Comments Add Comment

कस्ता समस्या भोग्दै छन् स्वास्थ्यकर्मीहरू ?

८ असार, काठमाडौं । दिल्लीको एक अस्पतालमा काम गर्ने ३१ वर्षीया कीर्ति शाह (परिवर्तित नाम) कोरोना भाइरसको यो आपतकालीन अवस्थामा पनि नियमित काममा सकि्रय छिन् । अस्पतालको आईसीयूमा काम गर्ने उनको आत्मविश्वासलाई कोरोनाको त्रासले कमी ल्याउन सकेको छैन । तर कोरोना महामारीसँगै उनलाई छुट्टै किसिमको कठिनाइले गाँज्ने गरेको छ । शाह भन्छिन् ‘मेरा लागि पछिल्लो तीन महिना निकै कठिन रह्यो ।’

जोखिमबाट बच्नको लागि लगाइने पीपीई नै कीर्तिजस्तै महिला स्वास्थ्यकर्मीहरूको लागि समस्याको विषय बनेको छ । ६ घण्टाको उनको सिफ्टमा एकपटक पीपीई लगाइसकेपछि उनले शौच र भोजनादि सबै कामलाई सिफ्ट अन्त्य नहुन्जेलसम्मको लागि रोक्नै पर्छ । त्यसैले त कीर्ति पीपीई लगाउनुभन्दा दुई घण्टा पहिलेदेखि नै पानी र खानेकुरा खान छाडि्छन् । ४५ मिनेटसम्म लगाएर गाउन, फेस मास्क, चस्मा, फेस सिल्ड र ग्लोब्स लगाएपछि साह्रो कष्टपूर्ण हिसाबले कटाउनुपर्छ उनले ६ घण्टा । यो प्रक्रियालाई डोफिङ भनिन्छ ।

एकातिर पीपीई लगाउँदाको समस्यामाथि महिला भएकै कारण भोग्नुपर्ने केही पीडाले उनीहरूलाई झनै सताएको कीर्तिको गुनासो छ । उनी भन्छिन्, ‘आफ्नो पूरा सिफ्टको समयमा हामी न केही खान सक्छौँ, न पानी पिउन सक्छौँ वा वासरुम जान सक्छौं । त्यसैले सिफ्ट सुरु हुनुभन्दा पहिला नै हामी पानी पिउन छाड्छौँ ।’

पीपीईमा ब्लिडिङको समस्या

उनी भन्छिन्, ‘पिरियड आउने बेलासम्म यसलाई झेल्न सकिन्छ । समस्या त्यतिबेला हुन्छ जतिबेला मलाई निकै पसिना आइरहेको हुन्छ । चस्मामा बादल लाग्न थाल्छ र मेरो पीपीई सुटभित्र ब्लिडिङ पनि सुरु हुन्छ ।’

उनलाई एकपटक एक पुरुष सहयोगीलाई बोलाएर उनको दाग कसैले नदेखून् भनेर ढाकिदिन आग्रह गर्ने अवस्था आइपर्‍यो । आफ्नो सिफ्ट बीचमा छाडेर फर्किनुपर्ने अवस्था आइपर्‍यो ।

धेरै समस्या नहोस् भनेर उनले यसको लागि दिनमा कम ब्लिडिङ हुने उपाय गुगलमा सर्च समेत गर्नुपर्ने अवस्था आयो । उनका अनुसार एक सल्लाहले उनको ठूलो सहयोग गर्‍यो । यो सल्लाह तातो पानीमा एक घण्टासम्म नुहाउनु थियो । यसो गर्दा सिफ्ट सुरु हुनुभन्दा पहिले नै पर्याप्त रगत जान्थ्यो । उनी भन्छिन्, ‘यसको कुनै वैज्ञानिक आधार त छैन तर मसँग दोस्रो कुनै तरिका पनि छैन । पीपीई बनाउँदा महिलाको मासिक धर्मको आवश्यकताका बारेमा पक्कै पनि सोचिएन होला ।’

पीपीई धेरै हदसम्म पुरुषका लागि बनाइएको हो । यसबारे अन्तर्राष्ट्रियस्तरमा पनि चिन्ता सुरु भएको छ । एक स्ट्याण्डर्ड पीपीई, जुन दुवै लिङ्गका मानिसका लागि निर्माण गरिएको हुन्छ । यो धेरैजसो महिलाहरूका लागि फिट हुँदैन ।

पीपीई कोरोना भाइरस (कोभिड-१९)को लडाइँमा फन्टलाइनमा काम गर्ने कर्मचारीको सुरक्षाका लागि निकै जरुरी हुन्छ ।

यद्यपि, केही स्वास्थ्यकर्मीहरू केही महिलाका लागि सबैभन्दा सानो साइजको पीपीई पनि निकै ठूलो हुने गरेको छ । विश्वव्यापी स्वास्थ्य प्रणालीमा काम गर्ने कर्मचारीहरूमा ७० प्रतिशत महिला छन् । यदि पीपीई ठूलो भयो भने यसले कोरोना भाइरस पूर्णरुपमा रोक्न सक्दैन ।

साथै लगाउने मानिसलाई पनि छिटै नै समस्या सुरु हुन्छ । बि्रटिस मेडिकल एसोसिएसनका चिकित्सकहरूको युनियनको कन्सल्टेन्ट सदस्य हेलेल फिल्डरका अनुसार यो समस्या यसकारण उत्पन्न भएको हो कि पीपीई सुट मुख्यरुपमा अमेरिकी वा युरोपेली पुरुषका लागि तयार गरिएको हो ।

बेलायतको ट्रेड युनियन कांग्रेस (टियूसी)ले सन् २०१७ मा गरेको अनुसन्धानका अनुसार करिब ५७ प्रतिशत महिला स्वास्थ्यकर्मीले पीपीई लगाउँदा उनीहरूले काम नराम्रोसँग प्रभावित हुने गरेको बताएका थिए ।

केवल दुई साइजको मास्क

बेलायतमा मात्र होइन, विश्वभर नै महिला स्वास्थ्यकर्मीहरूले पीपीई फिटिङ नहुने विषयलाई लिएर आवाज उठाउँदै आएका छन् ।

स्टेनफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनकी डाक्टर आर्गवन सालेस अहिले न्युर्योकको एक अस्पतालको आईसीयूमा काम गरिरहेकी छिन् । उनी भन्छिन्, ‘एन९५ मास्क केवल दुई साइजमा मात्र आउँछ । यो अचम्मलाग्दो कुरा हो । के हामी विश्वका सबै मानिसहरूको अनुहार केवल दुई आकारको हुन्छ भन्ने तर्क गरिरहेका छौं ?’

सालेसका अनुसार उनलाई सानो साइजको मास्क फिट हुन्छ तर यो पाउन निकै कठिन हुन्छ । सालेसका अनुसार उनलाई सानो साइजको पञ्जा र चस्मा पनि निकै ठूलो हुन्छ । उनी भन्छिन्, ‘मेरो हातको साइज ६ छ । तर मैले साढे ६ साइजको पञ्जा लगाउनुपर्ने हुन्छ ।’ उनलाई चस्मा पनि निकै ठूलो हुन्छ ।

उनी आफूहरूले सधैं केही न केही कुरामा सम्झौता गर्नुपरेको गुनासो गर्छिन् । केही मुलुकमा स्वास्थ्यकर्मीका लागि पीपीईको अभावको सामना गरिरहेका छन् । यस्तो अवस्थामा आफ्नो आकारको पीपीईको माग गर्नु पनि एक समस्या बनेको केही स्वास्थ्यकर्मीहरू बताउँछन् ।

दिल्लीको एक अस्पतालको आईसीयूमा काम गर्ने एक नर्स भन्छिन्, ‘हामीलाई पीपीई पाउने भाग्यशाली व्यक्ति भएको कुरा सुनाइन्छ । यस्तोमा हामीले समस्यासँग सम्झौता गर्नुपर्ने हुन्छ ।’

धेरै दिनसम्म लामो समय ब्लाडर भरिएको कारण उनलाई युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) भयो । उनले फिटिङ नहुने पीपीईको कारण अन्य धेरै महिलाको छाला र अनुहारमा पनि त्यसको डाम देखिएको छ ।

रिनाता पिएत्रो ब्राजिलको साओ पाउलोको एक अस्पतालको आईसीयूमा काम गर्छिन् । उनी ब्राजिलियन एसोसिएसन अफ क्रिटिकल केयर नर्सेजको संस्थापक सदस्य पनि हुन् । उनी भन्छिन्, ‘म ५ फिट १ इन्चको छु । मलाई ठूलो मास्क लगाएर दिनको आठ देखि १० घण्टा काम गर्नुपर्छ । मलाई सुरक्षित रहन सधैं संघर्ष गर्नुपर्छ ।’

उनी भन्छिन्, ‘मेरो कपाल पनि लामो छ, यसले पनि समस्या गराउँछ । मलाई मास्कलाई कसेर बाँध्न ब्याण्ड एडको प्रयोग गर्नुपर्छ । तर मेरा यस्ता पनि साथी छन्, जसले मास्क नै पाउँदैनन् ।’

स्वास्थ्य स्याहार मात्र होइन

विशेषगरी महिलाका लागि निर्माण गरिएको पीपीईको माग स्वास्थ्य स्याहार क्षेत्रमा मात्र सीमित छैन । विज्ञान वा अन्य कामसँग जोडिएका महिलाका लागि पनि पुरुषका लागि बनाइएको उपकरणको प्रयोग गर्नुपर्ने बाध्यता छ । सन् २०१९ मा नासाले केवल महिलाहरू मात्रको टोलीले ‘स्पेसवाक’ गर्ने कार्यक्रम रद्द गरेको थियो । यसको मुख्य कारण महिलाको लागि आवश्यक उपकरण उपलब्ध नहुनु थियो ।

बायोलोजिस्ट जेसियाका माउन्ट्स भन्छिन्, ‘प्रतिनिधित्व हरेक क्षेत्रमा हुनु जरुरी छ । हामीलाई उपकरण र फिटिङ हुने कपडाजस्ता कुराहरूमा रोकेर राखिन्छ भने आउने पुस्ताका महिलाहरूले कसरी आफ्नो करियरमा सबै विकल्पमा प्रतिनिधित्व गर्न सक्छन् ?’

उनको काम नदीहरू र तालहरूको सर्वेक्षण गर्नु हो । उनले प्रयोग गर्ने धेरै उपकरणहरू पनि पुरुषका लागि बनाइएको हुन्छ ।

भेदभाव

लेखिका कोरोलाइन क्रियाडो पेरेजले महामारीभन्दा पहिले आफ्नो किताबमा यस विषयमा उल्लेख गरेकी थिइन् । किताबमा उनले महिलाहरूको विवरणहरू संकलन नगर्ने भएका कारण महिलाको लागि आवश्यक उपकरण बनाउन नसक्ने बताएकी थिइन् ।

स्वास्थ्य स्याहार उद्योगमा पीपीईको कुरा गर्ने हो भने यस विषयमा कति महिला पुरुषको तुलनामा फिट टेस्टमा असफल भइरहेका छन् भन्ने कुराको पर्याप्त आँकडा छैन ।
पेरेजका अनुसार पीपीई फिट नहुनुको कारण पनि यो सबैका लागि बनाइएको मानिँदै आएको र फिट नहुनुमा उनीहरूलाई पर्याप्त तालिम नपुगेको पनि बताइँदै आएको छ ।

कहिलेसम्म बुझाउने मनलाई ?

कीर्ति आफैँलाई सकारात्मक राख्नका लागि आफ्नो अस्थायी निवासमा मेडिटेसन र व्यायाम पनि गर्छिन् । उनी भन्छिन्, ‘म आफैँले लगातार भन्दै आएको छु कि म यो पेसामा किन आएँ ? तर म आफूले आफैँलाई कहिलेसम्म सम्झाउन सक्छु ?’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment