Comments Add Comment

विष सेवनबाट डोल्पामा १ जनाको मृत्यु, २ को अवस्था गम्भीर

३ जेठ, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी गर्न शुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पुर्याइएको थियो । मेडिकलमा उपचार गर्न नसकिने बताएपछि तीनैजनालाई रातारात जिल्ला अस्पतालमा पुर्याइएको र उपचारका क्रममा सुकलालको मृत्यु भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

अचेत अवस्थामा रहेका दुवैजनालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिबार दिउँसो करिब १२ बजेतिर माउन्टेन एयरको हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको रञ्जितकारले बताए ।

घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ । उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलका रुपमा लिइसकिएको प्रहरीले जनाएको छ । अस्पताल ल्याइपुर्याउन्जेल सुकलालको मृत्यु भइसकेको डा मेलिना हमालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment