Comments Add Comment

उदयपुरमा भुल्केबाहिर पहिलो पटक संक्रमण

संक्रमित व्यक्ति पत्रकार

३ जेठ, विराटनगर । ३२ जना कोरोना संक्रमित भेटिएको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको मुस्लिम बस्ती बाहिर नयाँ संक्रमित फेला परेका छन् ।

उदयपुरको भुल्के प्रदेश १ मा कोरोनाको केन्द्रबिन्दु हो । शुक्रबार भुल्केबाहिरका २५ वर्षका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी पत्रकार हुन् ।

प्रदेश १ मा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए । संक्रमण पुष्टि भएका पत्रकारको ठेगाना त्रियुगा नगरपालिका नै हो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । संक्रमितमध्ये ३३ जना उदयपुरको भुल्केमा भेटिएका हुन् । जसमा संक्रमितमध्ये १२ जना भारतबाट आएका जमाती हुन् । ४ जना विराटनगरका हुन । १६ जना भुल्केका वासिन्दा हुन् ।

प्रदेश १ मा भेटिएका संक्रमितमध्ये २ जना झापा र १ जना भोजपुरका हुन् । संक्रमितमध्ये १७ जना उपचारपछि घर फर्किसकेका छन् ।

युवतीका आफन्तको रिपोर्ट नेगेटिभ

भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी सुनसरीकी युवतीका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा आफन्तको रिपोर्ट नेगेटिभ आएको हो ।

सुनसरीमा ४९ दिन बिताएर २९ वैशाखमा मोटरसाइकलमा भक्तपुर पुगेकी युवतीमा मंगलबार कोरोना संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमित देखिएपछि उनका आफन्त र छिमेकी गरी १९ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

ती सबैको परीक्षण कोशी अस्पताल विराटनगरमा भएको हो । शुक्रबार राति परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment