Comments Add Comment

कृषि मन्त्रालयले भन्यो : नेपाल आएको सलहको बथान सानो छ, नआत्तिनुस्

सलहबारे विज्ञहरुसँगको छलफलको क्रममा कृषिमन्त्री घनश्याम भुसाल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१४ असार, काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरूसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरूसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।

विज्ञहरूले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरूको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरू र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरूसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्‍याएको भन्दै कृषि मन्त्रालयले किसानहरूलाई नआत्तिन भनेको छ ।

नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्‍याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।

किसानका लागि हटलाइनको व्यवस्था

विज्ञहरूसँगको छलफलपछि मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरूबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताए । एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्ने र त्यसमा फोन गरेर किसानहरूले सलह किराबारे जानकारी दिन सक्ने मन्त्री भुसालको भनाइ छ ।

कृषि मन्त्रालयले गृह र विपद् व्यवस्थापन समितिसँग सम्बन्धित समितिसँग समन्वय गरेर सलहलाई नियन्त्रण गर्ने जनाएको छ । गृह र विपद्सँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्याङ्करलगायतको व्यवस्था गरिने मन्त्री भुसालले बताए ।

सलह नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्ने जिम्मा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीलाई दिइएको छ । अन्तरमन्त्रालय समन्वय गरी सलह नियन्त्रणको बजेट व्यवस्था गर्न मन्त्री भुसालले सचिव भारीलाई निर्देशन दिएका हुन् ।

यो पनि पढ्नुहोस सोमबारबाट सलह पश्चिमतिर फैलिने अनुमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment