Comments Add Comment

कविता : बिर्सनु

निमेषराज सापकोटा

तिमीलाई बिर्सूं भन्छु
सम्झिहाल्छु !

टोलाउँछु लामो अवधिसम्म
आफ्नो जवानी सम्झेर टोलाइरहेको वृद्धजस्तो
मनमा कुरा खेलाउँछु–
यी मानिसहरू कसरी बिर्सन्छन्
कसरी बिर्सन सक्छन् सबथोक !

सहर पसेपछि
त्यो घाम, जुन, तारा अनि आकाश चिनाउने
त्यो बार्दलीलाई कसरी चटक्कै बिर्सन सक्छन् मानिसहरू

खोरियादेखि घर अनि
घरदेखि टाढाटाढा हिमालसम्म लैजाने
बाल्यकालको रंगैरंग पोतिएको
त्यो बाटोलाई
खै कसरी बिर्सन सक्छन् मानिसहरू ?

मानिसहरू, आफ्नो बाआमालाई
निर्धक्कसँग वृद्धाश्रममा छाडेर आउँछन्
अहो ! कसरी बिर्सन सक्छन् वात्सल्यलाई ?

आघौं दशैँमा आउँछु भन्छन् परदेशी
कति कति साल बितिजान्छ आश्वासनमै
फर्की आउनसमेत बिर्सन्छन्

कहिल्यै नछुट्ने भन्छन् प्रेमीहरू
र कसिलोसँग समाउँछन् एकअर्काको हात
खै के भैजान्छ कुन्नि, बाचा बिर्सिहाल्छन्

नेता इमान बिर्सिन्छ
पुजारी धर्म बिर्सिन्छ
शिक्षक नैतिकता बिर्सिन्छ
यस्तो लाग्छ–
यो सभ्यतामा मानिसहरू बिर्सने हतारोमा छन्

मानिसहरू कति सजिलै बिर्सन्छन् सबथोक
यतिसम्म कि,
आफ्नो पृष्ठभूमि र हैसियतसमेत सजिलै बिर्सिदिन्छन्

म भने कति कायर छु
कति कमजोर छु
हजारौं, लाखौं पटक कसम खाएर पनि
तिमीलाई बिर्सन सक्दै सक्दिनँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment