Comments Add Comment

दुई दिन घरमा बसेर क्वारेन्टाइनमा गएका थिए कपिलवस्तुका कोरोना संक्रमित

३८ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट आउन बाँकी

३० बैशाख, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का तीनजना कोरोना संक्रमित व्यक्ति भारतबाट आएर दुई दिन घरमा बसेपछि मात्रै क्वारेन्टाइनमा गएको खुलेको छ । भारतको मुम्बईबाट रेल र ट्रकमा यात्रा गर्दै उनीहरु लकडाउनकै बीचमा सुरक्षाकर्मीलाई छलेर एकहप्ता अघि घर आएका थिए ।

भारतबाट नेपाल प्रवेश गरेर दुई दिनसम्म घरमा बसेको छिमेकीले थाहा पाएपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । दुई दिनसम्म उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी कार्य शुरु भइसकेको कपिलवस्तु प्रहरी प्रमुख एसपी दीप शमशेर जबराले बताए । जिल्लाका अन्य १८ जना संक्रमितलाई भने भारतबाट जिल्ला प्रवेश गरेपछि सीधै क्वारेन्टाइनमा राखिएको एसपी जबराले बताए ।

कपिलवस्तुमा यशोधरा गाउँपालिकाको वडा नं. ५ का ८ जना र वडा नं. ८ का ४ जना गरी १२ जना, बुद्धभूमि नगरपालिका–७ का ३ जना र वडा नं. १० का एक जना तथा मायादेवी र शुद्धोधन गाउँपालिकामा ५ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा सोमबार फेला परेका १६ जना र त्यसअघिका ५ जना सबै  भारतको मुम्बई, गुजरात लगायतका शहरबाट एक साता अघि फर्केका हुन् ।

कपिलवस्तुका विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ९० जनाको स्वाब परीक्षणका लागि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकामा २ सय ५२ जनाको  रिपोर्ट आएको छ । तीमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि नै ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको थियो । ती पनि लकडाउनकै समयमा प्रहरीको आँखा छलेर लुकिछिपी जिल्ला प्रवेश गरेका थिए ।

अब ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लाका १० पालिकाले सन्चालन गरेका क्वारेन्टाइनमा एक हजार ३ सय ७९ जना बसेका छन् ।

भारतका विभिन्न शहरबाट आएर कपिलवस्तुका विभिन्न नाकामा अहिले पनि दुई हजार बढीको संख्यामा नेपालीहरु बसिरहेका छन् । उनीहरुमध्ये कतिपयले रातिका समयमा सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रवेश गर्ने गरेका छन् । जिल्लामा कोरोना संक्रमित बढेपछि कपिलवस्तु जिल्लालाई ५ जेठसम्म सिल गर्ने निर्णय गरिएको छ ।

यो पनि पढ्नुहोस थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment