Comments Add Comment

प्रिय पात्र : धर्मसत्तामाथि जेहाद छाड्ने सोराया

कसैले पनि एकपल्ट भेटेपछि कहिल्यै नभुल्ने पात्र हो सोराया एम. (मनुचेरी) । उसलाई  मैले इरानी फिल्म ‘द स्टोनिङ अफ सोराया एम’ मा भेटेकी हुँ । यो फिल्म फ्रेन्च–इरानी पत्रकार फ्रेइडोन सहब्जमको १९९० मा प्रकाशित किताबमा आधारित छ । जुन किताब आज पनि इरानमा प्रतिबन्धित छ ।

सोराया वास्तविक पात्र थिई । निरपराध हुँदाहुँदै पनि क्रुर परम्परा र घोर षड्यन्त्रसित पराजित भएर कठोर यातना र मृत्युसँगै यो पृथ्वीबाट बिदा लिई । जब–जब महिलामाथि हुने हिंशाका क्रुरता सम्झन्छु– हरेकपल्ट मेरो मथिंगलमा सोरायाका आँखा आएर अड्किन्छन् । इरानी–अमेरिकी अभिनेत्री मोजहान मार्नोको जीवन्त र शानदार अभिनयले मभित्र यति गहिरो बिम्ब छोडेको छ कि अहिलेसम्मै पनि म वास्तविक सोरायाकै रक्तमुछेल आँखाहरुबाट खेदिन छोडेकी छैन ।

सोराया मेरो मनमा बसेकी एक शास्वत र अनन्य पात्र हो । पछि मैले उसलाई गुगलमा पनि भेटें । पर्सिया लगायत धार्मिक र सांस्कृतिक कट्टरतामा बाँचेका समाजमा कतिकति सोरायाहरू स्टोनिङ (ढुंगाले हानेर मार्ने) प्रथाका शिकार भए होलान् ? कति अहिले पनि भइरहेका होलान् ? यो कुराले मलाई मृत्युदण्डका रुपमा ‘स्टोनिङ’ प्रथाको प्रचलन बारे अध्ययन गर्न समेत प्रेरित गर्यो । यो प्रथा अरब र पर्सियन मूलका धेरै देशमा रहेछ । अफ्रिकाका केही देश र यता अफगानिस्तान र पाकिस्तानमा पनि रहेछ । धेरैजसो देशले यस्तो प्रथालाई कानुनी बन्देज लगाइसकेका छन् । तर कहीँकहीँ ठाउँ विशेषमा अहिले पनि छ ।

****

सोरायाको मृत्युलगत्तै संयोगले उसको गाउँमा पुगेका थिए पत्रकार फ्रेइडोन सहब्जम । सोरायाकी सानिआमा जाराले गाउँका मुखिया र धर्माधिकारीसँग लुक्दै आफूलाई सुनाएको बयानका आधारमा फ्रेइडोनले किताब लेखेका थिए, फ्रेन्च भाषामै । पछि त्यसको अनुवाद गरियो र फिल्म बनाइयो ।

यो किताब छापिएपछि इरानको सुदूर गाउँ कुपेहकी सोरायालाई संसारले चिन्यो । युरोप, अमेरिका र बाँकी विश्व पर्सियाली संस्कृतिमा कायम रहेको एउटा क्रुर प्रचलनसँग साक्षात्कार भयो । सोरायाको त्यही दुर्दान्त कथामाथि सन् २००९ मा बनेको फिल्म फिल्म हो, ‘द स्टोनिङ अफ सोराया एम ।’

तीन वर्षअघि होला, गहिरो सिनेमा चेत भएकी एक साथीले हेर्न सुझाएकी थिइन् सोरायाको यो कथा । उनको सिफारिसमा मैले अरु पनि थुप्रै फिल्म हेरें । तर, सोरायाले जसरी दिलदिमाग दुबै हल्लाउने पात्र सायदै अरु कोही छन् ।

थोरै मात्रै हरियाली भएको ढुङ्गेनी बस्तीमा दुई छोरा र दुई छोरीकी आमा सोराया लोग्नेको शारीरिक र मानसिक प्रहार खप्दै बाँच्न पनि मन्जुर थिई । लोग्ने अलि सोरायालाई छोडेर चौध वर्षकी फुच्ची केटीलाई जबर्जस्ती स्वास्नी बनाउन चाहन्थ्यो ।

तर, बहुविवाह गर्न नमिल्ने कानुनका कारण त्यसो गर्न सम्भव हुन्नथ्यो । लोग्नेको यौनसुखभन्दा माथि उठेर सोच्नै नसक्ने घोर स्त्रीद्वेषी चरित्र ! लोग्नेबाट चरम प्रताडना पाइरहँदा पनि उसले छुट्टै बाँच्ने दुस्साहस गरेकी थिइन । ऊ प्रतिकार गर्थी, बेस्सरी बाझ्थी तर विद्रोह गर्न, मुल्लातन्त्रले चलाएको कठोर शासना फड्किएर स्वतन्त्र हुन सक्दिनथी । परम्परा र धर्मको अत्याचारी शासनसित विद्रोह गर्ने आँट सोरायासित मात्रै होइन गाउँका कुनै महिलासित पनि थिएन ।

अलि यौनपिपासु मात्रै होइन, षडयन्त्रमात्रै खेल्ने दिमागको दुष्ट मान्छेसमेत थियो । उसले पुराना व्याभिचारी हर्कतका पोल खोल्दिने डर देखाएर धर्मगुरु(मुल्ला)लाई आफूतिर पार्यो र सोरायाबाट मुक्त हुने षडयन्त्र बुन्न थाल्यो । पर्सियाली समाजमा कुनै महिलालाई चरित्रहीन साबित गर्न सके त्यसलाई गाउँभरिका लोग्नेमान्छेले ढुंगाले हिर्काएर थिलोथिलो पारी मार्न पाइने चलन त्यतिबेलासम्म अवैध थिएन । (फ्रेइडोनको त्यही किताबले मच्चाएको हल्लीखल्लीपछि इरानमा यो प्रथालाई बन्देज गरिएको छ ।)

सोराया अलीको षडयन्त्रकी शिकार भई । उसलाई चरित्रहीन प्रमाणित गर्न सकिने दाउपेचका अगाडि उसको सारा प्रतिकार र आँसु निरर्थक भयो । उसको प्राण बचाउन सानिआमा जारा अन्तिमसम्म पनि गाउँको प्रधान, मुल्ला र अरु लोग्नेमान्छेसँग भिडी तर धर्मसत्ता र पितृसत्ताका अगाडि एक्ली महिलाको तागत के पुग्थ्यो ! आखिरमा रीतअनुसार गाउँको सार्वजनिक चउरको बीचमा खाल्डो खनेर छातीभन्दा माथिको भागमात्रै देखिनेगरी सोरायालाई पुरियो ।

दुबै हात पछाडि फर्काएर बाँधिएको अवस्थामा निसहाय सोरायाका आँखाले मौन फिराद गरिरहे, आखिरसम्म पनि । तर उसको निर्दोष आँखाको कोलाहल र फिराद सुन्ने कोही भएन । स्वयं उसका बुढा बाउ र किशोर छोराहरूले पनि सुनेनन् । दुराचारी, चरित्रहीन भएकीले ऊ मारिनैपर्छ भन्नेमा सबै एकमत थिए ।

उसलाई हिर्काएर मार्नका लागि थुपारिएका ढुंगाका टुक्राहरूनेरै अली, मुल्ला, प्रधान र गाउँका सबै पुरुषहरू उभिए । ती सबै ढुंगाहरू सोरायाको निधारमा ताकेर हिर्काउनका लागि राखिएका थिए । नियममुताविक सोरायाका बाले पहिलो ढुंगो फ्याँके, तर निशाना चुक्यो । दोस्रो ढुंगो फ्याँके, त्यो पनि चुक्यो । यसरी निशाना चुक्नु भनेको दोषी ठहर्याइएको व्यक्ति निर्दोष हुन सक्ने दैवी संकेतका रुपमा बुझिन्थ्यो । यस्तो बेलामा दोषी मानिएको व्यक्ति बाँच्न सक्ने सम्भावना हुन्थ्यो तर सोरायाको हकमा यो लागु भएन ।

अली सोरायालाई बाँच्न दिने पक्षमै थिएन । यो मौका खेर फाल्दा आफ्नो ऐयासीका लागि गरेका सारा खेल व्यर्थ हुन्थे । तैपनि सोरायाका लागि सबैसित जाराले अन्तिम गुहार गरी । रुँदै कराउँदै बौलाहीझैं धर्मसत्तालाई सरापी । तर अहँ, कसैले पनि सुनेन । आफ्नै बा र आफैंले जन्माएका छोराहरू अनि आफ्नै लोग्नेले हिर्काएका तीखा चुच्चा ढुंगाहरू सोरायाको निधारमै बज्रिए । गाउँभरिका सबै पुरुषहरूले पालैपालो फ्याँकेका ढुंगाका प्रहारले अलिबेरमा उसको प्राण लिइहाल्यो ।

अन्तिम दृश्यहरूमा एक शब्द नबोली, एक थोपा आसुको याचना नमागी चुपचाप खाल्डामा आधा पुरिएर सोरायाले साँधेको कठोर मौनता यति शक्तिशाली लाग्छ कि उसका आँखाले बोल्ने भाषा दुनियाँका भएभरिका शब्दकोषभन्दा शक्तिशाली लाग्छन् । त्यतिखेर लाग्छ, उसको त्यो मौनता उसलाई मार्न उद्दत सबै सत्ताविरुद्धको त्यतिखेरको सबैभन्दा ठूलो विद्रोह थियो । मैले कुनै किताब या सिनेमाबाट मौनताको शक्ति चिनेको यो पहिलो दृश्य थियो ।

सोराया मनुचेरी इरानको कुपेह गाउँकी एउटी जिउँदीजाग्दी, हाँस्दीखेल्दी महिला थिई । चार सन्तानकी मायालु आमा । आफ्नो जिन्दगीभन्दा पनि यो नर्कजस्तो संसारमा आफ्ना छोरीहरूको भविष्य कस्तो होला भन्ने कुराले भयंकर चिन्तित अनि विद्रोहको एउटै बाटो,एउटै विकल्प नदेखेर सत्तासित आत्मसमर्पित । मर्दामर्दै पनि उसले कलंकित संस्कृति र बिटुलो सभ्यतालाई चुनौती दिई । यस अर्थमा सोराया मेरो मनकी अभिन्न पात्र बनी ।

जब–जब सोरायालाई ढुंगा हानिँदै गरेको दृश्य सम्झन्छु,उसको निधारबाट छिर्का पर्दै ,भल छुट्दै निस्केको गाढा रातो रगत पर्सियाली सभ्यताको मात्रै होइन पुरै मानवजातिको चेतनाको कलंक हो भन्ने कुराले रन्थनिन्छु । मेरा लागि सोराया धर्म र पुलिंगकेन्द्री शासनले मारिएका, खेदिएका असंख्य स्त्रीहरूकी साझा बिम्ब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment