
२४, जेठ, चितवन । सरकारले ठूला आयोजनाहरुको काम अघि बढाउन आवश्यक समन्वय गरेको बताइरहे पनि नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम अघि बढ्न सकेको छैन ।
ठेेकेदारले काम नगर्दा सडक विस्तार काम लगभग रोकिएको छ । आयोजना पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आफूहरुले काम अघि बढाउन ठेकेदारलाई आवश्यक समन्वय गरे पनि काम सहज रुपमा अघि बढ्न सकेको छैन ।
आयोजनाको पूर्वी खण्डको भेडाबारीमा सामान्य कल्भर्टको काममा ठेकेदार भुलिरहेको देखिन्छ । अन्यत्र खासै काम भएको छैन । कामदार पनि निकै कम छन् ।
ठेकेदारले कामको गति बढाउने रुची देखाएको छैन । अति नै न्यून जनशक्ति राखेर अति सामान्य काम मात्रैं गरिरहेको छ ।
काम पुरै बन्द गरेको अवस्था पनि छैन, गति पक्डिएको अवस्था पनि छैन, आयोजना प्रमुख अधिकारीले भने, कामदार र सामाग्रीको अभाव देखाएर काम ढिला भएको छ ।
आफूहरुले कामदारको व्यवस्थापन र सामाग्रीका संकलनका लागि निरन्तर प्रयास गरिरहेको तर ठेकेदारले खास रुची नदेखाउँदा समस्या भएको अधिकारीले बताए ।
कामको अवस्थाका बारेमा विभागसमेत जानकारी गराइएको छ । लकडाउनका कारणले काम गर्न नपाएको गुनासो विगतमा ठेकेदारबाट आएको भए पनि अहिले सरकारले काम सुरु गर्न आवश्यक प्रवन्ध गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ ।
११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडक विस्तारको काम निकै सुस्त छ ।
‘सडकको पोल सार्ने र रुख कटान गर्न सकिन्छ कि भनेर पनि पहल गरियो, तर ठेकेदार नै नतातेपछि हामीले के गर्न सकिन्छ र ?,’ आयोजना प्रमुख अधिकारीले भने, ‘काम गर्ने स्पेसहरु पर्याप्त छन्, र पनि काम भएन ।’
गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ बनाएर ठेक्का लगाइएको थियो ।
दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा नै काम खासै नभएकोले पश्चिम खण्डमा झनै काम भएको छैन ।
यस्तै अवस्था रहे असोज, कार्तिकअघि कामले गति लिन नसक्ने अवस्था आएको आयोजनाको पूर्वी खण्डका प्रमुख अधिकारीले बताए ।
सडकको पूर्वीखण्डमा पर्ने ९ ठूला पुलमध्ये ३ वटाको काम तत्कालै अघि बढाइने भनिए पनि काम अघि बढेको छैन । सन् २०२० मा पाँच पुल सुरु गर्ने तालिका भए पनि केही प्रभावित भएकोले तत्काल तीनबाट सुरु गर्ने योजनासमेत अलपत्र परेको छ ।
कोवासोती पूर्व र पश्चिममा एक/एक वटा तथा लोकाहा खोलामा पुलको काम सुरु गर्ने भनिएको थियो । तर दुबै काम अघि बढेको छैन ।
काम गर्ने कामदारहरुलाई क्वारेन्टाइनमा राखेर काम गराउन सकिने भए पनि ठेकेदार कम्पनीले रुची देखाएको छैन ।
पश्चिमी खण्डमा साना, मध्यम, ठूला पुल, कल्भर्ट गरी २७६ संरचना बन्छन् । यहाँ ९ ठूला पुल बन्ने छन् । सडकखण्ड बिस्तारमा क्रममा केही रुखहरु काट्ने अझै बाँकी छ ।
यसअघि सामुदायिक वन उपभोक्ता समितिका केही सदस्यहरुले काँटिएका रुख सरकारको नभई समुदायको हुने भन्दैं अवरोध खडा गरेपछि कामसमेत प्रभावित बनेको थियो । सडक विस्तारका क्रममा पूर्वी र पश्चिम दुवै खण्डमा गरी ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ ।
२०७५ पुषमा ठेक्का सम्झौता भएर सोही बर्ष चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलेे सडक बिस्तारको शिलान्यास बुटलबमा गरेका थिए । एसियाली विकास बैंकको ऋण सहयोग बिस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।
२०८० साउन २२ गतेसम्ममा (साँढे तीन वर्ष) निर्माण सकिसक्नुपर्ने सडकको गैंडाकोट(दाउन्नेखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4