Comments Add Comment

रुपन्देहीको तिलोत्तमा र गैडहवाका नाका सिल

१ जेठ, बुटवल । कोरोना संक्रमणको जोखिमबाट बच्न रुपन्देहीको तिलोत्तमा नगरपालिका र गैडहवा गाउँपालिकाले मुख्य राजमार्गबाहेक सहायक सडक र नाकाबाट आवतजावतमा रोक लगाएका छन् ।

रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण भएसंगै तिलोत्तमाले सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्स लेन सडकबाहेक अन्य सहायक सडक र नाका लकडाउन अवधिभरका लागि सिल गरी अनुमतिविना आवतजावतमा रोक लगाएको छ ।

तिलोत्तमा प्रवेश गर्ने फायरलाइन, रोहिणी, गंगोलिया, मगरघाट, डिंगरनगर, पश्चिम पहुनी, अमुवा लगायतका नाका शिल गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

सिक्सलेन सडक वाहेकका नाकामा टोल विकास संस्था र वडाका जनप्रतिनिधि बसेर आवतजावत गर्न नदिने उनले बताए । बैंक तथा सहकारी संस्था हप्ताको तीन दिन १० बजेदेखि १ बजेसम्म मात्र खोल्न, खाद्यान्न, तरकारी र अत्यावश्यक सेवाका पसल तोकिएको समय वाहेक अन्य समयमा खोलेमा लकडाउन अवधिभरका लागि खोल्न पाउने गरी सिल गर्ने निर्णय भएको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

अत्यावश्यक कामका लागि नगर बाहिर जानुपरेमा नगरपालिकाको स्वीकृति र नगर भित्र आउन सिक्स लेन सडकबाट मात्रै आउन अनिवार्य गरिएको उनले बताए ।

उता १० जना कोरोना संक्रमित फेला परेका गैडहवा गाउँपालिकाले पनि जेठ ५ गते सम्म सबै नाका पुर्णरुपमा शिल गर्ने निर्णय गरेको छ । गाउँपालिका स्तरिय बिपद ब्यवस्थापन समितिको बैठकले गाउँपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

बुधबार मात्रै गैडहवा गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ‘औषधी पसल बाहेक सम्पूर्ण ब्यापार ब्यवसाय समेत पूर्ण रुपमा बन्द गरी गाउँपालिका भित्र बिना अनुमति आवत जावतमा रोक लगाइएको छ’ गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment