Comments Add Comment

सापेक्षतावादको सिद्धान्त : ४२ वर्षको बुबा ९० वर्षकी छोरी !

छोरी १२ वर्षकी हुँदा पृथ्वीमा छाडेर तीन वर्षका लागि अन्तरिक्ष गएका जोसेफ फर्केर आउँदा उसकी छोरी मर्फ ९० वर्षकी भइसकेकी हुन्छे । बुबा भने मात्र ४० बाट ४२ वर्षका हुन्छन् । हेर्दा बुबा अझै तन्नेरी हुन्छन्, छोरी भने अस्पतालमा अन्तिम सास फेरिरहेकी बुढी भइसकेकी हुन्छे । अन्तरिक्ष यात्राको एउटा यस्तै आश्चर्यजनक कथा हो क्रिष्टोफर नोलनद्वारा निर्देशित अंग्रेजी चलचित्र ‘इन्टरस्टेलर’।

फिलिम हेर्दा भौतिक विज्ञान पढिरहेको जस्तो लाग्न थाल्छ । आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्त आँखै अगाडि कथा बनेर अन्तरिक्ष उडानमा निस्किन्छ।

विशेष सापेक्षतावादको सिद्धान्तले समयको एउटा पृथक व्याख्या गर्छ। हामीलाई लाग्न सक्छ समय त सबैका लागि बराबर हुन्छ तर यस सिद्धान्तले समयको गति पनि फरकफरक ठाउँमा फरकफरक हुन्छ भन्ने कुराको पुष्टि गर्छ।

जस्तोसुकै अवस्थामा पनि प्रकाशको गति स्थिर रहने कुरा पत्ता लागेपछि आइन्स्टाइनको मस्तिष्क खल्बलियो । त्यसपछि मात्र उनले प्रकाशको गति हरेक अवस्थामा स्थिर भए दुरी र समय बदलिने निष्कर्ष निकाले । आजसम्मको विज्ञानका अनुसार संसारमा प्रकाशको गतिभन्दा छिटो अरू केही छैन र प्रकाशको गतिस्थिर छ ।

त्यसैले प्रकाशको गतिको आसपास कुदिरहेको यानमा वा गुरुत्वाकर्षण अनन्त भएको ‘ब्ल्याक होल’ नजिकको स्थानमा रहेको समय अन्य ठाउँमा बिस्तारै चल्छ। सिद्धान्तमा कल्पना गरिएअनुसार प्रकाशको गतिमा आसपास कुद्ने यान भने आजको दिनसम्म बनाउन सम्भव हुने देखिन्न । समय सुस्त हुने यस प्रक्रियालाई आइन्स्टाइनले ‘टाइम डाइलेसन’ भनेका छन् ।

यदि कुनै जुम्ल्याहा सन्तानमध्ये एक जनालाई प्रकाशको गतिमा कुद्ने यानमा राखेर एक वर्षका लागि अन्तरिक्षमा पठाइयो भने फर्केर आउँदा पृथ्वीमा भएको सन्तान अन्तरिक्षमा गएको सन्तानभन्दा एकदमै धेरै बुढो भइसकेको हुन्छ।

पृथ्वीको तुलनामा अन्तरिक्षमा पुगेको यानमा समय एकदम सुस्त चल्ने भएकाले यस्तो परिणाम देखिन्छ । समयको यो अन्तरविरोधलाई आइन्स्टाइनले ‘ट्विन प्याराडक्स’ भनेका थिए । चलचित्र ‘इन्टरस्टेलर’ मा पनि यस्तै हुन्छ। बुबाभन्दा छोरी धेरै बुढी भइसक्छे ।

चलचित्रले ‘ब्ल्याक होल’ के हो भनेर बुझाउन धेरै सहयोग गर्छ । ‘ब्ल्याक होल’ अनन्त गुरुत्वाकर्षण भएको अन्तरिक्षको एउटा ‘लोकेसन’ पो हो। आइन्स्टाइन स्वयं आफू भने ‘ब्ल्याक होल’को अस्तित्व प्रतिविश्वस्त थिएनन् । तर उनले जसरी गुरुत्वाकर्षणलाई फरक तरिकाले परिभाषित गरे त्यसले ‘ब्ल्याक होल’ लाई सही तरिकाले बुझ्ने बाटो भने खोलिदियो । ‘चलचित्रले हामीलाई ‘ब्ल्याक होल’ को काल्पनिक अनुभव गराउन भने सफल हुन्छ।

चलचित्रमा आइन्स्टाइनले नै अगाडि सारेको गुरुत्वाकर्षणको फरक अवधारणालाई बुझाउन पनि खोजिएको छ। आइन्स्टाइनको गुरुत्वाकर्षणको सिद्धान्त बुझ्नुभन्दा पहिले सर आइज्याक न्युटनको गुरुत्वाकर्षणको सिद्धान्त र गतिको नियमलाई बुझ्नु जरूरी हुन्छ। न्युटनका अनुसार गुरुत्वाकर्षणमा एउटा शक्ति थियो, जुन शक्तिले एउटा ग्रहले अर्को ग्रहलाई आफूतिर तान्थ्यो । तर आइन्स्टाइनका लागि गुरुत्वाकर्षण पिण्डहरूको द्वाव्यमानले गर्दा अन्तरिक्ष आकाशमा पर्ने खाल्डोको परिणाम थियो । जति गहिरो खाल्डो उति नै धेरै गुरुत्वाकर्षण ।

आइन्स्टाइनको नजरमा गुरुत्वाकर्षण भनेको मात्र गतिवृद्धि थियो । न्युटनले प्रतिपादन गरेको गतिको नियम सानो गरी पढ्न त पढिन्छ तर प्रयोगात्मक अनुभव भने धेरै हासिल गर्न सकिएको हुन्न । यी नियमहरूले कसरी काम गर्छन भन्ने राम्ररी थाहा पाउन अल्फोन्सो कुआरोनद्वारा निर्देशित चलचित्र अंग्रेजी चलचित्र ‘ग्र्याभिटी’ हेर्न सकिन्छ ।

चलचित्रले अन्तरिक्षमा अलपत्र परेका दुई अन्तरिक्ष यात्रीहरूको पृथ्वीसम्म फर्किने संघर्षको कथा देखाउँछ। अन्तरिक्षमा भू-उपग्रह निर्माण गरिरहेको एउटा अमेरिकी अन्तरिक्ष यात्रीहरूको टोली एक्कासी दुर्घटनामा पर्छ । भू-उपग्रह ध्वस्त हुन पुग्छ र चलचित्रका मुख्य दुई पात्रहरूबाहेक सबै पात्रहरू ठाउँको ठाउँ मर्छन । पृथ्वीमा रहेको स्टेसनसँग सम्पर्क टुटेपछि चलचित्रमा बाँच्नको लागि दुई अन्तरिक्ष यात्रीहरूको संघर्ष सुरु हुन्छ ।

चलचित्रमा एउटा क्षण यस्तो आउँछ कि कावल्स्की नाम गरेको पुरुष पात्र र रायन नाम गरेकी महिला पात्रले एक अर्कालाई समातेर विपरीत दिशातर्फ हुत्तिएका हुन्छन । कावल्स्की जतातिर हुत्तिएको हुन्छ त्यता बल धेरै लागेको हुन्छ र रायन अल्झिएको यानको एउटा डोरी बिस्तारैबिस्तारै फुस्किरहेको हुन्छ। डोरी फुस्कियो भने गतिको कारणले दुवैजना अन्तरिक्षमै हराउने खतरा हुन्छ । दुवैजना मर्न सक्ने स्थिति आएपछि कावल्स्कीले आफू मरेर भए पनि रायनलाई बचाउने निष्कर्ष निकाल्छ र रायनको हात जानीजानी छोडेर आफू जिउँदै अन्तरिक्षमा हराउने बाध्यात्मक बाटो रोज्छ।

यदि कावाल्स्कीको गति नियन्त्रण हुन्थ्यो भने सायद यस्तो अवस्था आउने थिएन । यहाँनिर आँखै अगाडि देख्न पाइन्छ न्युटनको गतिको पहिलो नियम । कुनै पनि गतिमा रहेको वस्तु तबसम्म गतिमा रहन्छ वा कुनै पनि स्थिर रहेको वस्तु तबसम्म स्थिर रहन्छ जबसम्म त्यस वस्तुमाथि कुनै बाहिरी शक्तिको प्रयोग हुन्न । कावल्स्की गतिको गतिमै अनकन्टारतिर गायब हुन्छ ।

अन्तरिक्षमा अत्यन्त गतिमा कुदिरहेका सानासाना कणहरूले एकै क्षणमा पूरै भू-उपग्रह नै ध्वस्त बनाइदिन्छन् । त्यो ध्वस्त भएको भू-उपग्रहका टुक्राहरूले पनि गति समात्छन र अर्को भू-उपग्रह ध्वस्त बनाउन थाल्छन । हेर्दा निकै अविश्वासिलो लाग्छ। आखिर कसरी त्यति साना टुक्राहरूमा पूरै यान नै ध्वस्त बनाउने शक्ति आयो होला ? यो बुझ्न न्युटनले प्रतिपादन गरेको गतिको दोश्रो नियम बुझ्नुपर्छ। ती सबै टुक्राहरूको द्रव्य मान कम भए पनि उनीहरूको गतिवृद्धि एकदम बढी हुन्छ । शक्ति भनेकै द्रव्यमान र गतिवृद्धिमा निर्भर हुने कुरा हो । यस्ता चलचित्रहरू त विद्यालयहरूमै देखाइनु झनै राम्रो हुन्छ ।

चलचित्रमा न्युटनको गतिको तेश्रो नियम भने झनै रोमाञ्चक तरिकाले प्रयोग गरिएको छ । चलचित्रकी महिला पात्रले आगो निभाउने सानो सिलिन्डरलाई अन्तरिक्षमा अलपत्र परेको बेला दिशा मिलाउनको लागि प्रयोग गर्छिन। उनले त्यो सिलिन्डरबाट जब-जब बाहिर ग्यास निकालिन्छन्, उनी सिलिन्डरको विपरीत दिशामा हुत्तिन पुग्छिन । अर्थात् उनलाई गन्तव्यमा पुग्न जताजता जानुपर्ने हो, त्यसको विपरीत दिशातर्फ उनले सिलिन्डरको ग्यास ‘स्प्रे’ गर्छिन। हरेक क्रियाको बराबर प्रतिक्रिया हुन्छ भन्ने नियम र त्यो नियमलाई जसरी उनले बाँच्नका लागि प्रयोग गर्छिन, त्यसले एक प्रकारको आनन्द महसुस गराउँछ। चलचित्रभरि गुरुत्वाकर्षणले पार्ने प्रभाव र विज्ञानका धेरै नियमहरू बुझ्न र देख्न पाइन्छ।

न्युटनका यिनै नियमहरुमा टेकेर आइन्स्टाइन अगाडि बढे । अगाडि बढ्ने क्रममा आइन्स्टाइनले जब न्युटनको गुरुत्वाकर्षणको नियममा समस्या देख्न थाले, उनको गुरुत्व आकर्षणप्रतिको बुझाइ नै फेरियो। गुरुत्वाकर्षणको समस्यालाई हल गर्न उनले पछि फेरि सामान्य सापेक्षतावादको सिद्धान्तलाई अगाडि सारे। सामान्य सापेक्षतावादको सिद्धान्तमा गुरुत्वाकर्षणको फरक परिभाषा गर्दै जब उनले गुरुत्वाकर्षणले प्रकाशलाई पनि बङ्ग्याउन सक्ने तर्क राखे, भौतिक विज्ञान जगतमा अर्को तहलका मच्चियो ।

आइन्स्टाइनले एकपछि अर्को गर्दै भौतिक विज्ञानका कैयौं नियमहरूलाई चुनौती दिइरहेका थिए । विशेष सापेक्षतावादको सिद्धान्तबाट उनले समयको परिभाषालाई चुनौती दिए । सामान्य सापेक्षतावादको सिद्धान्तबाट पछि उनले गुरुत्वाकर्षणको सिद्धान्तलाई चुनौती दिए र ऊर्जा भनेकै द्रव्यमान हो भनेर अत्यन्त प्रसिद्ध सूत्र ‘ई इक्वाल्स टु एमसी स्क्वायर’ अगाडि सारे।

भनिन्छ, जति बेला आइन्स्टाइनले विशेष सापेक्षतावादको सिद्धान्त अगाडि सारेका थिए । उनको त्यो सिद्धान्त बुझ्न सक्ने मात्र तीनजना थिए। धेरैले उनले भनेको अवधारणा नै बुझेनन् । उनका नजरमा समय पनि एउटा आयाम थियो । त्यो बेलासम्म लम्बाइ, चौडाइ र उचाइ गरेर मात्र तीन आयाम हुन्छन भनेर स्विकारिएको थियो । तर तीन आयाममा समयलाई थपेर आइन्स्टाइनले चार आयामको अवधारणा सारेका थिए । समयलाई पनि आयाम भनिसकेपछि विज्ञान जगत एउटा ठूलो बहसमा तानियो।

आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा हरेक वस्तुका तीन आयामसँग समयको चौथो आयाम जोडिएको हुन्छ । कुनै समयको पहाड अर्को समयमा मैदान बन्न सक्छ । कुनै समयको मैदान अर्को समयमा ताल बन्न सक्छ । हरेक अवस्थामा समय छ । आइन्स्टाइनको यो सिद्धान्तपछि अन्तरिक्षलाई अन्तरिक्ष मात्र नभनेर अन्तरिक्ष समय भन्न थालियो । समय अब एकै रफ्तारमा चल्ने कुनै अमूर्त वस्तु नभएर फरक-फरक रफ्तारमा चल्ने आयाम भइसकेको थियो।

चलचित्र ‘इन्टरस्टेलर’ले पनि समयको यही खेल देखाइएको छ । चलचित्रको मुख्य पात्र जोसेफ कूपर पनि एउटा अन्तरिक्ष यानमा हजारौं प्रकाश वर्ष टाढा अर्को तारापुञ्जमा रहेको ‘गर्ग्यान्सुवा’ नामक काल्पनिक ‘ब्ल्याक होल’मा पुगेर फर्केको हुन्छ । त्यहाँ गुरुत्वाकर्षण अनन्त हुन्छ र समयको रफ्तार अत्यन्त सुस्त हुन्छ ।

अब प्रश्न उठ्छ प्रकाशको गतिमा चल्ने यान नै नबनेको अवस्थामा जोसेफ कसरी हजारौं प्रकाश वर्ष टाढाको तारापुञ्जसम्म पुगेर तीन वर्षमै फर्किन सम्भव छ ? यो असम्भव काम पूरा गर्नका लागि चलचित्रमा अल्बर्ट आइन्स्टाइन र नाथन रोजेनले कल्पना गरेको ‘आइन्स्टाइन-रोजेन ब्रिज’ अर्थात् ‘वर्महोल’को अवधारणा प्रस्तुत गरिएको छ ।

वर्महोल भन्नाले अनन्त ब्रह्माण्डमा अत्यन्त टाढा रहेका दुई हिस्सालाई जोड्ने छोटो बाटोको रुपमा बुझ्नुपर्ने हुन्छ। चलचित्रमा शनि ग्रहको नजिकमा एउटा ‘वर्महोल’ भेटिएको हुन्छ जहाँबाट अर्को तारापुन्जसम्म छोटो समयमै पुग्न सकिने हुन्छ।

आइन्स्टाइनले भिन्नभिन्न स्थानमा समयको गति पनि भिन्न हुन्छ भन्ने अवधारणा अगाडि सारेपछि टाइम मेसिन र टाइम ट्राभलको बहस घनिभूत रुपले सुरु भयो । आइन्स्टाइनले समय एउटा दिशामा अगाडि बढिरहेको हुनाले भूतकालमा नभए पनि भविष्य कालमा जान सकिने परिकल्पना गरे ।

‘इन्टरस्टेलर’मा पनि जोसेफ कूपर ‘ब्ल्याक होल’बाट फर्किएपछि उसको हिसाबले पृथ्वीमा भविष्य भइसकेको हुन्छ । उसले आफ्नी छोरी बुढी भएको भविष्य देख्न पाउँछ। सन् २०६७मा अन्तरिक्ष उडानमा हिँडेका कूपर करिब तीन वर्षपछि फर्किँदा पृथ्वीको क्यालेन्डरअनुसार करिब सन् २११५ भइसकेको हुन्छ। यो हिसाबले जोसेफ कूपर भविष्य कालमा आइपुगेको हुन्छ ।

आज वैज्ञानिकहरूले समयमा यात्रा गर्ने बारेमा विभिन्न अवधारणाहरू सारिरहेका छन् । समय यात्रा सम्भव भयो भने मान्छे बालापनको उमेर पनि घुमेर फर्किन सक्छ । यो कुरासुन्दा एकदम रमाइलो लाग्छ। यदि साँच्चै नै भूत कालतर्फ समय यात्रा गर्न सकियो भने के हुन्थ्यो होला ?

सायद आज हामीले नारायणहिटी दरबार हत्याकाण्डको रहस्य पत्ता लगाइसकेका हुन्थ्यौं होला वा मदन भण्डारीको मृत्युको कारणरहस्यको गर्भमा रहने थिएन होला वा समाजका हरेक अपराधी पत्ता लगाउन सकिन्थ्यो होला वा मानव समाजको विकासक्रम आफ्नै आँखाले देख्न सकिथ्यो होला। भूतकालको समय यात्राले सायद ब्रह्माण्डको उत्पत्तिको रहस्योद्घाटन भइसक्थ्यो होला । आज मानव समाजलाई नै चुनौती दिइरहेको कोरोना भाइरसको मूलसम्म पुग्न सकिन्थ्यो होला ।

सुन्दा अत्यन्त रोमाञ्चक लागे पनि समय यात्रा त्यति सजिलो छैन । समय यात्राका विभिन्न अन्तरविरोधहरू पनि वैज्ञानिकहरूले परिकल्पना गरिरहेका छन् ।

मानौं, एउटा नातिलाई आफ्नो हजुरबुबादेखि एकदम रिस उठ्यो र उसले भूतकालमा गएर आफ्नो हजुरबुबालाई सानै उमेरको हुँदा मारिदियो भने हजुरबुबाबाट बुबा र बुबाबाट ऊ स्वयं जन्मिने प्रक्रिया नै अवरुद्ध हुने भयो ।

अब हजुरबुबालाई मारिसकेपछि त्यो नाति स्वयं जीवित रहन्छ कि रहन्न ? समयको यो जटिलतालाई ‘ग्रयाण्डफादर प्याराडक्स’ भन्ने गरिन्छ । कसैले यसलाई ‘हिटलर प्याराडक्स’ पनि भन्ने गरेका छन् । आज विश्वमा हिटलरप्रति यति नकारात्मक धारणा छ कि मानौं कसैले भूतकालमा गएर राजनीतिमा उदाउनुभन्दा पहिल्यै हिटलरलाई मारिदियो भने इतिहास कतातिर मोडिएला ? हिटलर नै नरहे भूतकालमा गएर हिटलरलाई मार्नुपर्ने कारण बाँकी रहला त ? त्यस्तो अवस्थामा भूतकालमा जानुको त्यो आवश्यकता नै नरहने हुन्छ।

समय यात्राको सबैभन्दा जटिल परिकल्पना भनेको ‘प्रिडेस्टिनेसन प्याराडक्स’ हो। समय यात्राको यो अन्तरविरोधले कुखुरा पहिला कि अण्डा पहिला भने जसरी समयको एउटा चक्रमा फसाउँछ । कुनै पनि एउटा घटना कुनै दोश्रो घटनाको परिणाम हुन्छ । त्यसरी नै त्यो दोश्रो घटना कुनै तेस्रो घटनाको परिणाम हुन्छ र यो चक्र अनन्त कालसम्म चल्छ।

अब प्रश्न यहाँ उठ्छ विगतको कुनै घटना बदल्न सुरु गर्ने हो भने कहाँबाट गर्ने ? यसरी कुनै एउटा घटना बदल्न खोज्दा त्यसको परिणाम झनै विकराल हुन सक्छ ।

यस्ता अन्तरविरोधहरू बारे धेरै चलचित्रहरू बनिसकेका छन तर समयको यो अन्तरविरोध बुझाउने सबैभन्दा उत्कृष्ट चलचित्र ‘प्रिडेस्टिनेसन’ हो । सन् २०१४मा आएको यो चलचित्र जोन नाम गरेको एउटा यस्तो केटा मान्छेको कथा हो, जो कुनै समय जेन नाम गरेकी केटी थिई। जेन जन्मिँदै केटीको रुपमा जन्मिए पनि ऊभित्र केटाको गुण निष्कृयरुपमा बसेको हुन्छ । जेनको जिन्दगीमा एउटा यस्तो बाध्यात्मक मोड आउँछ कि एउटा अपरेसनपछि जेन केटीबाट केटा बन्न पुग्छे र आफ्नो नाम जोन राख्छे । समय बित्दै जान्छ ।

एउटा बम बिस्फोटको घटना रोक्नका लागि जोन जब टाइम मेसिनको सहयोगमा भूतकालमा आउँछ तब ऊ भूतकालको आफ्नै रुप जेनसँग प्रेममा पर्छ र दुवैजनाको सम्बन्धबाट एउटा बच्चा जन्मिन्छ। जन्मिएको त्यो बच्चालाई जोनले झनै भूत कालमा पुर्‍याइदिन्छ । यो बच्चा त्यही बच्चा हुन्छ जोपछि गएर जेन नाम गरेको त्यही केटी बन्छ ।

अर्थात् जोनले एक प्रकारबाट हेर्दा आफैसँग यौनसम्बन्ध राखेर आफूलाई नै जन्माउँछ र हुर्किँदै फेरि आफू बन्छ । फिलिममा जुन बम विस्फोटकलाई ऊ रोक्नका लागि भूतकालमा आएको हुन्छ। त्यो पनि जोनको आफ्नै बुढेसकालको रुप हुन्छ। यहाँबाट अब कुन घटना पहिला घट्यो र कुनपछि भयो छुट्याउनै नसकिने हुन्छ। चलचित्रको कथा अझै भयभित गराउने प्रकारको छ। समय यात्राले गर्दा कसरी एक मान्छे समयको चक्रमा फस्न सक्छ भन्ने जटिलता चलचित्रले प्रस्तुत गर्छ ।

भूतकाल तर्फको समय यात्रा आइन्स्टाइनले निकै कठिन हुन्छ भनेर भन्नुको कारण पनि यस्तै हुनुपर्छ । त्यही भएर आइन्स्टाइनले परिकल्पना गरेजस्तै समयको यात्रा गर्न भविष्य कालतिर अलि बढी सम्भव हुन सक्छ भन्ने अवधारणा नै अलि बलियो छ विज्ञानमा।

आज विज्ञानमा अन्तरिक्षमा बस्ती बसाल्ने तयारी चल्दैछ । विज्ञानको यही गति कायम रहे आइन्स्टाइनले भने जस्तै एक दिन समय यात्रा पनि सम्भव हुन सक्छ। आइन्स्टाइनले भौतिक शरीर छोडे पनि भौतिक विज्ञान अझै आइन्स्टाइनकै सिद्धान्तहरुकै वरिपरि घुमिरहेको छ। उनका अधिकांश सिद्धान्तहरू आज आएर झनै महत्वपूर्ण बन्दै गएका छन्। सबैभन्दा आकर्षक उनको समय र समय यात्राकै परिकल्पना नै हो ।

आइन्स्टाइनको त्यही थ्यौरी, जसले जवान बुबा र बुढी छोरी हुन सक्छ भनेर कल्पना गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment