Comments Add Comment

फेरिएका प्रधानमन्त्री, जसले आज कोरोनाको ओखती बताएनन् !

२० साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरुसँग साढे चार घण्टा विताए । तर, विगतको भन्दा फरक शैलीमा ।

जनस्वास्थ्य, अर्थतन्त्रका विज्ञहरुलाई बोलाइएको छलफलमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएर प्रधानमन्त्रीले महामारीको सामनामा विपक्षीलाई पनि साथै लिएर अघि बढ्न खोजेको सकारात्मक सन्देश दिए ।

छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सिट खाली थियो । उनी भैंसेपाटीमा वामदेव गौतमसँग छलफल गर्न गएकाले आयन नभ्याएको स्रोतले बतायो ।

विपक्षी दलका नेतालाई समेत देखेपछि धेरैलाई लागेको थियो, लकडाउनबारे सरकारले ठूलै निर्णय गर्न लागेको त होइन ? कतै फेरि देशव्यापी लकडाउनको घोषणा गर्न लागिएको पो हो कि ?

तर, छलफल सकिएर निस्किँदा धेरैको साझा निष्कर्ष थियो, प्रधानमन्त्री ओली फेरिनुभएछ ।’

ठीक दुई महिना अगाडि, अर्थात २१ जेठमा प्रधानमन्त्री ओलीले यसरी नै विज्ञहरुसँग छलफल गरेका थिए । मंगलबार सहभागी अधिकांश विज्ञहरु त्यो बैठकमा पनि थिए ।

जेठको बैठकमा प्रधानमन्त्रीले विज्ञका कुरा सुन्नुको साटो आफ्ना कुराहरु धेरै सुनाए । तीतो शब्दमा भन्दाखेरि अप्रमाणिक र अवैज्ञानिक तर्कहरुमा टेकेर विज्ञहरुमाथि नै प्रधानमन्त्रीले प्रश्न उठाएका थिए । त्यसपछि उनले बेसारपानीले कोरोना ठीक हुन्छ भन्दै विज्ञले बोल्ने कुराहरु संसददेखि सार्वजनिक स्थलहरुमा बारम्बार बोले । प्रधानमन्त्रीलाई व्यंग्य गर्दै ‘बेसार पानी’ गीतहरु पनि बने ।

तर, मंगलबार त्यसो भएन । प्रधानमन्त्री फेरिएको शैलीमा प्रस्तुत भए ।

प्रधानमन्त्री छलफलको सुरु र अन्त्यमा बोले । तर, पहिलेजसरी अप्रमाणिक र अवैज्ञानिक तर्कहरु पेश गरेनन् ।

‘यसअघि उहाँ आफैं विज्ञ जसरी प्रस्तुत हुनुभएको थियो, अनेक ओखतीका कुरा गर्नुभएको थियो’ डा. समीरमणि दीक्षित भन्छन्, ‘योपटक त्यसो गर्नु भएन । उहाँले विज्ञहरुलाई ठूलो बनाएर कुरा सुन्नुभयो, पहिलेजस्तो चाहिनेजति मात्र सुझाव लिन्छौ भन्नुभएन ।’

मंगलबारको छलफलमा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको बुझाइ पनि दीक्षितको जस्तै छ । ‘त्यसबेला उहाँले नेपाली भान्सा, खान्की, रोगप्रतिरोधी क्षमताको धेरै कुरा गर्नुभएको थियो’ उनी भन्छन्, ‘यसपटक रोग प्रतिरोधी क्षमता बढाउनुपर्छ त भन्नुभयो, तर अरु कुरा गर्नुभएन ।’

जेठ २१ र साउन २० दुबै छलफलमा सहभागीहरुका अनुसार त्यसबेला प्रधानमन्त्रीलाई सबथोक ठीक छ, कोरोना सरकारको नियन्त्रणमा छ भन्ने लागेको थियो । तर, मंगलबारको छलफलमा उनमा कोरोना संक्रमण व्यापक फैलिने हो कि ? भयावह अवस्था आउने त होइन भन्ने चिन्ता देखिएको छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘कोरोना हाम्रो नियन्त्रण बाहिर जाने त होइन भन्नेमा प्रधानमन्त्री सतर्क हुनुभएको पाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment