Comments Add Comment

जनयुद्ध अझै जारी छ !

मोरङका एकजना महिलासँग फेसबुकमा कुराकानी भयो । कुरा हुँदै जाँदा उनले मेरो ठेगाना सोधिन् । मैले भनेँ, रोल्पा ।

खासमा दाङमा बसेको लामो समय भइसकेको छ । दाङमा घर भएकै कारणले ठेगाना दाङ भन्न पनि सक्थेँ । तर, रोल्पा भन्न मलाई गौरव हो जस्तो लाग्यो । रोल्पा फगत एउटा जिल्ला, एउटा भूगोलको नाममात्रै होइन । योसँग नेपालको एउटा सिङ्गो इतिहास जोडिएको छ ।

‘कहाँ हो यो रोल्पा भन्ने ? पूरै विकट ठाउँ होला है ?’ आफैँ प्रश्न राखेर आफैँ उत्तर दिन तम्सिइरहिन्, ‘मकै पनि नउम्रिने भिरमा भाको ठाउँ हो क्या हो ? त्यताका मान्छे त साह्रै सोझो हुन्छन् रे त ।’ उनले भन्न खाजेको ‘सोझो’ खै कुन अर्थमा ठम्याउन सकिनँ ।

०००

जनयुद्धको आदिम भूमि मानिन्छ – रोल्पा, रुकुम । त्यही रुकमबाट केही दिनअघि एउटा अप्रियमात्रै होइन, अमानवीय घटना बाहिर आयो । कथित माथिल्लो जातकी प्रेमिकालाई दुलही बनाउन हिँडेका कथित तल्लो जातका युवामाथि प्रहार भयो । घटनामा ती युवकसहित केहीको मृत्यु भइसकेको छ । केही अझै बेपत्ता छन् ।

सामाजिक सञ्जालमा घटनाप्रति दुःख देखाउँदै गाली बर्साए – रुकुमले जनयुद्धको बेइज्जत ग¥यो । रुकुमले मानवीयता बुझ्न सकेन । थुक्क रुकुमेलीका सोच …. । सामाजिक सञ्जालका भित्ता फोहोर भइरहेका छन् ।

०००

बिहानै एउटा राष्ट्रिय मिडियामा आँखा डुलाइरहेकाबेला दलितका विषयमा गैरदलितले लेखेको लेख सेयर भएको थियो । त्यहाँ लेखिएको थियो, ‘जनयुद्धको पतनपछि गैरदलितमा डर र कानुनी बन्धनले दबाएको जातीय मानसिकता छताछुल्ल भएर आयो ।’

यहाँ वर्णन गर्न खोजिएको विषय विभेदकै हो – भौगोलिक विभेदको । पश्चिम नेपालमा अझै पनि कैयौं कुसंस्कार र कुरीति बाँचिरहेको छ । जातीय, वर्गीय विभेदको डरलाग्दो खाल्डो त्यहीँ छ । त्यही त क्षेत्र हो, तत्कालीन दश वर्षे जनयुद्धले सबैभन्दा प्रभाव पारेको ठाउँ पनि । गरिबी त्यहीँ छ । कुपोषण त्यहीँ छ । रोग त्यहीँ छ ।

कतिपय साथीलाई रोल्पा कहाँ छ थाहा छैन ? रोल्पा, डोल्पामा के फरक छ ? प्युठानको खलंगा र जुम्लाका खलंगामा भिन्नताको भेउ पाउँदैनन् । तर, उनीहरूलाई पश्चिमबारे कोठामै बसेर ‘व्याख्या’ दिनुछ । एउटा विभेदका लागि आवाज उठाउँदै गर्दा अर्को विभेदले जन्म लिनुहुँदैन ।

केही कथित ‘विद्वान’ वर्गको नजरमा पश्चिम सधैं ‘कठै ! बिचरा’ भइरह्यो । यसको पीडा सबैभन्दा बढी कर्णाली प्रदेशले भोगेको छ । जसले सम्मान होइन, सधैं ‘सिम्प्याथी’ मात्रै पाइरह्यो । केही समयअघि सुर्खेतमा ‘कर्णाली उत्सव’मा यसबारे बहस पनि भएको थियो ।

पश्चिम पछि पर्नुमा सबैभन्दा ठूलो दोष त यो राज्य सत्ताकै हो । यसको वर्गीय दृष्टिको हो । काठमाडौं र आसपासलाई मात्रै देश ठानेर बसेका शासकलाई पश्चिम जहिले पनि टाउको दुखाइ बन्छ । जानाजान यो शासकको टाउको दुखाउन कहिले निर्मलाहरू आउँछन्, कहिले नवराजहरू आउँछन् ।

रुकुम घटनामा मारिएका नवराज विकहरूलाई सिर्फ रुकुमले मारेको होइन । यो समाजका प्रवृत्तिमा रुकुम एउटा कारण बन्यो । यो सिंगो नेपाली समाजले गरेको हत्या हो । रुकुम वा पश्चिमलाई गाली गर्दैमा यो समस्याको समाधान हुँदैन । समस्याको जड हाम्रो मानसिकतामै भएपछि रुकुममात्रै दोषी छैन ।

हाम्रो राज्यव्यवस्था नै हत्यारा प्रवृत्तिमा रमाइरहेको छ । यो समाज आदिम समयदेखि जुन विचारमा ‘स्कुलिङ’ हुँदै आइरहेको छ । तिनै विचार र सोच बाहिरिएकोमात्रै हो त्यो घटनामा ।

जातीय, मानवीय विभेदजस्तो जघन्य अपराधमा ऐंठन भूगोललाई दोष थुपारेर हामी चोखो हुन सक्दैनौं । दोष भूगोलको हुँदैन । ठाउँको हुँदैन । ठाउँ, भूगोल केवल ठेगाना हुन् । दोषी ती हुन्, जो राज्यसत्तामा आसीन छन् र ‘समाज पाठशाला’बाटै गलत विचारको उत्पादन गर्न सघाइरहेछन् । सानासाना नानीबाबुहरूको मस्तिष्कमा गलत विचारको बिउ रोपिरहेछन् ।

समाज जहिल्यै कमजोरलाई दबाउन खोज्छ । शासकीय इतिहासमा बाँचेको कथित ठूला जात भनिनेहरू आर्थिक, शैक्षिक र सामाजिक हिसाबले सम्पन्न छन् । तर, जुन समुदाय कथित तल्लो जातको उपमा पाएर उपेक्षामा परिरह्यो ऊ स्वतः कमजोर वर्गमा पर्न गयो ।

जनयुद्धपछि समयमात्रै फेरियो । तर, हाम्रा विचारहरू फेरिन सकेनन् । खासमा फेरिनुपर्ने हामी सबैको राजनीतिक चेत थियो । समाजमा बढिरहेको विभेदको द्वन्द्व यिनैयिनै कुरामा अल्झिएको छ ।

समाज जहिले वर्गीय छ । सुरुमा जात हेर्छ, वर्ग हेर्छ र त्यसपछि औकात देखाउँछ । आफ्नै जातभित्र पनि हैसियत हेरिन्छ । कसको थोरै, कसको धेरै औकात हेरिन्छ । सामाजिक सञ्जालमा ‘समाजवादोन्मुख स्टाटस’ले अहिलेको समय परिर्वतन गर्न गाह्रो छ । मानसिकतामै त्यही एउटै कुरा अल्झिरहेपछि भोलिका हाम्रा सन्ततिलाई के सिकाउने ? के बुझाउने हामीले ? के हामी उनीहरूको यो समयको लज्जित उदाहरण दिएर बस्नु ?

यहाँ न काठमाडौं बस्नेले रुकुमलाई गाली गरेर छुट पाउँछ न पूर्व झापा मोरङका कुनै एक गैरदलितले । यो दोष तिनीहरूको पनि हो, जो प्रत्येक जातीय तथा वर्गीय विभेदका घटनालाई ‘तर, किन्तु, परन्तु, यद्यपि, तथापि’मा तौलेर हेर्छन् । यो दोष उनीहरूको पनि हो जो मौन विरोध÷समर्थन गर्छन् । जातीय विभेदको अन्त्य अब मौनताले मात्रै अन्त्य हुनेछैन ।

कवि स्वप्निल स्मृति रुकुम घटनाको विरोध गर्दै फेसबुकमा लेख्छन्, ‘कथित परिवर्तनका लहरहरू सत्ताको सतह माथिमाथि सुल्किएपछि सामाजिक जडता त ज्यूँका त्यूँ नै रहने भयो । यो जातीय राज्य नै हो त सामाजिक विभेदको संरक्षक, पोषक ।

कसैले सामाजिक राजनीतिक रुपमा आत्मसम्मानसहितको जीवनको दाबी गर्दा अन्धपरम्पराको अरिङ्गाले गोला नवराज विकहरूको ज्यान लिनपछि पर्दैन । के एउटा जड पुस्ता सकिएपछि केही सहज अवस्था निर्माण होला ? त्यसरी सोच्नु विभेदको घाउलाई झुम्रोले छोप्नुमात्र हो । नवराजले व्यक्तिगत रुपमा यो कुहिएको समाजलाई हाँक दिएकै हो । उसको मृत्यु एक उच्च बलिदानी पनि हो ।’

जहाँसम्म जनयुद्धको उद्गम थलोको प्रसङ्ग छ । यो सही छ । नेपालमा जनयुद्धको सुरुवात रोल्पा÷रुकुमबाटै भएको हो । तत्कालीन माओवादीले लिएको परिवर्तनको मुद्दामा विकट भनिएका यिनै ठाउँले अग्रमोर्चामा रहेर साथ दिएका थिए । काठमाडौंका बुद्धिजीवीले नदिएको साथ परिवर्तन होला भनेरै यही विकटका बासिन्दाले दिएका थिए ।

जनयुद्धमा माओवादीले उठाएका मुद्दाहरू सही थिए । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्या समाधान गर्ने उसको मूल एजेण्डा थियो । यो एजेण्डा अहिले पनि उत्तिकै प्रासङ्गिक छ । भलै माओवादी मिसिएको हालका नेकपा डबलले छाडे पनि । अहिले पनि समाज वर्गीय छन् । विभेद छन् र उत्पीडित वर्ग माथिको शोषण हत्यासम्म पुगेको अवस्था छ ।

जनयुद्धको उद्गम थलोमा वैचारिक रुपमा यो समस्या आउन हुन्थेन । रुकुममा विभेद र शोषणका घटना हुनुहुन्थेन । तर, यहाँनिर के बुझ्नु जरुरी छ भने हिजो समानताका नारा दिनेहरू नै आज शोषक र सामन्त बनेका छन् । उनीहरूले नै यो शोषणलीला चलाइराखेका छन् ।

उत्पीडित नागरिक जहिल्यै समानता र न्यायका पक्षमा हुन्छन् । रुकुमा मारिएका दलित युवाको हकमा होस् या कास्कीमा भएको विभेदका घटनामा । नेकपाका नेताहरू विभेदकारीको संरक्षणमा छन् भने उत्पीडित वर्गले आप्mनो चेतना, क्षमता र आप्mनो बलबुताले भ्याएसम्म उत्पीडनको विरुद्धमा छन् ।

राजतन्त्र समापनपश्चात जन्मिएका नवसामन्तको विरोधमा खुलेर उत्रिन नसक्नेहरूको मनमा पनि विद्रोहका ज्वारभाटा चलिरहेकै हुन्छन् । यो विद्रोह माओवादीले जनयुद्ध सुरु गर्नुभन्दाअघि पनि थियो र पछि पनि छ । जबसम्म समाजमा विभेद भइराख्छ, विद्रोह पनि भइराख्छ । माओवादीले जनयुद्धमा यो विद्रोहलाई संगठित गरेको थियो । आज माओवादी विघटन भएको छ । परिवर्तनका मुद्दा अलपत्र छन् ।

तर, मुद्दाहरू बाँकी छन् । झनै पेचिला बनेका छन् । समाज परिवर्तन गर्छु भन्ने नयाँ होस् या पुराना । राजनीतिक दलहरूले नै यी समस्याको समाधान दिनुपर्छ । किनकि यो सामाजिक÷राजनीतिक मुद्दा हो । जनयुद्धका हिजोका कमाण्डर पतन÷समाप्त भयो भन्दैमा लडाइँ सकिएको भन्ने हुँदैन ।

जबसम्म मुद्दा बाँकी रहिरहन्छ तबसम्म त्यो लडाइँ जारी रहन्छ । लडाइँमा एक÷दुई जनाले गद्दारी गर्न सक्लान् । तर, सत्ताभन्दा माथि मुक्ति ठान्नेहरूले यो लडाइँ जारी राख्नेछन् । यस अर्थ आज पनि जनयुद्ध जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment