Comments Add Comment

मिर्गौलालाई स्वस्थ्य राख्ने काइदा

मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो ।  उपचार खर्चिलो पनि हुनसक्छ । त्यसैले संभव भएसम्म यो रोग लाग्न नदिनु नै उचित हुन्छ । चिकित्सकहरु अनुसार पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दो छ । मिर्गौलाको समस्या बढ्नुमा हाम्रो खराब दिनचर्या र खानपान समेत जिम्मेवार छ । चिकित्सकहरुको सुझाव छ, ‘खराब खानपान, आनीबानी सुधारेर पनि मिर्गौला रोगको संभावित जोखिमबाट बच्न सकिन्छ ।’

सन्तुलित दिनचर्या

निस्क्रिय एवं ऐश–आरमको जिन्दगीले रोगको जोखिम बढाउँछ । व्यायाम वा शारीरिक श्रम नगर्दा समेत रोगको जोखिम बढ्छ । त्यसैले समूचित श्रम एवं नियमित योग–व्यायाम गरेर स्वस्थ जीवन विताउन सकिन्छ ।

यसैगरी अनियमित रुपमा सुत्ने, उठ्ने, खाने बानीले पनि रोगी बनाउन सक्छ । त्यसैले सुत्ने, उठ्ने, खाने तालिका निश्चित र नियमित हुन जरुरी छ । अनिद्रा जस्ता कारणले समेत मिर्गौला रोगको जाखिम बढाउँछ । दैनिक ७–८ घण्टाको पर्याप्त निद्रा लिनुपर्छ ।

हामीमध्ये धेरैको बानी हुन्छ एकै स्थानमा घण्टौ बस्ने । दिसा–पिसाब रोक्ने । यस्तो बानीले पनि मिर्गौलाको समस्या निम्त्याउँछ । खासगरी लामो समय पिसाब रोक्ने बानी त्याग्नुपर्छ ।

चिकित्सकहरुका अनुसार मोटोपना हुने व्यक्तिमा समेत मिर्गौला सम्बन्धि रोग लाग्ने जोखिम धेरै हुने गर्छ । यस्तो जोखिम सामान्य मानिसहरुको तुलनामा मोटापना भएका मानिसमा दोब्बरले हुने गर्छ । त्यसैले, मिर्गौला सम्बन्धि रोग लाग्नबाट बच्नका लागि पनि मोटोपनाहुनबाट बच्न जरुरी छ ।

यसैगरी मधुमेह, उच्च रक्तचाप तथा मुटु रोग भएमा चिकित्सकसँग परामर्श गरी नियन्त्रणका उपाय अपनाउनुपर्छ ।

सन्तुलित खानपान

गलत खानपान, अत्याधिक मात्रामा जंकफुडको सेवन तथा शरीरमा पानीको कमीका कारण पनि कम उमेरमै मिर्गौला सम्बन्धि समस्याले सताउने गरेको छ । मिर्गौलालाई स्वस्थ राख्नका लागि भिटामिन, मिनरल्स तथा प्रोटिन लगायतका पोषणतत्वयुक्त आहार  सेवन गर्न जरुरी छ  । पोषणयुक्त तथा सन्तुलित आहारको सेवनले मिर्गौलालाई सही पोषण पुग्छ र यसकोे कार्यक्षमता बढ्छ ।

नुनमा सोडियमको मात्रा अधिक हुन्छ । अधिक मात्रामा सोडियमको सेवनले शरीरमा उच्च रक्तचापको समस्या निम्तने गर्छ । मिर्गौला सम्बन्धि कति समस्या उच्च रक्तचापका कारण हुन्छ भने उच्च रक्तचापका कारण पनि मिर्गौला सम्बन्धि समस्या हुने गर्छ । त्यतिमात्र नभई, ज्यादा नुनको सेवनकै कारण मिर्गौलामा पत्थरीको समस्या समेत हुने सम्भाmवना बढ्छ ।

मिर्गौलालार्ई स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन निकै जरुरी छ  । दिनमा तीन देखि चार लिटर पानीको सेवन गर्नाले मिर्गौलाले शरीरमा भएको विषात्त पदार्थलाई पिसाबबाट बाहिर निकाल्ने गर्छ । यसैगरी मिगौलालाई स्वस्थ राख्न झोलिलो पदार्थको सेवन पनि त्यति नै जरुरी छ । विशेषगरी, फलफूलको रस, दालको झोल लगायतका पेय पदार्थबाट शरीरले पर्याप्त मात्रामा झोलको पुर्ति हुने गर्दछ ।

यस्ता झोलिलो पदार्थमा शरीरलाई चाहिने सबै किसिमका आवश्यक पौष्टिक तत्व रहेको हुन्छ । जबकी बजारमा पाइने चिसो पेय पदार्थ, चिया तथा कफीको सेवनले भने मिर्गौलालाई नराम्ररी प्रभावित पार्न सक्छ ।

आवश्यक सर्तकता

मिर्गौलाका रोगीहरु मात्र नभएर सामान्य मानिसहरुले पनि औषधिको  सेवन गर्नुपूर्व जहिले पनि चिकित्सकको सल्लाह लिएरमात्र औषधिको सेवन गर्नुपर्छ । जस्तो सुकै दुखाईमा पनि आफू खुशी औषधीको सेवन गर्नु हुँदैन । यसले मिर्गौलालाई नराम्ररी विर्गान सक्छ ।

धुमपान तथा मद्यपानका कारण पनि मिर्गौलालाई असर पर्न सक्छ । धुमपान तथा मद्यपानले शरीरमा विषाक्तको प्रवाह गर्छ । जसका कारण मिर्गौैलाले काम गर्ने क्षमतामा कमी आउने गर्छ ।

मिर्गौलाको संभावित जोखिमबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परिक्षण हो । पिसाब, रगत तथा मिर्गौलाकोे नियमित परीक्षणबाट मिर्गौला सम्बन्धित संभावित रोगबारे जानकारी पाउन सकिन्छ र आवश्यक सर्तकता अपनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment