Comments Add Comment

साउनको सोमबारे औंसीको महत्व र पूजा विधी

आज सम्भवतः हिन्दु धर्मालम्बीहरूको लागि यस वर्षकै सबैभन्दा पवित्र दिन हो । सोमबारको औंसी त्यो पनि साउन महिनामा परेको छ । यस दिन पुनर्वसु नक्षत्रले झनै यस दिनको महत्व बढाएको छ । यी विभिन्न संयोगका कारण आजको दिन दान धर्म र सद्विचारको लागि अतिपवित्र दिनको रूपमा मान्ने गरिएको छ ।

हिन्दु शास्त्रले यस तिथिमा भगवान शिव, विष्णु र पिपलको वृक्षलाई १०८ पटक परिक्रमा गर्दा सद्कामना पूरा हुने मान्यता राखिन्छ ।

यस वर्ष साउन महिनामा नै औंसी र पूर्णिमाको संयोग समेत परेको छ । आज सोमबारे औंसी परेको छ भने साउन १९ गते जनैपूर्णिमा पनि सोमबार नै परेको छ । ज्योतिषशास्त्रीहरूका अनुसार साउने सोमबार नै अमावस्या परेको यो संयोग २० वर्षपछि मिलेको हो भने साउनमा नै औंसीपछि सोमबार नै पूर्णिमा परेको संयोग ४७ वर्षपछि मिलेको हो । साउने सोमबारको दिन वृक्ष तथा वनस्पतिप्रति आफू कृतज्ञ हुने पर्वको रूपमा यसलाई मनाइन्छ । सोही कारण साउन महिनाभरि नै हरियो रंगलाई शुभ मान्ने गरिन्छ ।

धर्मशास्त्रका अनुसार पितृपक्षको रूपमा मानिने चन्द्रमास अनुसारको अमावस्या अर्थात् औंसी र सूर्यमास अनुसार मनाइने सोमबार आफैंमा महत्वपूर्ण छ । सोमबारलाई चन्द्रमा खुसी भएको दिनको रुपमा मान्ने गरिन्छ भने अमाबस्यालाई पितृहरूको महत्वपूर्ण दिन मान्ने गरिन्छ ।

हिन्दू शास्त्रमा पित्रृहरू चन्द्रमाभन्दा माथि बस्छन् भन्ने मान्यता छ । त्यही पितृपक्षको दिन चन्द्रमा खुसी भएको अवस्थामा दान दक्षिणा गरेमा आफ्ना पितृहरूले त्यसको फल पाउने र त्यसको आशीष लागेर आफुनो पनि श्रीवृद्धि हुन्छ भन्ने मान्यता रहेको नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।

सोमबारे औंसीका दिन सूर्योदयभन्दा अघि अर्थात् ब्रह्म मुहूर्तमा पिपलको बोटमा जल तथा दूध चढाउँदा पितृदोष शान्त हुन्छ भन्ने मान्यता छ । यस दिन बिहान कसैसँग पनि नबोली नहुाउनु पर्छ भन्ने मान्यता राखिन्छ ।

सोमबारे औंसीको पूजा विधि

यसदिन घरका पूर्वजहरूलाई तर्पण दिने गरिन्छ । उनीहरूलाई शुद्ध रूपमा घरमा तयार पारिएको खानेकुराबाट उनीहरूलाई सन्तुष्ट गराउँदा आशीर्वाद मिल्छ भन्ने विश्वास छ । यस दिन भोकानाङ्गालाई दिइने दानले विशेष महत्व राख्ने विश्वास गरिन्छ । यस दिन बिहानै उठेर कसैसँग पनि नबोली नुहाउने गरिन्छ । त्यसपछि विभिन्न मन्दिर र पिपलको रुखमा गएर पवित्र जल चढाउने गरिन्छ ।

अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गरिन्छ । कपासको सट्टा रातो रंगको धागो र केसर प्रयोग गर्नु राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिने मान्यता राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment