Comments Add Comment

लकडाउनमा अलपत्र पर्यटकसँग गृहले उठायो भिसा शुल्क

आलोचनापछि निर्णय फिर्ता लिने तयारी

Photo Credit : फाइल फोटो

२ असार, काठमाडौं । ‘विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं, तपाईंहरूले नेपालमा फसेका हाम्रा नागरिकलाई किन भिसा  शुल्क लगाइरहनु भएको छ ?’ अध्यागमन विभाग र पर्यटन बोर्डका अधिकारीहरूले सोमबार र मंगलबार नेपालस्थित विदेशी दूतावासबाट बारम्बर यस्ता प्रश्नको समाना गर्नुपर्‍यो।

गृह मन्त्रालयले नेपालमा थुनिएका पर्यटकको भिसा नवीकरण गर्दा अध्यागमन विभागमार्फत पुरानो नियमअनुसार नै भिसा शुल्क उठाउन थालेपछि विदेशस्थित दूतावासहरूले यस्तो प्रश्न लिएर गृह धाउन थालेका हुन् ।  जरिवानाबापतको राजस्वको लोभमा अप्ठ्यारोमा परेका विदेशीहरूसँग जरिवाना असुल्ने क्रम चुलिएपछि नेपालमा रहेका विभिन्न देशका दूतावासहरूको नेपाल सरकारको नीतिको आलोचना गरेका छन् ।

करिब तीन महिनासम्म नेपालमा रोकिँदा बेखर्ची बनेका पर्यटनसँग असार १ र २ गते भिसा नवीकरण गर्दा विभागले दैनिक ३ डलरका दरले भिसा शुल्क उठाएको हो। यसअघि गृह मन्त्रालयले लकडाउनको अवधिमा भिसा सकिने पर्यटकसँग लकडाउन खुलेको ७ दिनसम्म विनाकुनै शुल्क तथा जरिवाना भिसा नवीकरण गर्ने निर्णय गरेको थियो ।

विगतमा जरिवाना नलिनेबारे दिइएको सूचना

तर लकडाउन लम्बिएपछि गृहले नेपालमा थुनिएका पर्यटकबाट पैसा उठाउने एक जुक्तिस्वरुप विलम्ब शुल्क र जरिवाना नलिने तर, भिसा शुल्क लिने निर्णय गर्‍यो ।

नकारात्मक सन्देश गयो- पर्यटन बोर्ड

सो निर्णयले आफूहरू मर्कामा परेको भन्दै पर्यटकले सम्बन्धित दूतावास, पर्यटन बोर्ड र अन्य निकायमा गुनासो गरे । नेपालमा तीन महिनाभन्दा लामो समयदेखि थुनिएका पर्यटकसँग दुई दिनसम्म अध्यागमनबाट पैसा उठाउन लागिएपछि पर्यटन बोर्डमा धेरै गुनासा आएका छन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्यय रेग्मीका अनुसार लकडाउनपछि आफ्नो मुलुकले उद्धार नगरेका, नेपाल नै सुरक्षित छ भनी यतै रोकिएका, चार्टर्ड उडानको टिकट काट्न नपाएका विदेशीहरू नेपालमा छन् । यसको यकिन तथ्यांक नभए पनि १२ देखि १५ सय हाराहारी विदेशी पर्यटक नेपालमै रोकिएको उनले जानकारी दिए ।

बेखर्ची भएर रोकिएका पर्यटकसँग सरकारले नै पैसा उठाउन थालेपछि नकारात्मक सन्देश प्रवाह भएको सीईओ रेग्मीले बताए ।

‘हामीले पर्यटकको भावनालाई बुझेर रकम नउठाउन आग्रह गरेका हौं,’ उनले भने, ‘संकटका बेला जरिवाना लगाउने होइन, अहिले खुसी बनाएर राख्ने हो, सबै ठिकठाक भएपछि त पर्यटक आफैँले खर्च गरिहाल्छन् नि ।’

अब लिन्नौं : अध्यागमन

व्यापक गुनासो र आलोचनापछि भने गृहमन्त्रालय आफ्नो निर्णयबाट पछि हट्ने तयारी गरेको छ । अध्यागमन विभागका महानिर्देशक  रमेशकुमार केसीले आजै मन्त्रालयले ‘साविक कै निर्णयअनुसार गर्ने’ निर्णय भएको जानकारी दिएका छन् ।

‘आज मन्त्रीस्तरीय निर्णयबाट साविकमा भएकै निर्णयअनुसार गर्ने भन्ने आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘भोलिबाट हामी कुनै पनि प्रकारको शुल्क नलिई पर्यटकको भिसा नवीकरण गर्छौं ।’

मानवीयताका हिसाबबाट पनि थुनिएका पर्यटकसँग जरिवाना लिनु उचित नहुने भएकाले मन्त्रालय साविककै निर्णयमा फर्किने उनको भनाइ छ। अब बढीमा सात दिनसम्म विभागले विनाकुनै शुल्क भिसा नवीकरण गर्ने भएको छ ।

तर लकडाउन सुरु भएको ११ चैतभन्दा अगाडि नै भिसा अवधि सकिएका तर आफ्नै लापरवाहीले नवीकरण नगरेका विदेशी नागरिकको हकमा भने नियमअनुसार नै हुने महानिर्देशक केसीले जानकारी दिए ।

यो ट्राभल भिसामा आएकाको हकमात्रै होइन अन्य प्रयोजनका आएका व्यक्तिको हकमा समेत नियमानुसार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment