Comments Add Comment

यी पाँच गुण जसले जीवन सहज बनाउँछ

नेपालीमा एउटा भनाई छ, ‘संसार आफु अन्सार ।’ हामी आफु जस्तो हुन्छौं, हामी बाँच्ने संसार पनि त्यस्तै हुन्छ । हामी रुखो छौं, खराब छौं भने हाम्रो लागि संसार साँघुरो र असहज हुन्छ । हाम्रा सत्रु धेरै हुन्छन् । आपत विपतमा हामीलाई सहयोग गर्नेहरु भेटिदैनन् ।

जब हामी सबैप्रति सद्भाव राख्छौं, सबैलाई सम्मान गर्छौं, सबैलाई प्रेम गर्छौं, सबैसँग समान व्यवहार गर्छौं हाम्रो संसार खुला र सुन्दर हुन्छ । हामीले बँच्ने वातावरण सहज हुन्छ । हाम्रा साथीभाई धेरै हुन्छन् । सुखमा हामीसँगै रमाउने र दुःखमा साथ दिनेहरु मनग्ये हुन्छन् । अतः कस्ता गुणले हामीलाई त्यस्तो बनाउँछ त ?

समान भाव

हामीमध्ये धेरैजसो व्यक्ति वा उसको जात, धर्म, वर्ग, वर्ण हेरेर सोही अनुसार व्यवहार गर्छौं । ठूलाका सामुन्ने निहुरिने र आफुभन्दा सानालाई हेला गर्ने प्रवृत्ति धेरैको हुन्छ । यस किसिमको भेदभावपूर्ण सोच राख्ने र व्यवहार गर्ने प्रवृत्तिले अन्ततः आफैलाई कुरुप बनाउँछ । सबैप्रति समान व्यवहार गर्ने । सबैलाई सही र सन्तुलित दृष्टिले हेर्न बानीले हाम्रो व्यक्तित्वलाई ओजपूर्ण बनाउँछ ।

सहयोगी भावना

आफुलाई समस्या परेको बखत अरुको साथ र सहयोग खोज्ने तर अरुलाई समस्या परेको बेला सहयोगको लागि कतिपनि तत्पर नहुने बानी धेरैको हुन्छ । यस किसिमको स्वार्थीपनले हाम्रा साथीभाई, आफन्तहरु घट्छन् ।

जब हामी सबैप्रति सहयोगको भावना राख्छौं । निस्वार्थ हिसाबले सहयोग गर्न तत्पर रहन्छौं भने हाम्रा साथीभाई, इष्टमित्र अनन्त हुन्छन् । भोलिका दिनमा आफुलाई कुनै दुःख कष्ट आएमा उनीहरु हार्दिकताका साथ सहयोग गर्न अघि सर्नेछन् ।

दयालु पन

दयालुपन हामीमा हुनुपर्ने खास गुण हो । आपतमा परेमा, अभावसँग जुधिरहेका, दुःख बिराम भएका, अपहेलित भएका निरिह एवं कमजोर व्यक्तिहरुप्रति आफुले कुन हिसाबले कसरी सहयोग गर्न सकिन्छ त्यही अनुसार काम गर्नुपर्छ । मान्छे मात्र होइन, पशुपंक्षीदेखि रुख–विरुवाप्रति पनि हाम्रो यस्तै सद्भाव हुन जरुरी छ । जब हामीमा दयालुपन रहन्छ, तब नै यहाँ सबैलाई मिलीजुली बाँच्नका लागि सहज हुन्छ ।

अरुलाई सम्मान

हामी अरुबाट सम्मान खोजिरहेका हुन्छौं । अरुले आफुलाई शिष्टतापूर्वक व्यवहार गरोस् भन्ने अपेक्षा राख्छौं । तर, हामी अरुप्रति कस्तो व्यवहार गर्छौं ?

भनिन्छ नि, हामीले अरुलाई जस्तो व्यवहार गर्छौं, हामीले पनि सोही अनुसारको व्यवहार प्राप्त गर्छौं । यदि अरुलाई सम्मान गर्ने, अरुको अस्तित्वलाई स्विकार्ने हो भने हामीलाई पनि उनीहरुले सोही अनुसारको सम्मानित व्यवहार गर्नेछन् ।

अरुको कुरा सुन्ने

धेरैजसो हामी आफ्नो विचार, भावना अरुलाई लाद्ने गर्छौं । हामीले जे सोचेको हो वा जे बुझेको हो, सोही कुरामा अरुले सहमत हुनुपर्छ भन्ने सोच्छौं । जबकी यस किसिमको सोंचले हामीप्रतिको दृष्टिकोण नै बद्लिन सक्छ । त्यसैले अरुको कुरा पनि सुन्नुपर्छ । अरुले के भन्छ ? अरुको धारणा वा विचार के छ ? स्विकार्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment