Comments Add Comment

मधेसमा दलित हत्याको सिलसिला

२९ असारमा अपहरणमा परेका सप्तरी शम्भुनाथ नगरपालिका ४, का ४० वर्षीय त्रिभुवन राम ३० गते नदी किनारमा मृत भेटिए । गतवर्ष त्रिभुवनको छोरीको सामूहिक बलात्कार भएको थियो ।

बिराटनगर उपमहानगरपालिका १६, दरहियाका ३० वर्षीय राजेश ऋषिदेव सदालाई घर जग्गा सम्बन्धी विवादको विषयलाई लिएर विपक्षीले निर्घात कुटपिट गरी आफ्नै घरमा झुन्ड्याएर हत्या गरेको परिवारको आरोप छ । २६ असारमा सिरहा लहान नगरपालिका १, मटियर्वाका १९ वर्षीय रोशन राम ३० गते मिर्चैयाको बसहा खोला नजिकैको काँसघारीमा प्रहरीले बेवारिसे लासका रुपमा फेला पारे ।

अपहरणपछि हत्या गरिएका त्रिभुवन रामकी छोरीको बलात्कार मुद्दामा चारजना जेल सजायँ काटिरहेका छन् भने तीनजना अझै फरार छन् ।

गाउँकै एकजना जमिनदारको दश कट्ठा जग्गामा त्रिभुवनको मोहियानी हक थियो । जिल्ला भूमिसुधार कार्यालयले मोहियानी हकको प्रमाणपत्र पनि दिइसकेको थियो । २९ गते जग्गा धनीसँग गाउँमा मिलापत्रको लागि छलफल थियो । छलफल सकेर त्रिभुवन घर आएका थिए ।

बेलुका साइकल चढेर गाउँ नजिकैको पसलतिर उनी हिँडेका थिए । पसलबाट फर्किदै गर्दा बाटोमै त्रिभुवन अपहरणमा परे । त्रिभुवन पसलबाट घर नफर्किएपछि रातभर खोजीकार्य सुरु भयो । उनी कतै भेटिएनन् ।

भोलिपल्ट परिवारले प्रहरीमा उजुरी गरे । अविरल वर्षा भइरहेको थियो । उजुरी गरेको ६ घण्टापछि मुतनी नदीमा पानी जमेको एउटा खाल्डोमा त्रिभुवनको शव फेला पर्यो । कुटपिटपछि हत्या गरेको अभियोगमा अनुसन्धानको लागि चारजना पक्राउ परेका छन् भने तीन जना फरार छन् ।

विराटनगर दरहियाका राजेश ऋषिदेव ( सदा ) आफ्नो आँगनमा कुलदेवताको मन्दिर बनाएका थिए । छिमेकी जग्गा धनिले मन्दिर आफ्नो जग्गामा परेको दावी गर्दै आएका थिए । दरहियामा एक मात्र मुसहर घर छ । असार १९ गते घरका सबै सदस्य मजदुरी गर्न वाहिरी सकेका थिए । घरमा राजेश दम्पती मात्र थिए । जग्गा धनीहरूले राजेशलाई निर्घात कुटपिट गरिरहेको सुनेर श्रीमती कलमीदेवी घटना स्थलतिर हिँडिन् । घटनास्थल पुगेपछि उनलाई पनि निर्घात कुटपिट गरेर रोडमा लडाए । कलमी भन्छिन्,´मलाई टाउकोमा हानेपछि मुर्छित भएँ । त्यसपछि केही थाहा भएन । विपक्षीले श्रीमानलाई कुटपिट गरी आफ्नै घरमा लगेर झुन्ड्याइदिए ।’

दिउँसो कामबाट घर फर्केको राजेशका भाइले भाउजूलाई मुर्छित र दाइलाई घरमा झुन्डिएको देखेपछि हारगुहार गरेका थिए । तर, उमेशको बिलाप कोही सुन्ने भएन । उमेश भन्छन्, ´गाउँकै एकजना पहाडिया गोपाल दाईले आफ्नो टेम्पोमा कोशी अंचल अस्पताल पुर्याइदिए । तर, अस्पतालले मृत घोषणा गरिदियो ।` प्रहरीले अहिलेसम्म मुद्दा दर्ता लिएको छैन ।

राजेशका बुवा अमरलाल भन्छन्, ´प्रहरीले मुद्दा दर्ता लिएन । धेरैपटक धाएँ । प्रहरीले अनुसन्धान गर्नुपर्छ मात्र भन्छन् । सबै मिलेर प्रमाण नष्ट गरिसकेको छ । हामी शोकमा बेहोस थियौं । विपक्षीहरु पहुँचबाला हुन् । हामी सोझा मान्छे ।’

‘पोस्टमार्टम रिपोर्ट बनाएर हामीलाई कम्जोर पारे । लास कुहिन्छ भनेर उनीहरुले हतार हतार प्रक्रिया पुर्याए । र, उनीहरुले नै लास खाल्डो खनेर गाडे, कलमीले थपिन्, मोरंगका जिल्ला प्रहरी प्रमुख सन्तोष खड्कासँग फोनसम्पर्क गर्दा धेरै कुरा बताउन चाहेनन् । उनले प्रस्ताव गरे, ‘हामीसँगै छानवीनमा जाउँ ।’

०००

मिर्चैया नगरपालिका ९, मा हत्या गरी फालिएका सिरहा लहानका रोशन रामको शव दुर्गन्धित भइसकेकाले सोही दिन मिर्चैया प्रहरीले लहान अस्पताल ल्याइएको थियो । साउन १ गते प्रहरीले बेवारिसे शवको पोस्टमार्टम गरिसकेको थियो । बेवारिसे लास भेटिएको थाहा पाएपछि २ गते रोशनका बुबा सिफैत राम अस्पताल पुगेका थिए ।

रोशनले लगाएको कपडा र प्रहरीले देखाएको फोटोको आधारमा सिफैतले आफ्नो छोरालाई चिनेका थिए । लकडाउनको समयमा साथीहरूसँग सीमावर्ती गाउँ गएका बेला उनी लागुपदार्थसहित पक्राउ परेका थिए । लागु पदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले १० हजार धरौटी तोकेको थियो । गरिबीका कारण समयमा उक्त रकम तिर्न सकेनन् । त्यसपछि रोशनलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । एक महिना जेल बसाइपछि १० असारमा उनी घर आएका थिए ।

जेलमै चिनजान भएका व्यक्तिले घुम्न जाऔँ भन्दै असार २६ गते बाइकमा चढाएर रोशनलाई लगेका थिए । उनीहरु त्यही दिन राति रोशनको ससुराली मिर्चैया पनि पुगेका थिए । तर, उनीहरु त्यहाँ धेरैबेर रोकिएनन् । २६ गते राति नै रोशनलाई हत्या गरी फालिसकेको अवस्थामा उनके शव भेटियो ।

रोशनकी आमा सुनैरदेवीले भन्छिन्, ‘कान्छी छोरी गंगाको धुमधामका साथ विवाह गर्ने भनेर वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाएर चैत ९ गते काठमाडौं हिँडेका थिए । लकडाउनको हल्ला चलेपछि उनी चैत १० गते घर फर्किएका थिए ।` रोशनको हत्या भएपछि एकली श्रीमती अन्जली मुर्छित छिन् । हत्या अभियोगमा दुइजना पक्राउ परिसकेका छन् ।

कोभिड १९ को समयमा रुकुमको सोतीबाट सुरु भएको दलित युवा नवराज बिकको नरसंहारको घटनादेखि हाल त्रिभुवन राम, रोशन राम र राजेश सदाको घटनासम्म आइपुग्दा देशमा लोकतन्त्र र मानव अधिकारप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

यतिबेला जताततै दलित मारिएका छन् । जताततै दलित कुटिएका छन् । दिनप्रतिदिन दलितहरुमाथि कुनै न कुनै घटना घटिरहेकै छन् । तर, पनि सरकार र राजनीतिक दल मौन छन् । कुनै सामाजिक र सामूहिक चेतनामूलक अभियान अभियान चलाएको छैन । न त कसैले दलित नरसंहारलाई राजनीतिकरुपमा प्रमुख मुद्दा बनाएको छ । सबै सरोकारवाला पक्षहरू मौन छन् । किनभने त्यहाँ दलित नेतृत्व छैन, गैरदलितहरुकै हालीमुहाली छन् ।

यतिबेला मधेस दलित हत्याको हर्टस्पोर्ट बनेको छ । दिनप्रतिदिन कुनै न कुनै घटना घटेकै छन् । प्रदेश सरकार भने कतै राहतको नाममा पाँचलाख बोकेर जान्छन्, त कतै ललिपप बाँड्दै हिडेका छन् । दलित न्याय र अधिकारलाई पैसा र पावरमा साटिरहेका छन् । गाउँघरमा थुप्रै घटनाहरु पैसा र पावरको बलमा दवाइरहेका छन् । केही घटनाहरु मात्र सार्वजनिक हुने गरेका छन् ।

तीनै तहको सरकारले पनि तिनै पुराना यथास्थितिवादी समाजिक राजनीतिक चरित्र देखाइरहेका छन् । अब दलित समुदाय कोसँग न्याय र अधिकारको आशा गर्ने ? प्रश्न र स्थिति दुबै गम्भीर छन् ।

दलित आयोग निर्माणको कुरा त अहिले उठ्नै छाडेको छ । लाग्छ, दलित मान्छे नभएर कुनै निर्जीव वस्तु हुन् जस्तो व्यवहार जताततै भइरहेको छ । दलितमाथि भएको अत्याचारले कसैलाई पोलेको छैन । पोलेको छ त केबल दलितलाई मात्र ।

लकडाउनको समयमा सबैभन्दा धेरै कष्ट कसैले झेलेका छन् भने त्यो दलित समुदाय नै हुन् । जसको कुनै हिसाब किताब छैन् । दलित र विपन्न मजदुर परिवार एकातिर काम र माम नपाएर भोकै मर्नु परिरहेको अवस्था छ भने अर्कोतिर पुस्तौंदेखि जरा गाडेर रहेका जातीय विभेदका कारण नरसंहारका घटनाहरुबाट विक्षिप्त छन् । अहिलेसम्म जुन कारणले दलितहरू मारिए, त्यो जातीय विभेदकै कारण मारिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment