सोच्नुपर्ने बताए । ‘निजी अस्पतालले सामान्य विरामीलाई समेत उपचार सेवा दिइरहेका छैनन्,’ रिजाल भन्छन्, ‘अब सरकारले निजी स्वास्थ्य र शिक्षाका सन्दर्भमा सोच्नुपर्ने बेला आएको हो कि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment