Comments Add Comment

साम्राज्ञी लेख्छिन्–‘फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्यागौं’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी गरी चलचित्रहरू खेल्न नदिई चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्तसमेत हुनुपर्छ ।’

उनले चलचित्र क्षेत्रको सुधार नगर्ने हो भने यसमा करिअर बनाउन खोज्ने पढे लेखेका र योग्य कलाकारको खडेरी हुने साथै स्थापित कलाकारहरू विस्थापित हुने समेत बताएकी छन् । उनले सबैले आ-आफ्नो कमजोरीलाई सुधार गरी अगाडि बढ्नुपर्ने आवश्यकता समेत औल्याएकी छन् ।

यो पनि पढ्नुहोस आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी

साम्राज्ञीले नायक भुवन केसीले लेखेको स्टाटसको समेत जवाफ दिएकी छन् । भुवनले ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने’ भन्दै लेखेको स्टाटसमा साम्राज्ञीले भनेकी छन्–‘कुनै पनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ । कुनै ब्यानरको एक चलचित्र चल्दैमा सोहीलाई बेचेर अन्य अवसर पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन । नवकलाकारहरूलाई कम पारिश्रमिक दिई तिनीहरूको बढीभन्दा बढी फाइदा लिने चलन कहिलेसम्म हुने हो ? कलाकारहरूले प्राप्त गरेको उचाइ फगत एक अनुग्रह होइन, उसको लगन र मेहनतको फल नै हो ।’

नायक भुवन केसीले आफ्नो प्रतिष्ठामा आघात पुर्‍याउने काम फेरि पनि चालेमा कानुनी कारबाहीमा जाने बताएका थिए । साम्राज्ञीले यो कुराको जवाफ दिँदै लेखेकी छन्–‘कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उसको संविधान प्रदत्त मौलिक हक हो । यसमा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कारबाहीमा पर्न सक्ने कुराको ज्ञान हुनु जरुरी छ ।’ साम्राज्ञीले आजका नारीहरू कमजोर नभएको पनि स्पष्ट पारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment