Comments Add Comment

बालबालिकाको अनलाइन कक्षालाई कसरी व्यवस्थित गर्ने ?

नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामी बढ्दै गएको कारण लकडाउन (बन्दाबन्दी) अवधि बढिरहेको छ। जसका कारण बालबालिका घरमै बस्न बाध्य भएका छन् । गाउँघरतिर गएका बालबालिकाहरू पनि रमाइरहेका छन् ।

सामान्य अवस्था हुँदो हो त यतिबेला बालबालिकाहरुको नयाँ शैक्षिक सत्र सुरुवात भइरहेको हुने थियो । तर, यहि परिस्थिति कहिलेसम्म कायम रहने हो यकिन छैन । बिस्तारै बालबालिकाहरूलाई राम्रोसँग हेरचाह नगर्दा उनीहरूको अध्ययन गर्ने बानी बिग्रँदै जानसक्ने हुन्छ ।

अहिले विभिन्न विद्यालयहरूले बालबालिकालाई अनलाइन कक्षामार्फत घरभित्रैबाट पठनपाठन गराइरहेका छन्। विभिन्न क्रियाकलापमार्फत बालबालिकालाई विभिन्न कक्षाअनुसारको सिकाइ गरी व्यस्त राखेका छन्। यो भनेको धेरै बालबालिकालाई नयाँ प्रविधिको अनुभव हो । यसले विद्यार्थीहरूलाई हौसला पनि थपेको छ । तर, सबै विद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ। सबै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूसँग प्रविधिको पहुँच नहुनु तथा इन्टरनेटको अभावका कारण पनि यसलाई लागू गर्न गाह्रो भएको छ ।

शिक्षक अभिभावकले नयाँ कामको सुरुवात गर्दा आत्तिनु हुँदैन र प्रतियोगीको रुपमा पनि हेर्नुहुँदैन । सबै विद्यार्थीहरूलाई सहज भइसकेपछि बिस्तारै समय बढाउँदै लैजाँदा राम्रो होला । बच्चाहरूलाई मेरो साथीहरूले आजको कक्षा पढ्यो मेरो छुट्यो भनेर मानसिक तनाव भइरहने हुनसक्छ । आज बत्तीले गर्दा  मैले कक्षा लिन पाइन भन्ने अर्को तनाव हुन सक्छ ।

मोबाइलबाट लामो समयसम्म अध्ययन गर्दा बच्चाहरूको आँखामा समस्या आउन सक्ने, टाउको दुख्ने, वान्ता आउने हुन्छ । त्यसैले अनलाइन पठन पाठनलाई विज्ञापनको नाममा हतार नगरौं बरु व्यवस्थित तरिकाबाट सञ्चालन गरौं ।

सुरक्षा सुवेदी

त्यसैगरी, कसैको घरमा एउटा अथवा दुईवटा मात्र मोबाइल होला । कसैको घरमा ल्यापटप एउटा मात्र होला, कसैकोमा नहोला । तर, बच्चाहरु धेरै होलान्न अनि उनीहरू अनलाइन कक्षाको समय एकैपल्ट पर्ला । त्यस्तो बेला कसैले कक्षा लिने कसैले नलिने गर्दा बच्चाहरूमा मनोवैज्ञानिक असर पर्दछ ।

हामी कति भाडा तिरेर कोठामा बसेका हुन्छौं। कोठामा विभिन्न विद्यालयमा पढ्ने विधार्थीहरू हुन्छन् । कसैको अनलाइन कक्षा हुने कसैको नहुने हुँदा बच्चाहरूमा हीनताभाव पैदा हुन जान्छ ।

विद्यालयले अनलाइन कक्षा औपचारिकताको लागि मात्र लिने होइन। त्यसको उपयोगिता कत्तिको भएको छ भन्ने बारेमा पनि जानकारी लिई मूल्याङ्कन गर्नु जरुरी छ। यसका लागि अभिभावकसँग परामर्श गर्नु जरुरी छ ।

मोबाइलबाट पढ्नेहरूलाई त्यो सानो स्क्रिनमा फोकस गरेर पढाइरहेको स्लाइडहरू हेर्दा उनीहरूको आँखामा समस्या नआउला भन्न सकिन्न ।

बारम्बार बिजुली गइरहयो भने पनि अनलाइन कक्षालाई गाह्रो हुन्छ । नयाँ टेक्नोलोजीको प्रयोग गर्नु राम्रो कुरा हो। सानैदेखि नयाँँ  टेक्नोलोजी प्रयोग गर्न पाउनु राम्रो कुरा हो। तर, यसको सही ढङ्गले उपयोग गरिएन भने झन् नकारात्मक असरहरू निम्त्याउँछ।

अहिले कोरोनाको त्रासमा छन् सबै अभिभावकहरू यही बेलामा यो अनलाइन क्लासले गर्दा झन् त्रासमाथि अर्को तनाव नथपियोस्।

यसको सही ढङ्गले प्रयोग गरौं। बालबालिकालाई मानसिक असर हुनबाट जोगाऔं। नयाँ टेक्नोलोजीका बारेमा सिक्नको लागि नभए मानसिक असरले झन् राम्रो गर्छुभन्दा नराम्रो परिणाम आयो भने कालान्तरमा त्यसको असर अपूरणीय हुन्छ । विद्यालयको मिसन पूरा गर्नुभन्दा पनि विद्यार्थीको उद्देश्य पूरा गर्नु ठूलो कुरा हो ।

हतार नगरौं हप्तामा कम्तीमा तीन दिन जति कक्षा सञ्चालन  गरेर हेरौं‌ । राम्रो भयो भने बढाउँदै लैजा‍औं। जबसम्म सबै विद्यार्थी जसले पढ्न खोजेका छन्। उनीहरू सबै सम्मिलित भएपछि मात्र सुरु गरौं शिक्षकले पढाउँदै गर्दा कति विद्यार्थी सम्मिलित हुँदै फेरि हराउँदै पनि गरिरहेका हुन्छन्, त्यो पनि विचार गरौं ।

अनि जसको केही कारणले गर्दा पढ्न पाएनन्, उनीहरूको लागि पनि विकल्प सोचौं । नभए यो हतारको कामले बच्चाहरूमा धेरै मानसिक र शैक्षिक असर पर्न जान्छ। सबै विद्यार्थी एकै हुन् र सबैलाई बराबर शिक्षाको जरुरी छ ।

अलि बढी जानेको र कमजोर विद्यार्थीलाई एउटा किसिमले पढाउन सकिँदैन। त्यसका लागि यो अनलाइन क्लासको विकल्प के छ त त्यो पनि विचार गरौं नभए शिक्षकको कोर्स र विद्यालयको मिसन पूरा होला । तर, विद्यार्थीको शैक्षिक उद्देश्य पनि पूरा हुँदैन, र झन् मानसिक असरको शिकार बन्न पुग्छन्।

कुनै विद्यार्थीको बीचबीचमा अवरोध हुन सक्ला। शिक्षकहरूले पढाउने समय हुँदा कति बच्चाको घरमा बत्ती नहोला। त्यो बच्चालाई पढ्न मन होला तर बत्तीको अथवा नेटको कारणले पढ्न पाएन भने त्यसको विकल्पबारे सोच्नु जरुरी छ । यस्तो परिस्थितिमा शिक्षकले अभिभावकलाई फोन वा अन्य माध्यमबाट सम्पर्क गरी विद्यार्थीको समस्यालाई सम्बोधन गर्न जरुरी छ । इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीका लागि मोबाइल फोनबाट पनि पठनपाठन गर्न सकिन्छ ।

स्कुलमा शिक्षकले अगाडिबाट पढाउँदा त कतिपय विद्यार्थीहरूले बुझेका हुँदैनन् भने अनलाइन कक्षाबाट त्यो साना नानीहरूले कसरी बुझ्लान ? त्यसैले यो अनलाइन कक्षालाई कोर्स नै अगाडि बढाउनको लागि प्रयोग नगरौं । सहरतिरको बच्चालाई मात्र हेरे पनि त भएन नि ती गाउँतिरका बच्चाले कसरी पढून् ?

स्नातक वा मास्टरका विद्यार्थीहरूलाई त गाइड मात्र गरे पुग्छ। त्यसैले अनलाइन कक्षा भएको ठिकै होला। त्यही पनि कति जनालाई असर परिरहेको छ। तर, ती सानानानीले कति बुझेका छन् त्यो बुझ्नु जरुरी छ ।

त्यसैले म भन्छु यो अनलाइन क्लास बच्चाहरूलाई व्यस्त राख्न, उनीहरू कुन विषयमा कमजोर छन्। त्यसमा प्राथमिकता दिइ सुधार गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment