Comments Add Comment

बालबच्चालाई सिकाउनैपर्ने यी आनीबानी, जसले निरोगी र खुसी बनाउँछ

हामी कामना गर्छौं, आफ्ना बालबच्चा सधैं निरोगी होस्, तन्दुरुस्त होस् । बलियो र फूर्तिलो होस् । जब कोही रोगमुक्त हुन्छन्, खुसी स्वतः प्राप्त हुन्छ।

आफ्नो बालबच्चा कसरी निरोगी हुन्छन् ? कसरी जीवनभर खुसी हुन्छन् ? यसका लागि अनुशासित जीवनशैली र खानपान नै मुख्य कुरा हो । जब बच्चाले अनुशासित जीवनशैली पालना गर्छन्, सोही अनुरुप खानपान गर्छन् । उनीहरूमा रोगको जोखिम कम हुन्छ । किनभने अहिले अधिकांश रोगको कारण खराब जीवनशैली नै देखिएको छ । खासगरी नसर्ने रोगहरू खराब जीवनशैलीले निम्त्याउने गरेको पाइन्छ। अहिले यस्ता रोगले बुढाबुढी, वयस्क मात्र होइन, युवा र किशोरसम्मलाई गाँज्दैछ।

त्यसैले सानो उमेरदेखि नै अनुशासित जीवनशैलीमा अभ्यस्त गराइयो भने उनीहरू यस्ता जोखिममा पर्दैनन् । जस्तो कि उठ्ने, सुत्ने, खाने, बस्ने, खेल्ने, व्यायाम गर्ने । सानैदेखि अनुशासित जीवनशैलीमा अभ्यस्त हुन्छन् र जीवनभर त्यसलाई अँगाल्छन् ।

चाँडै उठ्ने

धेरैजसो बच्चा बिहान अबेर उठ्ने गर्छन् । अहिले त मोबाइल, ल्यापटप आदिको लतले गर्दा रातभर बस्ने बानी परेको छ। उनीहरू रातभर बस्ने र बिहान अबेरसम्म सुत्ने गर्छन् ।

बच्चामा यस्तो खराब बानी उचित हुँदैन । बरु उनीहरूलाई राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने कुरामा अभ्यस्त गराउनुपर्छ। यसका लागि एउटा सुत्ने र उठ्ने निश्चित तालिका तय गर्न सकिन्छ । बिहान चाँडै उठेपछि उनीहरूले ताजा हावामा सास फेर्न पाउँछन् । आफूलाई ताजा महसुस गर्छन् । साथसाथै लेखपढ गर्नका लागि पनि बिहानको समय निकै अनुकूल मानिन्छ ।

उठेपछि मनतातो पानी

ओछ्यान छाड्नसाथ उनीहरूलाई मनतातो पानी पिउने बानी गराउनुपर्छ । बिहान अनिवार्य रुपमा पानी पिउनैपर्छ । यसले पाचन यन्त्रलाई बलियो बनाउन सहयोग गर्छ। साथै शरीरका अन्य अंगहरूलाई सक्रिय गराउँछ ।

उठ्नसाथ मनतातो पानी पिउन

सानै उमेरदेखि स्वस्थ दिनचर्या कसरी अँगाल्ने भन्ने कुरामा अभ्यस्त गराउन सकियो भने त्यसले जीवनभर फाइदा पुर्‍याउँछ । बच्चालाई चाँडै उठाउने र उठ्नसाथ मनतातो पानी पिउने बानी गराउनुहोस् । बिहान उठ्नसाथ पिउने पानी शरीरको लागि लाभदायक छ । यसले शरीरका अंगहरूलाई सक्रिय गराउँछ

शौचालय जान

बालबच्चाहरूलाई कुन समयमा दिसापिसाब गराउने भन्ने कुरामा आमाबुबाले उति ख्याल गरिरहेका हुँदैनन्। कहिलेकाहीँ त खेल्ने चक्करमा बालबच्चाले दिसापिसाब आएर पनि रोकेर राख्छन् । सही समयमा दिसा पिसाब गर्ने बानी हुँदैन ।

सानै उमेरदेखि उनीहरूलाई निश्चित समयमा दिसापिसाब गराउने बानी गराउन सकिन्छ । अतः बिहान उठेपछि शौचक्रिया सकेर मात्र अरू गतिविधिमा लगाउनु उपयुक्त हुन्छ ।

योग र व्यायाम 

बच्चाको शरीर लचिलो हुन्छ । यही उमेरदेखि योग तथा व्यायाम गर्न सिकाउनु बढी प्रभावकारी हुन्छ । नियमित योग एवं व्यायाम गर्‍यो भने उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता त बढ्छ नै, पढेको कुरा पनि स्मरण गर्न सहज हुन्छ । सानै उमेरमा योग, व्यायाम, ध्यान गर्न सिकायो भने उनीहरू खराब लतमा लाग्ने भय पनि रहँदैन ।

बिहानको नास्ता

बिहानको नास्ता शारीरिक स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । नास्तामा ताजा खानेकुरा नै चाहिन्छ । फलफूल वा उसिनेको खानेकुरा दिनुपर्छ । जस्तो कि, चना, आलु, अण्डा। मौसमअनुसार फलफूल । साथै सलाद पनि समावेश गर्न सकिन्छ।

आफ्नो काम आफैँ गर्न प्रेरित गरौं

बच्चालाई आफ्नो कामका लागि अरूमा निर्भर रहने बानी हटाउनुहोस् । कापी–किताब मिलाउने, आफ्नो पहिरन लगाउने, हातखुट्टा धुने, खानेकुरा खाने, खेलौना मिलाउने जस्ता काम बच्चालाई गर्न दिनुहोस् । यसले उनीहरूले श्रमको महत्व त बुझ्छन् नै, तपाईं‌ अतिरिक्त झण्झटबाट पनि मुक्त हुनुहुनेछ । साथसाथै बच्चा शारीरिक रुपमा तन्दुरुस्त हुन्छन्

ताजा खानेकुरा खान

बच्चालाई जंकफुडको लतबाट मुक्त गराउनुपर्छ । कति अभिभावकले छिटो, छरितो खानेकुराको रुपमा बच्चालाई जंकफुड दिने गर्छन् । यसले उनीहरूलाई रोगी बनाउँछ । त्यसैले बच्चालाई सानै उमेरबाट ताजा, स्वस्थ्य खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।

उनीहरूलाई मीठो खुवाउनेभन्दा पनि स्वस्थकर खानेकुरा खुवाउने बानी गरौं । किनभने बच्चाको जिब्रोलाई जस्तो खानेकुरामा बानी पार्‍यो, त्यसैमा स्वाद भिज्छ। सकेसम्म उसिनेको खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।

घाम डुब्नुअघि खाना खान र चाँडै सुत्न

उनीहरूको खाना खाने तालिका नियमित गराउनुहोस् । ठिक-ठिक समयमा खानेकुरा खान अभ्यस्त गराउनुपर्छ । रातको खाना घाम डुब्नुअघि नै खान अभ्यस्त गराउनुपर्छ । यसले उसको पाचनयन्त्रमा नराम्रो असर पर्दैन । खाना खाएको केही समयपछि मात्र सुत्न दिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment