Comments Add Comment

बन्दाबन्दीको स्वरुपलाई परिवर्तन गर्ने कि ?

वैश्विक महामारी कोभिड १९ सँग जुध्नको लागि नेपालले चैत्र ११ गतेबाट सुरु गरेको बन्दाबन्दी तेस्रो महिनामा प्रवेश गरिसकेको छ । यद्यपि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । चीनमा लकडाउन सुरु भएको ७६ औं दिनपछि जनजीवन सामान्य भएको थियो । यद्यपि नेपालमा भने कोरोना संक्रमणको मिटर प्रतिदिन बढिरहेको छ । सरकार कोरोनाको पहिचान, रोकथाम, उपचार र नियन्त्रणमा संवेदनशील नदेखिएको आरोप स्वास्थ्यसँग सम्बन्धित जानकारहरूलगायत विपक्षी राजनीतिक दलहरूले समेत लगाएका छन् । मापदण्डअनुसार क्वारेन्टिनहरू नभएको, क्वारेन्टिनमा अत्यधिक चाप, परीक्षण किटको अभावका कारण समयमा परीक्षण नभएको, उपचारका लागि पर्याप्त आइसोलेसन बेडहरूको व्यवस्थापन नभएकोलगायतका यावत समस्याहरू देखिन्छन् । पछिल्ला दिनहरूमा परीक्षण गर्ने किटको अभावले परीक्षण गर्न नपाउँदै मृत्यु भएको, क्वारेन्टिनबाट भागेका, भाग्न खोजेका, बस्न नमान्नेजस्ता तीता घटनाहरू पनि देखिए । यी यावत समस्यालाई समाधान गर्दै तीनै तहका सरकारहरू महामारीविरुद्ध युद्धस्तरमा लाग्नुपर्ने देखिन्छ ।

नेपालको सन्दर्भमा कोभिड १९ को प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन छैन । छिमेकी राष्ट्र भारतमा संक्रमणको संख्या करिब दुई लाख पुग्न लागेको देखिन्छ । भारतमा रोजगारीका लागि गएका नेपाली दाजुभाइहरू फर्किने क्रम बन्द नभएसम्म संक्रमितको संख्या घट्ने सम्भावना देखिँदैन । पछिल्ला दिनहरूमा भारतसँग सीमा जोडिएका जिल्लाको क्वारेन्टिनहरूमा अत्यधिक चाप बढिरहेको देखिन्छ । बढ्दो चापलाई न्यूनीकरण गर्ने एकमात्र उपाय क्वारेन्टिनमा ल्याउनेबित्तिकै सबैको पीसीआर परीक्षण गर्ने, नतिजाको आधारमा पोजेटिभ भएमा उपचारका लागि तुरुन्त पठाउने, नेगेटिभ छ भने सम्बन्धित व्यक्तिहरूलाई सम्बन्धित पालिकाहरूले घरमा पुर्‍याउने व्यवस्था गर्ने । समयमा परीक्षण नभएको कारणले भारतबाट आउने नेपालीहरू नेपालको सीमा नजिकका क्वारेन्टिनहरूमा केही समय बस्नुपर्ने र त्यसपछि सम्बन्धित व्यक्तिको पालिकाका क्वारेन्टिनमा बस्नुपर्ने पीडा पनि भोग्नुपरेको अवस्था छ ।

नेपाल सरकारले जेष्ठ २० गतेसम्म गरेको बन्दाबन्दीको समय पुन: जेठ ३२ गतेसम्मलाई थपेको छ । बन्दाबन्दीको समय बढिरहँदा स-साना उद्यमीहरू, दैनिक ज्यालादारी गर्ने मजदुरहरू, विपन्न वर्गहरू आक्रान्त भएका छन् । उद्योग व्यवसायहरू, होटल, पर्यटनलगायत आर्थिक उपार्जनका सबै क्षेत्रहरू ठप्प छन् । जसको प्रभाव नेपालको अर्थतन्त्रमा नराम्रोसँग परेको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रह्यो भने नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने एडीबीको अनुमान छ । राष्ट्र बैङ्कले पनि बन्दाबन्दीबाट नेपालको अर्थतन्त्रमा एक खर्बभन्दा बढी रकमको क्षति भइसकेको तथ्यांक सार्वजनिक गरेको छ ।

लकडाउनका कारण अस्तव्यस्त, उकुसमुकुस अवस्थालाई सहज र खुकुलो पार्न लकडाउनका स्वरुपहरूमा परिवर्तन गर्नुपर्छ भन्ने धारणा पनि व्यक्त भएका छन् । यद्यपि सरकार स्वयं पनि लकडाउन खुकुलो बनाउनेमा सकारात्मक देखिएको छ । छिमेकी राष्ट्र भारतले पनि श्रमिकहरूलाई पठाउन रेल्वे सेवा, लामो दुरीको बससेवा खोलेको अवस्था छ भने आन्तरिक हवाई उडान पनि खोलिएको छ । भारतले जुन ८ देखि धार्मिक स्थल, होटेल ,रेस्टुरेन्ट तथा सपिङ मलहरू खोल्न अनुमति दिइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ को प्रभाव ९ महिनादेखि ३६ महिनासम्म जान सक्ने आकलन छ । नेपालको परिपेक्ष्यमा यो महामारी कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन । अत: विषम परिस्थितसँग जुध्न लकडाउन अनिवार्य छ । यस सँगसँगै यसका स्वरुपहरूमा निम्नानुसार परिवर्तन गर्ने कि ?

१. हालसम्म कोरोना संक्रमण नदेखिएका जिल्लाहरुलाई हरियो वा सुरक्षित क्षेत्रमा, थोरै संक्रमण देखिएका जिल्लाहरूलाई पहेँलो क्षेत्र र संक्रमितको संख्या धेरै देखिएका तथा भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई रातो एवं अतिसंवेदनशील क्षेत्रको रुपमा राख्ने । यदि कुनै ठाउँमा संक्रमणको संख्या उदयपुरको भुल्के, बाँकेको नरेनापुरमा जस्तै अत्याधिक बढ्न गएमा त्यो क्षेत्रलाई हटस्पट एरिया तोक्ने । सरकारले एरियाअनुसार कुन-कुन सेवा सञ्चालन गर्ने, नगर्ने सम्बन्धमा निर्देशन जारी गर्ने, कोरोना संक्रमितको संख्याको आधारमा क्षेत्रहरूमा थपघट गर्दै जाने ।

२. निजी सामुदायिक स्कुल, कलेज, फिल्महल, फिटनेस सेन्टर, स्विमिङ्पुल, सैलुन, स्पा-सेन्टर, होटलहरू सबै क्षेत्रहरू पूर्णरुपमा बन्द गर्ने । तर, हरियो क्षेत्रमा स्वास्थ्य सतर्कता तथा सामाजिक दुरी कायम गरी स-साना चमेनागृह, होटलहरू सञ्चालन गर्न सकिने ।

३. लामो दुरीका सवारी साधनहरू जनजीवन सामान्य नहुन्जेलसम्म सबै क्षेत्रमा बन्द गर्ने । तर, उद्योग व्यवसायमा काम गर्ने मजदुरहरू ओसारपोसार गर्नुपर्ने भएमा आवश्यक सतर्कता अपनाई, दुरी कायम गरी सेवा प्रयोग गर्न सकिने ।

४. कृषिसँग सम्बन्धित प्रयोग हुने यातायातका साधनहरू, एग्रो सेन्टर, कृषि सामग्री बिक्री गर्ने व्यवसायहरू जुनसुकै एरियामा पनि आवश्यक स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाई सुचारु राख्ने ।

५. मालवाहक सवारी साधनहरूलाई सवारी चालक र सहयोगीलाई आवश्यक सुरक्षा सतर्कता अपनाई सबै क्षेत्रहरूमा सञ्चालन गर्न दिने ।

६. बैङ्क तथा वित्तीय संस्थाहरूको सम्बन्धमा हरियो क्षेत्रमा पूर्ण रुपमा सञ्चालन गर्ने अन्य जोनमा भने हप्तामा निश्चित दिन तोकी सञ्चालनमा ल्याउने ।

७. हरियो क्षेत्रभित्र मात्रै सवारी साधानहरू, उद्योग व्यवसायहरू निर्वाधरुपमा आवश्यक सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने ।

८. चालु वर्षको अन्त्यमा बजेट कार्यान्वयनलगायतका कामहरू गर्नुपर्ने भएकोले हरियो तथा पहेँलो क्षेत्रका सबै सरकारी कार्यालयहरू पूर्ण रुपमा खोल्ने । रातो क्षेत्रका लागि कुल कर्मचारीको ५० प्रतिशतमा नबढ्ने गरी कर्मचारीहरूको रोटेसन मिलाइ कार्यालय सञ्चालन गर्ने ।

९. निजी सवारी साधनहरू (मोटरबाइकमा एकजना मात्रै) जिप तथा कारहरूमा आवश्यक दुरी तथा सुरक्षा सतर्कता अपनाई हरियो तथा पहेँलो क्षेत्रमा चलाउन दिने । रातो क्षेत्रमा सुरक्षा सतर्कता अपनाई जोर बिजोर प्रणाली लागु गर्ने ।

१०. उद्योग व्यवसायहरूलाई आवश्यक सुरक्षा सावधानी अपनाई दुरी कायम राखी निर्वाध रुपमा सञ्चालनमा ल्याउने । यस्ता उद्योगहरूमा काम गर्ने मजदुरहरू घरमा गएको अवस्थामा सम्बन्धित जि.प्र.का.को समन्वयमा ल्याउन पहल गर्ने व्यवस्था मिलाउने ।

११. जुनसुकै क्षेत्रका सपिङ मल, डिपार्टमेन्टल स्टोरहरू भिडभाड नहुने गरी आवश्यक सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने ।

१२. संक्रमितको संख्या नघटुन्जेल आन्तरिक हवाई उडान बन्द गर्ने तर परिस्थितिको सही आकलन गरेर अवस्था हेरी आन्तरिक उडान सेवा सुचारु गर्न सकिने ।

१३. बाह्य हवाई उडानहरू तत्काललाई पूर्णरुपमा बन्द गर्नुपर्ने ।

१४. काठमाडौं उपत्यकालाई हाल पहेँलो क्षेत्रको रुपमा राख्ने । उपत्यकाका सम्पूर्ण नाकाहरूलाई सिल गर्नुपर्ने, प्रत्येक नाकामा चेकजाँच, क्वारेन्टिनको व्यवस्था हुनुपर्ने । काठमाडौं जानका लागि दिइने पासमा कडाइ गर्ने ।

१५. काठमाडौंमा सवारी साधनको हकमा ठूला बसहरूमात्र आवश्यक सतर्कता तथा दुरी कायम राखी सञ्चालन गर्ने । स -साना सवारी अटो, टेम्पो, टेक्सी, पूर्ण रुपमा बन्द गर्ने, निजी सवारी साधनहरूलाई ( मोटरबाइकमा एकजना मात्रै ) जोरबिजोर प्रणालीमार्फत् सञ्चालन गर्न दिने ।

१६. विकास पूर्वाधार निर्माणसम्बन्धी कार्यहरू जस्तै बाटो, पुल, ढल, खानेपानी आयोजनाहरू, नहर आदि जुनुसुकै क्षेत्रहरूमा पनि निर्वाध रुपमा आवश्यक सतर्कता अपनाइ सञ्चालन गर्ने ।

१७. पहेँलो तथा रेड एरियाहरूमा भिडभाड नहुने गरी निश्चित रोटेसन मिलाए व्यापार, व्यवसायहरू सञ्चालन गर्नको लागि सम्बन्धित उद्योग व्यापार संघ, संगठनलाई जिम्मा दिने ।

१८. भिडभाड गराए, नगराएको आवश्यक सतर्कता अपनाएनअपनाएको अनुगमन तथा नियन्त्रण र कारबाही गर्नको अनुगमन टोली गठन गरिनुपर्ने ।

उपरोक्त सल्लाह सुझावहरू पङ्क्तिकारका नित्तान्त व्यक्तिगत विचारहरू हुन् । खासगरी यो लेख लकडाउन कस्तो मोडेलमा गर्ने भन्ने शीर्षक भएकोले पनि सल्लाह सुझावको लागि उल्लेख गरिएको हो । संक्रमण बढिरहेको अवस्थामा लकडाउन नथप्नुको विकल्प छैन तर यसलाई कसरी प्रभावकारी गराउन सकिन्छ जसले गर्दा अर्थतन्त्र पनि बिस्तारै चलायमान होस् ।

क्वारेन्टिनमा बसेका सबैलाई पीसीआर प्रविधिबाट नै परीक्षण गर्ने व्यवस्था अवलम्बन गर्नुपर्छ । होइन भने बिरामी पहिचान नहुँदै मृत्यु हुनुपर्ने अर्को लज्जित अवस्था देखिन सक्छ ।

यद्यपि सरकारले पनि गृहकार्य गरिरहेको छ । कोभिड-१९ पहिचान, उपचार, नियन्त्रणका सम्बन्धमा हालसम्म भए गरेका कार्यहरूबाट तीनवटै सरकारहरूले पृष्ठपोषण लिनुपर्ने देखिन्छ । पछिल्ला दिनहरूमा सीमा क्षेत्रसँग जोडिएका जिल्लाहरूका क्वारेन्टिनमा अत्याधिक चाप देखिएको छ । यो क्रम कहिलेसम्म चलिरहन्छ भन्न सक्ने अवस्था छैन । समयमा परीक्षण नभएर परीक्षण अगावै मृत्यु भएका तीता उदाहरणहरू छन् । राज्यले परीक्षणको दायरा ठूलो बनाउनुपर्‍यो । क्वारेन्टिनमा बसेका सबैलाई पीसीआर प्रविधिबाट नै परीक्षण गर्ने व्यवस्था अवलम्बन गर्नुपर्छ । होइन भने बिरामी पहिचान नहुँदै मृत्यु हुनुपर्ने अर्को लज्जित अवस्था देखिन सक्छ । यद्यपि सरकारले आरडीटी परीक्षणमा होइन पीसीआर परीक्षणमा मात्रै जोड दिनुपर्नेमा जनस्वास्थ्यविद्हरू पनि भनिरहेको अवस्था छ । वर्षायामको समय सुरु हुन लागेको छ क्वारेन्टिनलाई अझै व्यवस्थित बनाउन, गराउन तीनवटै सरकारहरू सक्रिय हुनुपर्ने देखिन्छ । संक्रमित बिरामीको संख्या बढेसँगै उपचारको लागि बेडहरूको संख्या थप्नेतर्फ पनि ध्यान जानु जरुरी छ । अर्को ठूलो समस्या कोरोनाभन्दा अन्य रोगबाट धेरै मानिसहरू मर्नसक्ने सम्भावना रहेको जानकारहरू बताउँछन् । जसका लागि सहज उपचारको व्यवस्था गराउनुपर्ने देखिन्छ । बाल बच्चा, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती सुत्केरी महिलाहरूको उपचारमा पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ । आम नागरिक पनि सजक र संयमित हुन जरुरी छ । भारतबाट आउँदा तोकिएको सीमा नाका मात्र प्रयोग गर्ने, परीक्षणको नतिजा नआउन्जेल क्वारेन्टाइनमा अनुशासित भएर बस्ने, आवश्यक कामका लागि मात्र घरबाट एकजना मात्रै निस्कने, अनावश्यक काममा बाहिर ननिस्कने, दैनिक प्रयोगको लागि चाहिने सामान कम्तीमा एकहप्ताका लागि व्यवस्थापन गर्ने, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउने, भिडभाडमा नजाने नगराउने, महामारी पहिचान, रोकथाम, उपचारमा प्रत्यक्ष संलग्न हुने सबैलाई सहयोग, उत्प्रेरणा दिने आदि । अन्त्‍यमा वैश्विक रोगबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं ।

(लेखक व्यवस्थापन विषयसँग सम्बन्धित छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment