
१० असार, विराटनगर । विराटनगर महानगरपलिकाले आगामी आर्थिक वर्षका लागि २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
बुधबार बसेको छैठौं नगरसभाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्वजनिक गरेको हो ।
चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा विराटनगरमा एसियाली विकास बैङ्कको क्षेत्रीय सहरी विकास परियोजनाको मात्रै एक अर्ब ७७ करोड २३ लाख ५५ हजार बजेट भएकाले बजेटको आकार ठूलो भएको थियो ।
महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइन् । त्यस्तै, वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट सशर्त अनुदान एक अर्ब २ करोड र प्रदेशबाट सशर्त दुई करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले बताएको छ।
त्यस्तै, संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।
महानगरपालिकाले पुँजीगत खर्चतर्फ एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।
महानगरपालिकाले स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा दुई करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, फोहोर व्यवस्थापनका लागि ल्याडफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा महानगरको आन्तरिक आम्दानी ५९ करोड ९८ लाख १५ हजार थियो । लकडाउनका कारण कर नउठेको अवस्थामा महानगरले आगामी वर्षका लागि करिब ३० करोड भन्दा बढी आन्तरिक स्रोत बढ्ने अनुमान गरेको छ ।
प्रजातन्त्र सेनानीलाई मासिक भत्ता, एक घर, एक बिरुवा
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षबाट एक घर एक रसिलो बिरुवा रोप्ने नीति लिएको छ । सडक सफा राख्ने, विमानस्थल विस्तारका लागि पहल गर्ने, आधुनिक वधशाला निर्माण गर्ने नीति महानगरपालिकाले लिएको मेयर भीम पराजुलीले जानकारी दिए ।
महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सयका दरमा आजीवन भत्ता दिने पनि घोषणा गरेको छ ।
प्रतिक्रिया 4