Comments Add Comment

सन्दर्भ विश्व योग दिवस : कोरोनाले बढायो योगको महत्व

भवतापेंन तप्तानाम योगो हि परमौषधम । अर्थात् सांसारिक दु:खकष्टहरुको एक मात्र औषधी योग हो ।

कोरोना कहरमा घरभित्र बन्दी भएर फुर्सदको समय बिताइरहेका बेला शारीरिक व्यायामका लागि, मन शान्तिका लागि अनि सक्रिय जीवनशैलीको लागि समेत योग आवश्यक रहेछ भनेर सिक्ने र आत्मसात गर्ने अवसर मिल्यो ।

हामीलाई गर्व लाग्नु पर्दछ, नेपाल योगको उद्गम भूमी हो । नेपाल ऋषिभूमी ,देवभूमी ,शिव भूमी र नेपाल नै योगभूमी हो । जहाँबाट हाम्रो जन्म भयो त्यो उद्गमसँग नै हामी अपरिचित भयौं भने जीवनका प्रतिकूल परिस्थितिमा पनि कसरी बाँच्ने त्यो कलाबाट पछि परिन्छ ।

संयुक्त राष्ट्र संघले जून २१ लाई विश्व योग दिवसको रुपमा घोषणा गरेको छ । हाम्रा ऋषिमुनिहरुका योग साधनालाई अनुसरण गरेर विश्वभरि योग दिवस मनाइन्छ । त्यसो त आजकल विभिन्न सम्प्रदाय ,धार्मीक संघसंस्था लगायत थुप्रै योगाचार्यहरुले विभिन्न तरिकाले मानिसहरुलाई योगतर्फ उन्मुख गराउन प्रेरित गरिरहेका देखिन्छन ।

योग मानिसको जीवन जिउने कला मध्यको एउटा महत्वपूर्ण माध्यम हो तथापि हातखुट्टा तन्काउनु, स्वाप्रस्वासका प्रक्रिया मार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन । योग हाम्रो जीवन पूर्णतासाथ जिउन आवश्यक पर्ने जीवन पद्दति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो । योगलाई मानिसहरुले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीको माध्यम बनाएका हुन सक्छन् । तर, योग शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान हो

योग वशिष्ठममा भनिएको छ –

क्षणमानन्दितामेति क्षणमेति विषादितां ।

क्षणं सौम्यत्वमायाति सर्वस्मिन्नटवन्मनः॥

अर्थात् मानिस क्षणमा सुखी छ त क्षणमै दु:खी बन्छ । क्षणमै सम्पन्न ठान्दछ त क्षणमै गरिव ठान्दछ ।

किनकि दु:ख मनमा लाग्छ, मनमा अभाव महसुस हुन्छ, विचार खेल्न थाल्दछन् । त्यो मनदेखि पार पाउने योग भने ध्यान हो । योग भनेर शारीरिक व्यायाम गर्ने तर, ध्यानलाई अभ्यासमा ल्याउने बानी छैन ।

व्याचष्टे यः पठति च शास्त्रं भोगाय शिल्पिवत्।

यतते नत्वनुष्ठाने ज्ञानबन्धुः स उच्यते ॥

बाहिर सफल छ, तर भित्र अशान्ति छ भने त्यो सफलताले कसरी आनन्द देला ?

बाहिरी सम्पन्नताले मात्र सुख प्राप्त गर्छु भन्ने मानिस कहिल्यै सुखी हुन सक्दैन र उसले स्वयं भित्रको इच्छा के हो बुझेको हुदैन । बाहिर भोग भित्र योग यो मानिसको स्वभाव हो । भित्रको चाहना नबुझ्दा सम्म दु:खबाट पार पाउन सकिन्न ।

डा. नम्रता पाण्डे

ओशोले योगगुरु पतंजलिको सम्मान गर्दै भन्नु हुन्छ -” भौतिक विज्ञानले बाहिरको अनुभव सिद्द गर्दछ भने योग अर्को सुद्ध विज्ञान हो जसले भित्रको अनुभूतिलाई प्रस्फुटन गरिदिन्छ । अर्थात् भित्रको खोजको कला नै योग हो ।

ओशो अरु प्रस्ट पार्नुहुन्छ- योग कुनै शास्त्र होइन, न त मानिसले गर्ने कुनै विधि नै हो, योग त मानिसको आचरण हो । योग भूत र भविष्यको जानकारी पनि होइन योग त केवल मानिस भित्रको वास्तविकता थाहा पाउने कला हो । अर्थात् योग बाहिरी अनुभव भन्दा परको अमृत रसको अनुभूति हो जसको दैनन्दिन अभ्यासले मानिस सुख र दु:खबाट पार पाउन सक्दछ, साक्षीको जीवन बाँच्न सक्दछ । बाहिर कर्म भित्र साक्षी, नो जजमेन्टको अभ्यासले कर्म गर्ने प्रेरणा पनि मिल्छ र कर्मको फललाई स्वीकार्ने कला पनि विकसित हुँदै जान्छ ।

जीवनका प्रत्येक समस्याको समाधान योग भएकै कारण विश्वभर योग फैलिएको छ । विश्व चर्चित व्यक्तित्वहरू, कलाकारहरु पनि योग गर्छन भन्ने हामीले देखेका र सुनेका छौं । कोरोना कहरमा धेरैले आफ्नो डायरीमा पनि यसलाई उल्लेख गरे । योगले शारीरिक स्वस्थ मात्र बनाउने नभई मानिसको कार्यक्षमता वृद्धि अनि सकारात्मक सोचाइको बृद्दी गर्न मद्धत गर्दछ । काम गर्ने कलामा थप कुशलता प्रदान गर्दछ र मन शान्त र आनन्दित राख्दछ यसबाट घर , कार्यक्षेत्र र समाज नै अनुशासित बन्दछ।

विश्व स्वास्थ्य संगठनले पनि मानिस शारीरिक ,सामाजिक र मानसिक रुपमै स्वस्थ र सन्तुलित रहन -खानपान, आचार, अभिव्यक्ति शैली संगसंगै योगको पनि उत्तिकै महत्व छ भन्ने कुरामा जोड दिएको छ । हाम्रा ऋषिमुनिहरुले दिएको योगको शिक्षा शारीरिक स्वास्थ्यको लागि मात्र नभई विश्वलाई नै स्वस्थ बनाई शान्ति र सुरक्षा प्रदान गर्नको लागि उपयोगी सिद्ध भएको छ ।

ना यथा यतते नित्यं यद्भावयति यन्मयः ।

यादृगिच्छेच्च भवितुं तादृग्भवति नान्यथा ॥

मैले यति गरें, अझै गर्नु छ , संसार जित्नु छ भन्दै आधुनिकताको परिचयसँगै आफूलाई व्यस्त छु भन्दा गर्व गर्ने मान्छेले समय अनुसार चल्नु पर्नेमा आफैले समयलाई चलाउने गरेको पाइन्थ्यो । तर, कोरोना कहरले खुलस्त पारिदियो कि मानिसले जतिनै गरेको छु भनेर घमण्ड गरे पनि अन्तिम निर्णय अस्तित्वको हातमा छ । उसले जे चाह्यो त्यहि हुन्छ ।

मानिस केवल समयसँग चल्न सके पुग्छ । सूर्योदय अगाडि नै उठ्ने, आफ्नो नियमित कार्य सम्पन्न पछि योग –ध्यान गर्ने अनि सन्तुलित आहार पछि कर्मक्षेत्रमा लाग्नाले उसको कार्यक्षमता र कार्यकुशलता प्रभावकारी हुन्छ । आजकल त मानिसहरु राति अबेरसम्म बसी उपकरणमा व्यस्त हुनु, कम्प्युटरमा बस्नु र बिहान अबेरसम्म सुत्नु अनि छिटोछिटो गाँस टिपेर, गाडी चढेर कर्मक्षेत्रतर्फ प्रस्थान गर्नुलाई सम्भ्रान्तको, आधुनिक जीवनशैलीको संज्ञा दिने गर्दछन् ।

यो असहज जिउने तरिकाले उसको स्वास्थ्यमा र मानसिक रुपमा पार्ने असरको ख्याल गरेको हुदैन । सबैभन्दा उत्कृष्ट आर्जन आफ्नो सु- स्वास्थ्य हो । स्वास्थ्य गुमाएर प्राप्त गरेको धन –सम्पत्ति, नाम, इज्जत, प्रतिष्ठा केका लागि भन्ने जानकारी नभएका विवेकशील मानिसहरुको खाँचो छैन आजकल । तर, योग र ध्यानलाई महत्वपूर्ण प्राथमिकतामा भने राखेका छैनन् । पशुपंछीले समेत प्रकृतिको नियम विपरीत गएर आफ्नो स्वास्थ्य र सम्बन्ध बिगारेका हुँदैनन् । तर, मानिस विवेकशील प्राणी भएर पनि अस्तव्यस्त जीवनशैलीमा नै आफ्नो गर्वको मापन गर्दछन् ।

साधन धाम मोक्ष कर द्वारा ।

पाय न जेहीं पर लोक संवारा ।।

अर्थात् प्राकृतिक स्वभावमा जन्मेर मानिस अप्राकृतिक बन्दैछ । तर अझै होस छैन । आधुनिकताको नाममा आहारशैली, व्यवहारशैली सब अप्राकृतिक बन्न थालेको छ । चेतना बहिर्मुखी भएको छ । बाहिरैको भागदौड र प्रतिस्पर्धामा सम्पन्नता र सफलता खोज्न थालेको छ ।

मानिसले आफ्नो स्वाभाव योगलाई बिर्सेर भोगमा मात्र व्यस्त हुन थालेको छ । प्रकृतिले इशारा गरेजस्तै सहज, सरल, स्वस्थ र प्रेमपूर्ण जीवन बिताउन बिर्सेको छ । जसरी लयबद्द भएन भने संगीत मधुर हुँदैन, त्यसैगरी संगीतमय जीवनमा पनि ताल, सुर मिलेन भने लय आउँदैन । जीवनमा सुमधुर संगीत उत्पादन गर्न आहार, आचार र विचारको तालमेल मिल्नु जरुरी छ । बिडम्बना, आजकलका मानिसहरुले भौतिक सम्पन्नताको चरमता प्राप्त गरेपनि कस्तो खानपान, कस्तो आचार हुनुपर्ने बिर्सन थालेका छन् । आचार र खानपान शुद्ध नभए पछि विचार सकारात्मक कसरी हुने ?

वेदमा उल्लेख छ –

उत्तिष्ठत जाग्रत प्राप्यवरानीबोधत

अर्थात् हे मनुस्य तिमीहरु उठ, जाग ! तिम्रो जागरणको बोध गर र तिम्रो जागरण संगै बाहिरको सफलता र भित्रको आनन्दलाई ख्याल गर ।

भित्र आनन्द नआउने सफलता, सफलता होइन तिम्रो रोजाई गलत भयो । वास्तवमै नाम -दाम दुबैमा अरुले भन्दा बढी सफलता प्राप्त गर्ने, इज्जत प्रतिष्ठा अरुको भन्दा बढी चाहिने, डिग्री, पद अरु भन्दा माथि नै हुनुपर्ने अहिलेका मानिसका समस्याहरु र दुर्भावनाहरु समाधान हुन् । यस्तो सोच र जीवनशैलीमा अब परिवर्तन आउनु जरुरी छ । योग-ध्यानको माध्यमबाट मात्र यो चेतना मानिसमा जागृत हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment