Comments Add Comment

प्रदेश २ मा फेरि लकडाउनको माग, कोरोना संक्रमितमध्ये २० प्रतिशतमा लक्षण देखिन थाल्यो

१५ साउन, जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ ।

कुल २६ हजार ४ सय ७ जनाको स्वाब संकलन गर्दा २ हजार ५२१ जनाको नतिजा आउन बाँकी छ । बुधबार सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा समेत संक्रमण देखिएको छ ।

पहिला बिना लक्षणका संक्रमित देखिए पनि अहिले प्रदेशमा कोरोनाको लक्षणसहितका संक्रमितहरु देखिन थालेका छन् । लक्षणसहितको संक्रमण एकाएक बढ्न थालेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमणको जोखिम बढ्न थालेपछि फेरि लकडाउनमा जानुपर्ने स्थिति आउन लागेको विज्ञले सुझाएका छन् ।

यसअघि ‘इम्यूनिटी पावर’ राम्रो रहेकाले किशोर तथा युवा उमेरका व्यक्ति संक्रमित नहुने चर्चा भए पनि अहिले जुनसुकै उमेरसमूहका व्यक्ति संक्रमित हुन थालेका छन् ।

स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा जुनसुकै उमेर समूहमा लक्षणसहितको संक्रमण देखिन थालेको बताउँछन् ।

धनुषाको शहीद नगरपालिका वडा नम्बर ८, डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमित भएर मृत्यु भएको घटनाले यहाँ जुनसुकै उमेर समूहका व्यक्ति कोरोना संक्रमित भइरहेको देखाउँछ । ती पुरुषमा अधिक कोरोना भाइरसको मात्रा देखिएको थियो ।

प्रदेश सरकारले कोरोना भाइरस सम्बन्धी सुझाव दिन बनाएको विज्ञ समूहका चिकित्सक डा. रामकेवल साह पनि प्रदेशमा देखिएका संक्रमितमध्ये १५ देखि २० प्रतिशतमा लक्षण देखिन थालेको बताउँछन् । ‘अहिले संक्रमितको स्वरुप बदलिएको छ,’ साह भन्छन्, ‘पहिला कोही बाहिरबाट संक्रमित भएर आउँथे र उनको जाँच गरी आइसोलेसनमा राखिन्थ्यो, अहिले भने समुदायस्तरमै लक्षणसहितको भाइरस देखिन थालेको छ ।’

यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु
स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा लक्षणसहितको भाइरस देखिन थालेकाले उपकरण तयारीमा विशेष ध्यान दिनुपर्ने बताउँछन्

पहिला अन्यत्रबाट संक्रमण फैलिने डर थियो अहिले आफ्नै ठाउँमा फैलिने डर रहेको बताउँदै उनले भने, ‘कुनै न कुनै घरका व्यक्ति कुनै न कुनै कामका लागि बजार जान्छन् । तर, ती मान्छे बाहिरबाट संक्रमित भएर आए आफ्नो घरका बालबच्चालाई सार्न सक्छन् । बालबच्चा अर्काको घरमा खेल्न गए त्यहाँ सार्न सक्छ, त्यसैले यो डरलाग्दो स्थिति हो ।’

योबेला गम्भीरतापूर्वक ध्यान नदिइए र सावधानी नअपनाइए ठूलो मूल्य चुकाउनुपर्ने बताउँछन् डा. साह । यसका निम्ति तीनवटै तहको सरकारले चनाखो हुँदै तयारी गर्नुपर्ने उनको सुझाव छ ।

सर्वसाधारणले पनि आफ्नो बानी, व्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउँदै डा. साह भन्छन्, ‘अन्यथा कोरोना यो प्रदेशको सबैतिर सर्न सक्छ ।’

यसकारण अत्यन्तै जोखिममा छ प्रदेश

प्रदेशको पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्ज पछिल्ला दिन कोरोना संक्रमणका कारण आक्रान्त बनेको छ । यी दुवै शहरमा भारतबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि दुवै शहरमा लकडाउन गरिएको छ । बीचका अन्य शहर र जिल्ला भने त्रसित भएका छन् ।

यता, धनुषाको शहीद नगरपालिकाको डुमरियामा १ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएपछि यहाँ पनि समुदायस्तरमा संक्रमण फैलिने त्रास छ । ‘डुमरियाको मृत्युले कोरोना धनुषामा पनि समुदायस्तरमा फैलिइसकेको देखिन्छ’ डा. साह भन्छन्, ‘सबै निकाय, सरोकारबालादेखि आम जनता समेतले सावधानी अपनाउनु अति जरुरी छ ।’

प्रदेश २ को आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । डा. साह सबै जिल्ला भारतीय सीमासँग जोडिनु, ३  प्रतिशत भू–भागमा रहेको प्रदेशमा २० प्रतिशत जनसंख्या रहनु, वैदेशिक रोजगारीमा यही प्रदेशका बढी रहनु र सबैभन्दा गरिबी रहेका कारण यो प्रदेश कोरोनाको बढी जोखिममा रहेको बताउँछन् ।

यी कारणले गर्दा यहाँ संक्रमण बढी फैलिन सक्ने उनी बताउँछन् । पहिलो चरणमै नियन्त्रण गर्नका लागि लकडाउन गरिए पनि त्यसबेला नियन्त्रण हुन नसकेको साहले अनलाइनखबरलाई बताए । ‘लकडाउन खोलिएपछि लक्षणसहितको कोरोना संक्रमण हवात्तै बढेको छ,’ उनी भन्छन्, ‘सबैले गम्भीररुपमा नलिए मृत्युदर पनि बढ्न सक्छ ।’

‘तयारी शुरु गरिहालौं’

समुदायस्तरमा फैलिएको संक्रमणलाई रोक्नु जरुरी रहेको विज्ञहरु बताउँछन् । यसलाई नियन्त्रण गर्न सबैभन्दा पहिला परीक्षणको दायरा बढाउन उनीहरु सल्लाह दिन्छन् ।

‘परीक्षणको दायरा बढाऔं, संक्रमित देखिनेवित्तिकै उनलाई आइसोलेसनमा राखेर उनको सम्पर्कमा आएकाको खोजी गरी जाँच गरौं र संक्रमित भएको ठाउँलाई सिल गरौं,’ डा. साह भन्छन्, ‘यसरी गर्दा संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।’

यसका अलावा आम जनताले पनि सतर्कता अपनाउनु जरुरी भएको उनी बताउँछन् । सवारी साधनमा यात्रा गर्दा २ जनाको ठाउँमा चारजनासम्म नबस्ने कुरा आफैं सोच्नु जरुरी भएको साहले बताए । बाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी, हात धुने कुरा आफैं गर्नुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा लक्षणसहितको भाइरस देखिन थालेकाले उपकरण तयारीमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै आईसीयू, भेन्टिलेटरको संख्या बढाउनु जरुरी छ,’ उनी भन्छन्, ‘यसबाहेक यसलाई नियन्त्रण गर्न तीनवटै तहको सरकारलाई तयारी गरिहाल्नुपर्छ ।’

लकडाउनको आवश्यकता छ

प्रदेश २ का आधाजसो व्यक्तिले अझै मास्कको प्रयोग नगरिरहेको सहनिर्देशक झा बताउँछन् । यसबाहेक भारतको बिहारमा केस बढिरहेको छ र उताबाट मान्छे आइरहेको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । भीड पनि त्यस्तै देखिरहेकाले लकडाउन गरिए यस्ता कुरा नियन्त्रण गर्न सकिने बताउँछन् उनी ।

प्रदेश सरकारका विज्ञ डा. साह पनि भीडभाड कम नभए, मास्कको प्रयोग गर्नेको संख्या नबढे लकडाउन लगाउनुपर्ने बताउँछन् । यद्यपि उनी लकडाउन अन्तिम विकल्प भएको बताउँछन् । ‘शुरुमा सर्वसाधारणलाई नै व्यवहारमा परिवर्तन ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘यसो हुन नसके लकडाउन लगाउँदा हुन्छ ।’

यो पनि पढ्नुहोस समुदायमा फैलियो कोरोना, प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोन’मा परे यो पनि पढ्नुहोस पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि यो पनि पढ्नुहोस कोरोनाले बजायो खतराको घण्टी, घरदैलोसम्म आइपुग्यो ! यो पनि पढ्नुहोस प्रदेश ५ मा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ को डर यो पनि पढ्नुहोस कर्णालीमा आठ दिनमा १६६ संक्रमित, लक्षणसहितका बिरामी बढे यो पनि पढ्नुहोस राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment