Comments Add Comment

ब्राजिलमा कोरोना : ‘सबैभन्दा ठूलो समस्या गलत समाचार’

९ जेठ, काठमाडौं । गत साता अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा एलाइन आलिभेइराले सामाजिक सञ्जाल इन्स्टाग्राममा पीपीई लगाएको फोटो पोस्ट गर्दै सबै मानिसलाई घरमा नै बस्न अनुरोध गरेकी थिइन् ।

मुलुकको उत्तरपूर्वी सिएरा राज्यको फोर्टलेजामा रहेको अस्पतालमा काम गर्ने ३३ वर्षीया ओलिभेइरा रातभर काममा खटिन्छिन् र निकै थकित भएर घर फर्किन्छिन् । उनले दुई महिनादेखि आफ्ना अभिभावकसँग कुरा गर्नसमेत पाएकी छैनन् । इन्टाग्राममा सेयर गरेको पोस्टमा पनि उनले आफ्ना परिवारलाई लामो समयसम्म भेट्न नपाउनु निजकै गाह्रो कुरा रहेको र यसले चित्त दुख्ने गरेको उल्लेख गरेकी थिइन् ।

आफूले यो पोस्ट लेखिरहँदा आफ्ना साथीहरू कसैको ज्यान बचाउन निकै ठूलो प्रयास गरिरहेको ओलिभेइराले उल्लेख गरेकी छिन् । उनले प्रशंसा पाउनका लागि नभई सबैलाई सुरक्षित राख्ने उद्देश्यका साथमा यस्तो पोस्ट गरेको स्पष्टीकरण पनि दिएकी थिइन् ।

लकडाउन उल्लङ्घन

ओलिइभेरा आफ्नो मनमा रहेको कुरा सामाजिक सञ्जालमा सबैलाई बुझाउन चाहन्थिन् । उनका ब्राजिलियन साथीहरूले घरमा नै बस्ने र भौतिक दुरी कायम राख्ने नियमको बेवास्ता गर्दै आएका थिए । साथै, उनीहरूले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि ल्याइएको नियमहरू पनि उल्लङ्घन गर्दै आएका छन् ।

विशेषगरी राष्ट्रपति जेयर बोल्सोनारोका समर्थकहरूले यो रोगको संवेदनशीलतालाई बुझ्न सकेका छैनन् । उनीहरू संगठित भएर भौतिक दुरी कायम राख्ने नियमको विरोध गरिरहेका छन् ।

‘आज नर्स दिवस हो र मेरो मुलुकका राष्ट्रपति जेट स्की चलाइरहेका छन् र भन्छन् – के भयो त ? ओलिभेइराले इन्स्टाग्राममा लेखेकी थिइन् ।

‘मृत्यु हुनेहरू संख्या मात्र होइनन्, उनीहरू सन्तान, अभिभावक र आफ्नो कोही प्रिय मान्छे भएका जनता हुन् । उनीहरू माया पाएका र बाँच्न चाहने नागरिक हुन्’ उनले लेखेकी छिन् ।

जिम्मेवार नदेखिएका राष्ट्रपति

ब्राजिलमा कोरोना संक्रमितको संख्या दुई लाख ९० हजार नाघिसकेको छ र तेस्रो सबैभन्दा धेरै संक्रमित भएको मुलुक बन्न पुगेको छ । विशेषज्ञहरू भने यो संख्या ३० लाखभन्दा बढी हुन सक्ने बताउँछन् । उनीहरूका अनुसार अहिले ब्राजिल कोरोनाको केन्द्र बन्दै गएको छ ।

आधिकारिक तथ्यांकअनुसार अहिलेसम्म १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर, विशेषज्ञहरूका अनुसार ब्राजिलले वास्तविक संख्या भने लुकाइरहेको छ । यद्यपि राष्ट्रपति बोल्सोनारोले भने कोभिड-१९ लाई एक सामान्य फ्लु भएको बताउँदै आएका छन् ।

दक्षिणपन्थी राष्ट्रपति लकडाउनको विरुद्धमा भइरहेको आन्दोलनमा पनि सहभागी हुँदै आएका छन् । उनी समर्थकहरूसँग हात मिलाउँदै आएका छन् । साथै, उनले भेला तथा उत्सवको पनि समर्थन गर्दै आएका छन् । उनलाई मुलुकमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेकोमा प्रतिक्रिया लिँदा ‘भए के भयो त ? माफ गर्नुहोस् । म कुनै चमत्कार गर्न सक्दिनँ’ भन्ने जवाफ फर्काएका थिए ।

राष्ट्रपतिको यस किसिमको कदमले पनि ब्राजिलमा महामारी फैलाउनमा सहयोग पुगेको छ ।

डाक्टरले छान्छन् मर्ने र बाँच्ने बिरामी

सिएरा, ब्राजिलको दोस्रो सबैभन्दा धेरै मानिसको मृत्यु भएको राज्य हो । यहाँका सबैजसो आईसीयूमा बिरामी भरिभराउ छन् । महामारी सुरु भएपछि अस्पतालमा भने बेडको संख्या दोब्बर भइसकेको छ । तर, अझै यी बेडहरू पर्याप्त हुन सकेका छैनन् ।
यस्तोमा डाक्टरहरूले नै कुन बिरामीलाई भेन्टिलेसनमा राख्ने र कसलाई नराख्ने भन्ने कुराको निर्णय गर्नुपर्ने हुन्छ ।

लिभेइराका अनुसार आईसीयूका लागि धेरै बिरामी प्रतीक्षामा हुन्छन् । यस्तोमा प्रतीक्षामै धेरै बिरामीको बिरामीको मृत्यु हुने गरेको छ । यस्तो अवस्थामा पनि मानिसहरू वास्तविकतालाई स्वीकार नगरी भौतिक दुरी कायम राख्ने नियम उल्लङ्घन गरिरहेका छन् ।

सिएराको सार्वजनिक स्वास्थ्य विभागका संक्रामक रोग विशेषज्ञ इटालो लेनोन अहिले ब्राजिलका जनताहरूले वास्तवकिता स्वीकार गर्न नसकेको बताउँछन् । उनीहरू भौतिक दुरी कायम राखिरहेका छैनन् भने मास्क लगाउन अस्वीकार गरिरहेका छन् । साथै, भिडभाडमा पनि मानिसहरू सामेल भइरहेका छन् । यस्तोमा गलत समाचार नै ब्राजिलको लागि सबैभन्दा ठूलो चुनौती बन्न पुगेको लेनोनको भनाइ छ । ब्राजिलमा यस किसिमको गतिविधि बढ्नुमा महामारीबारे फैलिएको गलत समाचार पनि एक मुख्य कारण हो ।

मे महिनाको सुरुमा इन्स्टाग्रामले मुलुकका सांसदहरूले राखेको गलत समाचारहरू हटाएको थियो । त्यस्ता धेरै गलत सूचनाहरू सामाजिक सञ्जालबाट हटाइएका छन् । तर, यस किसिमका सूचनाहरू राष्ट्रपति बोल्सोनारोले नै सेयर गर्न थालेपछि मात्र हटाइएको थियो ।

गत मार्च महिनामा सामाजिक सञ्जाल टि्वटर र फेसबुकले बोल्सोनारोले सेयर गरेको सूचनाहरू गलत रहेको बताउँदै हटाउने निर्णय गरेका थिए ।

गत महिना ब्राजिलको मानुसमा रहेको अमेजोनियन सिटीका अधिकारीले मृत्युको संख्या धेरै देखाउन खाली कफिन गाडिरहेको गलत समाचार फैलिएको थियो । त्यस्तै, मुलुकभर विभाजन पनि निकै तीव्र गतिमा बढेको छ । यसले महामारी नियन्त्रण थप चुनौतीपूर्ण बनाएको छ ।

ओलीभेइरा महामारीमा उनीहरूले गरेको व्यवहारको कारण चार दाजुभाइसँग बोल्नै छाडिदिएको बताउँछिन् । किनकि उनीहरूले बोल्सोनारोको सुझाव मानिरहेका छन् । उनीहरू विनाकुनै सतर्कता वृद्ध मानिसहरूमा जाने गर्छन् । यसले वृद्धि मानिसहरूमा पनि जोखिम बढाउने ओलिभेइरा बताउँछिन् । उनीहरूकै सुरक्षाको लागि सतर्कता अपनाउन आग्रह गर्दा पनि त्यसलाई अटेर गर्दा ओलिभेइरा निकै निराश पनि हुने गरेकी छिन् ।

ओलिभेइराजस्ता धेरै फ्रन्टलाइनमा रहेर काम गर्ने मानिसहरूले आफ्नो तर्फबाट कोरोना भाइरस नियन्त्रणमा ठूलो योगदान गरिरहेका छन् । तर, मानिसहरूले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध नमान्दा आफूहरूको योगदानको सम्मान नभएको आभास ओलिभेइरालाई हुने गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment