Comments Add Comment

साम्राज्ञी भन्छिन्–‘फिल्ममा काम गर्दा निकै नराम्रो अनुभव भोगेकी छु’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरू बनेको पनि बताएकी छन् ।

साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस विषयमा ‘ड्रिम्स’ डेब्यु नायिका भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’

साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी छन् । उनले आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी छन्।

साम्राज्ञीले आफूलाई कामको सम्मान रहेको पनि बताएकी छन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा भोगेका भोगाइको विषयमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर भनेको पनि बताइन् ।

साम्राज्ञीले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताउँदै भनिन्–‘तर मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

उनले आफूले यो विषयमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने बताएकी छिन् । तर आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको समेत साम्राज्ञीले सुनाइन् ।

बोल्ने क्रममा धेरै पटक भावुक देखिएकी यी नायिकाले केही समय अगाडि फ्यानहरूसँग कुरा गर्दै आफूले अब पहिलेको जसरी धेरै चलचित्रमा काम नगर्ने पनि बताएकी थिइन् ।

चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा उदाएकी साम्राज्ञीले अभिनय गरेको पछिल्लो चलचित्र ‘रातो टिका निधारमा’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment