Comments Add Comment

कार्यान्वयनको पर्खाइमा रामायण सर्किट

३१ असार, काठमाडौं । दुई वर्ष अगाडि, २०७५ असार २२ गते नेपाल र भारतबीच रामायण तथा बुद्ध परिपथ निर्माण गर्ने र त्यसको संयुक्तरुपमा प्रवर्द्धन गर्ने सम्बन्धमा द्वीपक्षीय सहमति भएको थियो । सोही वर्ष बैशाख २८ र २९ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीले जनकपुरबाट रामायण परिपथमा बस सेवा प्रारम्भ भएको घोषणा गरेका थिए । त्यसबेला दुई देशका प्रधानमन्त्रीले जनकपुरबाट अयोध्याका लागि छुटेको बसलाई बिदाइ गरेका थिए ।

खासगरी अयोध्या र जनकपुरलाई एक आपसमा जोडेर धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने भन्दै रामायण सर्किटको अवधारणा अगाडि बढेको हो । यी दुई धार्मिक शहरलाई जोड्ने परिथपलाई नै रामायण सर्किटको नाम दिइएको हो ।

भारतले भगवान श्रीराम र उनको जीवनकालसँग जोडिएका १५ वटा धार्मिकस्थललाई समेटेर रामायण परिपथको अवधारणा अगाडि सारेको छ । ती गन्तव्यमा जनकपुरसमेत एक हो ।

भारतले बनाएको अवधारणा अनुसार रामायण सर्किटमा त्रेतायुगमा राम, लक्ष्मण, सिता र हनुमानसँग जोडिएका धार्मिकस्थललाई यसमा समेटिएको छ । अवधारणा अनुसार नेपालको जनकपुरसहित भारतको अयोध्या, ऋंगवेश्वर, चित्रकुट, बिहारमा पर्ने सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशमा पर्ने चित्रकुट, पश्चिम बंगालमा पर्ने नन्दीग्राम, उडिसामा पर्ने महेन्द्रगिरी, छत्तीसगढमा पर्ने जगदलपुर, तेलंगनाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, महाराष्ट्रमा पर्ने नासिक र नागपुरलाई समेत रामायण सर्किटमा जोडिएको छ ।

दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री मुख्य तीर्थालुका रुपमा नेपाल आएका बेला बस सेवाको उदघाटन हुनुबाहेक परिपथ निर्माणमा थप प्रगति भएको छैन

भारतले श्रीलंकामा रहेका सम्पदालाई समेत सर्किटमा जोडेर प्रवर्द्धन गर्न चाहेको छ । तर, अहिले चर्चामा आएको रामायण सर्किटमा भने श्रीलंका समेटिएको छैन ।

यता, भारत र नेपालको पहलमा बौद्ध सर्किटको समेत अवधारणामा काम भइरहेको छ । रामायण र बुद्ध सर्किटका लागि नेपालको तर्फबाट सक्रिय रहेका वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडेकाजीका अनुसार भारतले श्रीराम जन्मेको अयोध्याबाट सीताको उत्पत्ति भएको जनकपुर दरबारसम्म आउने क्रममा बास बसेका विभिन्न क्षेत्रलाई समेटेर एउटा रुट बनाउन चाहेको छ । त्यो रुटलाई परिपथका रुपमा विकास गर्न जनकपुर आइसकेको टोलीलाई सोही बाटो अयोध्या फर्काइने छैन । जनकपुरबाट रामले रावणसँग युद्ध लड्न प्रयोग गरेको बाटो समेटेर परिपथको परिकल्पना गरिएको छ ।

धार्मिक गन्तव्यलाई अर्थतन्त्रसँग जोड्ने लक्ष

वरिष्ठ पर्यटन व्यवसायी पाँडेकाजी भारतले धार्मिक गन्तव्यलाई अर्थतन्त्रसँग जोड्न यस्तो अवधारणा ल्याएको बताउँछन् । खासगरी भारतले धर्मकर्ममा विश्वास राख्ने करोडौं नागरिकमध्ये केही प्रतिशतले मात्र पनि यो परिपथमा यात्रा गर्दा पनि ठूलो आर्थिक गतिविधि चलायमान हुने बुझेको छ ।

हरेक रुट र गन्तब्यमा स्थानीय तहमा अर्थतन्त्र चलायमान गराउने उद्देश्यले भारतले यस्तो अवधारणा ल्याएको हो । यसरी परिपथमा आउने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि जनकपुरबाट पशुपतिनाथ, पोखरा, मुक्तिनाथसम्म लैजान सके यस परिपाथबाट नेपालले लाभ लिन सक्ने उनको भनाई छ ।

जीवनमा एकपटक जनकपुर आएका मानिसलाई पशुपति र मुक्तिनाथले सजिलै आकर्षित गर्ने भन्दै उनले त्यसका लागि नेपालले पहल गर्नुपर्ने सुझाव व्यवसायीको छ ।

सर्किटको कार्यान्वयनमा के भइरहेको छ ?

भारतले नीतिगतरुपमा यो अवधारणा ल्याएको हो ।  दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री मुख्य तीर्थालुका रुपमा नेपाल आएका बेला बस सेवाको उदघाटन हुनुबाहेक परिपथ निर्माणमा थप प्रगति भने नभएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।

तर, भारतले यसको खाका बनाइसकेका कारण जनकपुरसम्म कुनै न कुनैबेला भारतीय पर्यटकको चाप भने बढ्ने उनको भनाइ छ । व्यवसायी विक्रम पाँडेकाजीसमेत यही तर्क गर्छन् । ती पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने कार्यक्रम र त्यसका लागि राज्यबाट अविभावकत्वको आवश्यकता रहेको पाँडेकाजीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment