Comments Add Comment

निरीक्षण समितिले प्रयोगयोग्य भनेको थियो सेनाले किनेको रिएजेन्ट

११ असार, काठमाडौं । नेपाली सेनाले ल्याएको २८ हजार आरएनए एक्ट्रयाक्सन किट (रिएजेन्ट) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख रुना झासहित विज्ञ टोलीले निरीक्षण गरेर प्रयोगका लागि उपयुक्त हुने भनेर हस्ताक्षर गरेको पाइएको छ ।

सेनाले हवाई मार्गबाट १७ जेठमा किट ल्याएको थियो भने भोलिपल्ट निरीक्षणका लागि गुणस्तर छानविन समिति छाउनीस्थित किट भण्डारण गरेको स्थलमा पुगेको थियो । समितिकी विशेष आमन्त्रित सदस्यका रुपमा पुगेकी झाले किट प्रयोगयोग्य पाइएको भन्ने व्यहोराको रिपोर्टमा हस्ताक्षर गरेकी छन् ।

रिपोर्टमा भनिएको छ, ‘पीसीआर किट प्रयोगको सम्बन्धमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा लगायत यस समितिका संयोजक तथा अन्य सदस्यको उपस्थितिमा श्री जंगी अफिसर खाना छाउनीमा भण्डारण गरिराखेको नोबल कोरोना भाइरस २०१९ एमएचसी न्यूकिल्क एसिड डागनोस्टिक किट सीपीआर फोल्रोसेन्स प्रोभिन्स एन्ड स्याम्पल रिलिज रिएजेन्ट सामग्रीहरुको निरीक्षण गर्दा सो सामग्रीहरु पीसीआर परीक्षणका लागि प्रयोग हुने पाइएको छ ।’

प्रत्येक पीसीआर किटबाट २४ वटा परीक्षण गर्न सकिने देखिएको पनि रिपोर्टमा भनिएको छ । निरीक्षण समितिमा स्वास्थ्य मन्त्रालयका डा. पानबहादुर क्षेत्री, डा. पवनजंग रायमाझी, उद्योग मन्त्रालयको गुणस्तर विभागका मनिष कर्ण, स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत प्रदीप खतिवडा लगायत छन् ।

आफूले ल्याएको स्वास्थ्य सामग्रीमा विवाद नआओस् भनेर जंगीअड्डाले जाँच गर्न यो समिति गठन गरेको थियो । तर अहिले त्यही किट नेपालका अधिकांश प्रयोगशालामा फिट नभएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताएपछि यसको कारणबारे जंगीअड्डाले खोजी सुरु भएको छ ।

फिट नहुनुको कारण

नेपाली सेनाले सनस्योर वायोटेक कम्पनीबाट आरएनए एक्ट्रयाकसन किट ल्याएको हो । सैनिक अस्पतालका एक विज्ञ डाक्टरका अनुसार त्यही कम्पनीको भीटीएम किट पनि ल्याइएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पनि सोही अनुसारको भीटीएम र आरएनए एक्स्ट्र्याक्सन किट स्वास्थ्यलाई दिइएको बताए ।

‘हामीले चीनबाट एउटै कम्पनीको भीटीएम र आरएनए किट ल्याएर स्वास्थ्यलाई दिएका हौं’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘हामीले ल्याएको भीटीएम र आरएनए किट स्वास्थ्यले एकैपटक प्रयोग नगरेको हुनसक्छ ।’

सीसीएमसी स्रोतबाट प्राप्त एक कागजले पनि लजिस्टिक्स अप्सका सेनानी फणीन्द्र थापाले २८ जेठमा एक्ट्रयाक्सन किटसँगै २८ हजार ९ सय ९२ थान भीटीएम किट स्वास्थ्य सेवा विभागका रामकृष्ण भण्डारीलाई दिएको देखिन्छ ।

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले पनि सेनाले एकैपटक एक्स्ट्रयाक्सन र भीटीएम पठाएको स्वीकारे । उनले भने, ‘किन प्रयोग भएन भन्ने बुझ्न बाँकी छ ।’

फिर्ता गर्ने म्याद गुज्रिसक्यो

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग गरेको स्वास्थ्य सामग्री खरिद प्रक्रिया विवादमा गरेपछि सरकारले १६ चैतमा सेनालाई जिम्मा दिएको थियो । चीनको वाणिज्य मन्त्रायलसँग जीटुजी (सरकार–सरकार) प्रक्रियामार्फत सेनाले दुई अर्ब २५ करोड रुपैयाँ बढीको स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

यसरी ल्याइने सामग्री प्रयोग गर्न उपयुक्त नभए दुई साताभित्र फिर्ता गर्न मिल्ने सम्झौता थियो । तर, स्वास्थ्यले त्यो समय सीमाभित्र किट फिट नभएको भनेन ।

जबकी दुई महिना अघि तिब्बत सरकार दिएको ३० हजार थान पीसीआर किट पनि यस्तै समस्याका कारण थन्किएको थियो । अहिले फिर्ता गर्ने समय घर्किएपछि फिट नभएको भन्नु स्वास्थ्य विभागको गल्ती भएको सेनाको दाबी छ ।

दोस्रो लटको सामान स्वास्थ्यले नै खरिद गर्ने

आगामी साताबाट सरकारले दैनिक १० हजार नमूना परीक्षण गर्ने लक्ष्य लिएको छ । र, अब दोस्रो चरणको स्वास्थ्य सामग्री ल्याउनेबारे पनि छलफल सुरु भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) स्रोतका अनुसार यसपटक सेनाले स्वास्थ्य सामग्री खरिदमा इच्छा देखाएको छैन । यद्यपि, सैनिक प्रवक्ता पाण्डे भने त्यस्तो निर्णय भएको आफूलाई थाहा नभएको बताउँछन् ।

सीसीएमसीको एक बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलले सेनाले दोस्रो लटको सामान नल्याउने भनेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भनिसकेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाली सेनाका उपरथी सीताराम खड्कासमेत उपस्थिति बैठकमा पोखरेलले भनेका थिए, ‘सेनाले अफ्ठ्यारो परेका वेला एकपटक स्वास्थ्य सामग्री खरिद गरेको हो, पटकपटक किन्ने जिम्मेवारी होइन ।’

स्रोतका अनुसार स्वास्थ्यमन्त्री ढकालले सेनाले दोस्रो चरणको सामग्री कहिले ल्याउँछ भनेर प्रश्न गरेपछि पोखरेलले यस्तो जवाफ दिएका थिए । अर्थमन्त्री खतिवडाले पोखरेलको भनाइमा समर्थन जनाएको स्रोत बताउँछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले यसबारे मुख खोलेका छैनन् । यद्यपि, जंगीअड्डामा शुक्रबार र आइतबार आयोजित पृतनापति समन्वयात्मक बैठकमा जर्नेलहरुले स्वास्थ्य सामग्री खरिदमा राम्रो काम गर्दागर्दै विवादमा तानिएको बताएका थिए ।

यसले बाहिर सेनाप्रति नकारात्मक धारणा सिर्जना भएको उनीहरुको भनाइ थियो । सेना प्रमुख थापाले भने पद्धति र प्रणालीमा आधारित संगठन निर्माणका लागि पारदर्शी बन्न सबैलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment