Comments Add Comment

लकडाउन गर्ने कि नगर्ने ?

कुनै पनि कुराको समस्याको सही पहिचान नहुँदासम्म समाधानका विधिहरु प्रभावकारी हुँदैनन् । कोभिड १९ लगाउने सार्स कोभ टु भनिएको भाइरसका बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । जति पत्ता लागेको छ, त्यसैलाई आधार मानेर समाधानका उपायहरु खोजिएको छ । नेपालमा लकडाउन गर्ने या नगर्ने विषय मुक्तिनाथ भ्रमण ठीक कि पाथिभरा ठीक भनेजस्तो गरी मत सर्वेक्षण गरिन्छ । बोल्न सक्नेमध्ये बहुमतले जुन तीर्थस्थल ठीक भन्छन्, त्यहीँ जाने निर्णय गरिन्छ ।

गत २०७६ चैत ११ मा गरिएको लक डाउन सरकार आफैंले खुकुलो गरेन । व्यापारी वर्गले जबरजस्ती उल्लङ्घन गरेपछि लागू गराउन नसकेको कारण खुकुलो पारेको हो । २०७६ चैत ९ बाट बन्द लामो दुरीका सार्वजनिक यातायात अहिलेसम्म खोलिएको छैन । सरकारलाई आवाज सुनाउन सक्ने हैसियतमा पुगेका मानिसहरुले फेरि एकदम कडा लकडाउन वा कर्फ्यू लागू गर्नुपर्‍यो भनी लविङ गरिरहेका छन् ।

सार्स कोभ टु कसरी सर्छ भन्ने एकीन भएको छैन । अहिलेसम्म पत्ता लागेअनुसार संक्रमितले खोक्दा र हाछ्यूँ गर्दा एक मिटरको दुरीमा रहेको मानिसले सास तान्दा सर्न सक्छ । दोस्रो, भाइरस टाँसिएको सतहमा छोएर हातले नाक छुँदा सर्न सक्छ । यसकै आधारमा मानिसहरुबीच एक मिटरको दुरी कायम गर्ने, मास्क लगाउने र साबुन वा अल्कोहलले हात सफा गर्ने भनिएको हो ।
मानिसहरुबीचको दुरी र सरसफाइको प्रभावकारी पालना नहुने भएमा लकडाउन आवश्यक पर्छ । लकडाउन भनेको भाइरस नियन्त्रण गर्ने अलग विधि होइन । यो सामाजिक दुरी र सरसफाइलाई प्रभावकारी बनाउन प्रयोग गरिने थप पूरक विधि हो । सामाजिक दुरी र सरसफाइ मात्र पालना गर्दा मानिसहरुको कामकाजमा सामान्य असर परे पनि पूर्ण बाधा पर्दैन । तर, लकडाउनले पूरै काम ठप्प पार्ने हुँदा यसका अनेकौं नकारात्मक प्रभाव पर्छन् । त्यसैले जापान लगायत धेरै देशले एक दिन पनि लकडाउन गरेका छैनन् ।

सामाजिक दुरी, सरसफाइ र लकडाउन संक्रमण अन्त्य गर्ने विधि होइनन् । संक्रमणको फैलावटलाई कम गर्ने मात्र हो । एक्कासी संक्रमितको संख्या धेरै भएर अस्पतालको सेवा पुर्‍याउन नसकिने सम्भावित अवस्थालाई आँकलन गरेर लकडाउन गर्ने हो । सामाजिक दुरी र सरसफाइले खासै प्रतिकूल असर नगर्ने हुँदा सधैं लागू गर्न मिल्छ । लकडाउन गरेर अस्पतालमा बेडहरु र स्वास्थ्यकर्मीको संख्या थप्ने हो ।

भाइरसले शरीरमा कसरी असर गर्छ भन्ने कुरा पूर्णरुपमा एकीन भएको छैन । कसरी असर गर्छ भन्ने एकीन नभई खोप पत्ता लगाउन सकिंदैन । अँध्यारोमा झटारो हान्ने विधिले पनि खोप पत्ता लाग्ने सम्भावना त हुन्छ । तर, सम्भावना अत्यन्तै न्यून हुन्छ । अहिलेसम्म १० वर्षभन्दा कम अवधिमा कुनै खोप पत्ता लागेको छैन । सार्स कोभ टु आरएनए भाइरस हो र यो म्युटेसन (उत्परिवर्तन) हुन्छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसको खोप पत्ता लाग्ने सम्भावना शून्य प्रायः छ । प्रयास गरे असम्भव केही छैन भन्ने मान्यताबाट हेर्दा मात्र खोप पत्ता लाग्न सक्ने देखिन्छ ।

नेपालमा २०७६ फागुनदेखि अहिलेसम्म कोभिडको नाममा सरकारको कति अर्ब खर्च भयो ? लकडाउन गरेर जनताको आम्दानी कति खर्ब गुम्यो ? सरकारको राजस्व कति अर्ब गुम्यो ? सरकारको प्रत्यक्ष खर्च मात्र होइन, राजस्व र जनताको आम्दानी घट्नु पनि कोभिडको कूल खर्चकै अंश हो । तर, अस्पतालमा बेड र स्वास्थ्यकर्मीको संख्या कति बढ्यो त ? खर्च सदुपयोग भएको छ ? यसतर्फ पनि चासो दिनुपर्छ ।

आरटी पीसीआरले शरीरमा भाइरस रहे नरहेको पत्ता लगाउने हो । तर यसले धेरै नै फल्स रिजल्ट (गल्ती नतिजा) दिने भएकाले यसको प्रभावकारिता पनि आंशिक मात्र हुन्छ । यसले ३० देखि ६० प्रतिशत मात्र सही नतिजा दिन सक्छ भनिन्छ । १०० जना संक्रमितलाई जाँच गर्दा ४० देखि ७० जनासम्मको नतिजा नेगेटिभ आउन सक्छ । फल्स पोजेटिभ आउने संख्या यति धेरै त हुँदैन । तर, फल्स पोजिटिभ पनि आउँछ । हालै अमेरिकामा एक संस्थाका ९० जनामा टेस्ट गर्दा ९० जनामै पोजेटिभ देखियो । शंका लागेर पुनः टेस्ट गर्दा सबै नेगेटिभ देखियो ।

भाइरसले गर्ने क्षतिबारे पनि सही अनुमान भएको छैन । चीनको तथ्यांक हेर्दा संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएको छ । कुनै ठाउँ विशेषमा १० प्रतिशत र कुनैमा २ प्रतिशत मृत्यु देखिन्छ । कतिपय सर्वेक्षणले परीक्षण गरेभन्दा कयौं गुणा बढीलाई संक्रमण भई बिना लक्षण निको भइसकेको देखाएको छ । त्यसको आधारमा मृत्युुदर १ प्रतिशत, ०.५ प्रतिशत, ०.२ प्रतिशत भन्ने अनुमान पनि छन् ।

लकडाउन भनेको भाइरस नियन्त्रण गर्ने अलग विधि होइन । यो सामाजिक दुरी र सरसफाइलाई प्रभावकारी बनाउन प्रयोग गरिने थप पूरक विधि हो । सामाजिक दुरी र सरसफाइ मात्र पालना गर्दा मानिसहरुको कामकाजमा सामान्य असर परे पनि पूर्ण बाधा पर्दैन । तर, लकडाउनले पूरै काम ठप्प पार्ने हुँदा यसका अनेकौं नकारात्मक प्रभाव पर्छन् । त्यसैले जापान लगायत धेरै देशले एक दिन पनि लकडाउन गरेका छैनन् ।

कोभिड १९ लाई विश्वमहामारी घोषणा गर्नु षडयन्त्र हो भन्ने एक वर्गका चिकित्सक र वैज्ञानिक छन् । उनीहरुले यसको वास्तविक मृत्युदर ०.१ प्रतिशत मात्रै हो भन्छन् । जुन सामान्य मौसमी रुघाखोकी बराबर हो ।

परीक्षणका लागि प्रयोग गरिने विभिन्न औषधीको साइड इफेक्ट र मानसिक त्रासले रोग प्रतिरोधात्मक क्षमतामा कमी आएका कारण मृत्यु दर बढी देखिएको उनीहरुको तर्क छ । यसको संक्रमण दर (आर नट) पनि एकीन भएको छैन । एकजना संक्रमितले औसतमा ५ जनालाई सार्छ भनियो सुरु सुरुमा । अहिले २.२ जनामा सार्न सक्छ भनिएको छ ।

लकडाउन गर्ने र बारम्बार कोभिडको खबर प्रवाह गर्ने विधिबाट मानिसहरुमा एन्जाइटी र डिप्रेसन एकदमै बढ्ने चिकित्सक र वैज्ञानिकहरुले बताइरहेका छन् । यो पनि कति गुणाले बढ्छ भन्ने एकीन छैन । वुहानमा लक डाउन गर्दा चीन सरकारले सबैको घर घर आवश्यक वस्तु पुर्‍याउने व्यवस्था गरेको थियो । त्यहाँ २५ प्रतिशत मानसिक समस्या बढेको रिपोर्ट आएको थियो । भोक र अभाव हुने अरु देश ठाउँमा यो अझ बढी हुन सक्छ ।

भाइरसका विज्ञ भनेका मुटुरोग विशेषज्ञ, फोक्सो रोग विशेषज्ञ र अस्पतालका चिकित्सकहरु होइनन् । यसका विज्ञ भाइरोलोजिस्ट हुन् । मानिसबाट मानिसमा सर्ने रोग भएका कारण यसलाई नियन्त्रण गर्ने कार्यमा भाइरोलोजिष्ट, समाजविद्, अर्थविद्, मनोविद र अस्पताल व्यवस्थापकहरुको राय सल्लाहमा सरकारले निर्णय लिनुपर्छ । यो सुरक्षा बलको राय सल्लाहमा निर्णय गर्ने विषय होइन ।

सत्यतथ्य बुझेपछि सर्वसाधारणले आफ्नो धारणा बनाउने हो । कति डराउने र कति सचेत हुने भन्ने विषय सही सूचना लिएर निर्णय गर्ने हो । लकडाउन गर्नुपर्ने वा नपर्ने विषयमा सरकारलाई सुझाव दिनुअघि सर्वसाधारणले यसका फाइदा र नोक्सान केलाउने, जेमा फाइदा बढी देखिन्छ, त्यही सुझाउने हो । हरेक कुराको त्योभन्दा कम नोक्सान गर्ने अरु विकल्प पनि छन् कि भनेर सोच्ने हो । हरेक घटना, तथ्य र सत्यलाई बुझ्दा सबै मानिसको बुझाइ एउटै हुँदैन । तथापि बुझ्न सकिने कुरा बुझेर मात्र धारणा बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment