Comments Add Comment

मौलायो डिप बोरिङ, वर्षामै सुकायो ढुंगेधारा

२५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ९ मा पर्ने तीनचल टोलमा साउनमा पनि ढुंगे धारा सुख्खा छ । यसको सोझो कारण छ- खानेपानी आयोजनाको डिप बोरिङ ।

लुभू तल्लो दोभान खानेपानी आयोजनाले नजिकै डिप बोरिङ गरेपछि कहिल्यै नसुक्ने ढुंगेधारा स्याप्पै सुक्यो । धारा सुकेर वरपरका ९० भन्दा बढी घरधुरी पानीबिहीन भएपछि वडाध्यक्ष बासुदेव गौतमले सूचना निकालेर बोरिङ चलाउन रोक लगाए ।

बोरिङ चालु भएको एक-डेढ घण्टामै ढुंगेधारामा पानी खस्न छाडेको तीनचलवासी बताउँछन् ।

अहिले डिप बोरिङको विवाद लूभुमा मात्र सिमित छैन । काठमाडौंको रानीपोखारीमा पानी भर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको डिप बोरिङमाथि पनि जलाधार विज्ञहरुले प्रश्न उठाएका छन् ।

उनीहरुले भूमिगत पानी ‘रिचार्ज हब’का रुपमा विकास गर्नुपर्ने पोखरी भर्न उल्टै जमिनमुनिबाट पानी तान्नु गलत हुने भन्दै प्राधिरकणलाई अन्य उपाया अपनाउन सुझाव दिएका छन् ।

इन्जिनियर सुदर्शनराज तिवारी परम्परगत पोखरीहरुलाई ब्युँताउँन डिप बोरिङ गर्दा घातक हुने बताउँछन् । काठमाडौंको भूगर्भमा पानी रिचार्ज गर्न बनेका खुला स्थान पनि डिप बोरिङ गर्न नहुने उनी बताउँछन् ।

‘वर्षादको पानी संकलन गरेर पनि रानीपोखरी भर्न सकिन्छ’, तिवारी भन्छन्, ‘डिप बोरिङ गरेर भर्नु भनेको त पोखरीको मर्म र गरीमा मार्नु पनि हो ।’

उनका अनुसार, डिप बोरिङले पर्यावरणीय चक्रमा सिधा असर गर्छ । पोखरीहरुबाटै सयौं वर्षमा भूगर्भमा जम्मा भएको पानी तानेर पोखरी भर्नु कुनै पनि हिसाबले राम्रो हुँदैन ।

सहरभरि डिप बोरिङ

अहिले काठमाडौं उपत्यकाभरि डिप बोरिङ संस्कृति मौलाएको छ । जमिनमुनि पहिलो तहमा पानी सकिएर स्यालो ट्युववेल काम नलाग्ने भएपछि डिप बोरिङबाट दोहन तीव्र भएको छ । परिणाम, युगौंदेखि खानेपानीको स्रोतको रुपमा रहेका ढुंगेधाराहरु वषर्ामा समेत सुक्न थालेका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्यांकअनुसार, काठमाडौंमा अहिले अनुमति लिएका करिब ७०० डिप बोरिङ छन् । करिब ३०० डिप बोरिङ अवैध रुपमा चलेको अनुमान छ ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाका अनुसार, १० वर्ष अघि सन् २०१० बाट डिप बोरिङको लागि अनुमति लिनपर्ने कानुनी व्यवस्था गरिएको छ । ‘तर त्यसअघिका धेरै डिप बोरिङ अझै अनुमति लिन आएका छैनन्,’ उनले भने, ‘जब कि, काठमाडौंमा ९० को दशकबाटै डिप बोरिङ चलाउनेहरु पनि छन् ।’

उनका अनुसार हरेक साल काठमाडौंमा डिप बोरिङ गर्नेको संख्या बढिरहेको छ । धेरै पानी खपत गर्ने होटल, उद्योग, अस्पताल, दूतावास, सपिङ मल, व्यापारिक भवन लगायतलाई अनुमति दिनैपर्ने अवस्था रहेको राणा बताउँछन् ।

‘मेलम्चीको पानी नआएसम्म काठमाडौंमा डिप बोरिङ रोक्न सकिने अवस्था छैन,’ उनी भन्छन्, ‘नियमअनुसार अनुमति माग्नेहरुलाई हुन्न भन्न सकिन्न ।’
हुन पनि, सबैभन्दा बढी डिप बोरिङ गर्नेमा काठमाडौं उपत्यका खानेपाली लिमिटेड -केयूकेएल) नै छ । उसले उपत्यकाभरि करिब १५० ठाउँमा बोरिङ गरेको छ ।
सजिलै अनुमति, रित्याउँदै भण्डार

डिप बोरिङको अनुमति लिँदा वातावरण, भूगर्भ र पर्यावरणमा पर्न सक्ने असरबारे अध्ययन गरिरहनु पर्दैन । यीबाहेकका कागजात पेश गरेर बोर्डबाट सहजै अनुमति पाईन्छ ।

बोर्डले अनुगमन पनि खासै नगर्ने भएकाले अनुमति नलिई बोरिङ गर्नेले पनि सहजै उन्मुक्ति पाइरहेका छन् । अनुमति लिएकाहरुले पानी पुनर्भरण गर्न इनार वा पोखरी बनाएर वर्षे पानी खसाल्नपर्ने एउटा शर्त छ ।

त्यसका लागि आफ्नो क्षेत्र अपर्याप्त वा अपायक भए विद्यालय, कलेज, सार्वजनिक ठाँऊ लगायतका खुला क्षेत्रको प्रस्ताव गर्न सकिने व्यवस्था छ । तर, अहिलेसम्म अनुमति लिएकामध्ये बढीमा सय लाइसेन्सधारीले यो मापदण्ड पालना गरेका छन् ।

भूमिगत जलस्रोत विकास बोर्डको एक अध्ययनअनुसार काठमाडौंको जमिनमुनीको पानीको सतह वर्षेनी कम्तिमा ५० सेन्टिमिटरका दरले घटिरहेको छ । अध्ययनअनुसार काठमाडौंमा जमिनमुनिबाट प्रतिवर्ष २९.५२५ मिलियन क्युबिक मिटर पानी झिकिन्छ ।

भूमिगत पानीको पर्याप्तता, जल सतह, जल उपयोगको अवस्था, पुनर्भरणको सम्भावना, जनघनत्व आदिलाई आधार मानी भूमिगत पानीको उपलब्धता सम्बन्धी क्षेत्रको रुपमा बोर्डले आफनो भौगोलिक क्षेत्रलाई सुरक्षित, अर्ध संवेदनशील र संवेदनशील गरी तीन किसिमले वर्गीकरण गरेको छ ।

सुरक्षित क्षेत्रमा ३० मिटर र अन्य क्षेत्रमा ५० मिटरभन्दा गहिराइबाट पानी तान्न रोक लगाइएको छ । तर, घरायसी उपयोगकर्तालाई यो नियम लागू हुँदैन ।

बोर्डको निर्देशिका अनुसार, सुरक्षित क्षेत्रमा गाडिने डिप बोरिङबाट प्रतिसेकेन्ड २ लिटरदेखि १५ लिटरसम्म पानी निकाल्न पाइन्छ । अर्ध संवेदनशील क्षेत्रका बोरिङलाई २ लिटरदेखि ७ लिटरको सीमा तोकिएको छ भने संवेदनशील क्षेत्रमा २ लिटरदेखि ३ लिटर प्रतिसेकेन्ड ।

काठमाडौंको गोंगबु, धापासी, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बुढानिलकण्ठ, चपली, महाँकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, गोठाटार, नयाँपाटी, थली, झोर, इचंगुनारायण सुरक्षित क्षेत्रमा सूचीकृत छन् । भक्तपुरको बोडे र मनहरा क्षेत्रलाई पनि सुरक्षित क्षेत्र मानिएको छ ।

काठमाडौंको सीतापाईला, स्युचाटार, नैकाप, तीनथाना, बलम्बु, मच्छेगाँउ, सतुंगल, मातातीर्थ र बाडभन्ज्याङसहित नगरपालिकाका क्षेत्र र ललितपुरको कुपण्डोल, ज्वागलसहित भक्तपुरको सहरी क्षेत्रलाई अर्ध संवेदनशील क्षेत्रमा राखिएको छ ।

काठमाडौंको दक्षिणकाली, शेषनारायण, छैमले तथा ललितपुरको कुपण्डोल र ज्वागलबाहेकका भाग र भक्तपुरको उत्तरी भेग र सहरी क्षेत्र बाहेकलाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको छ ।

तर, संवेदनशील भनिएका क्षेत्रमा विभिन्न उद्योग तथा प्रतिष्ठानहरुले डिप बोरिङ अनुमति लिने क्रम बढेको छ ।

विज्ञ भन्छन् : व्यवस्थापन गरौं

बोरिङबाट पानी तोर चलाउनु आफैंमा गलत काम होइन, तर अधिक दोहनले मरुमूमीकरण निम्त्याउने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, पानी निकालेर प्रयोग गरिरहने तर पुनर्भरण हुन नदिने हो भने जमिनमुनि पानी सकिन धेरै समय लाग्दैन ।

भूमिगत जलस्रोतका जानकार राजु अधिकारी जमिनमुनिको पानीले सतहको जमिनलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जमिनमुनि रुखका जराजस्तै पानीका स-साना नशा (क्यापिलरी) फैलिएका हुन्छन् । ती जल नशाहरुले नै बोटबिरुवालाई चाहिने पानी पुर्‍याउँछन् ।

त्यो भन्दामुनि जम्मा भएको पहिलो सतहको पानी पनि तिनै जल नशाबाट इनार, कुवा र ढुंगेधाराहरुमा आउँछ । पहिलो सतहको पानी सकिएपनि बषर्ायामको केही दिनमै भरिने डा. अधिकारी बताउँछन् ।

‘तर, डिप बोरिंगले दोस्रो सतहको पानी तान्छ,’ उनी भन्छन्, ‘दोस्रो सतहमा पानी जम्मा हुन दशकौं या कहिलेकाहीँ शताब्दी नै लाग्छ ।’

उनका अनुसार, जमीनमुनिको दोस्रो सतहको पानीले पानीको पूरा आपूर्ति प्रणाली र जमीनमाथिको वातावरणलाई सन्तुलित राखेको हुन्छ । दोस्रो सतहको पानी सुक्यो भने त्यसको ठाउँ माटोले लिन्छ अनि जमीन सुख्खा हुदै र भासिँदै जाने खतरा हुन्छ ।

केही समयअघि इरानको राजधानी तेहरानमा यस्तै समस्याले जमीन भासिन थालेको समाचार आएको थियो ।

करिब ३००० वर्ष लगाएर भूगर्भमा जम्मा भएको पानीको भण्डार रित्तिन नदिन के गर्ने भनेर सोच्नुपर्ने बताउँछन, इन्जिनियर सुदर्शराज तिवारी पनि । ‘२७० मिटरदेखि ३०० मिटरसम्म तल जम्मा भएको पानी दुरुपयोग हुन दिनै हुँदैन,’ उनी भन्छन्, ‘पानी पुनर्भरण गर्ने पुराना पोखरी र खाली जमिनहरुलाई पनि पहिलेको अवस्थामा फर्काउन पर्छ ।’

तिवारी यो विषयलाई काठमाडौं भासिन्छ, भासिँदैन भन्ने कोणबाट मात्र हेर्न नहुने बताउँछन् । उनको बुझाइमा यो नेपाली प्रकृति, संस्कृति र सभ्यता रक्षासँग गाँसिएको विषय हो । काठमाडौंलाई बस्न लायक शहर बनाउन पनि डिप बोरिङहरु हटाउँदै जानुपर्ने उनको भनाइ छ ।

काठमाडौंजस्तो घना बस्ती र जोखिमपुर्ण भूवनोट भएको ठाउँमा त भूमीगत पानी दोहन झन् खतरनाक हुने डा. अधिकारी बताउँछन् । अनियन्त्रित डिप बोरिङले गम्भीर समस्या निम्त्याउने भएकाले यसलाई व्यवस्थित गर्ने थप कानून र पानीका नयाँ स्रोत अत्यावश्यक भएको उनले बताए ।

उनका अनुसार, जमिनमुनि पानीको तह सुकेपछि रुखबिरुवा उम्रन छोड्छ । जमिनमुनि पानी कम हुँदा ओसिलोपन सकिने हुनाले अन्न बाली पनि सप्रन छोड्छन् र विस्तारै मरुभूमीकरण सुरु हुन्छ ।

भूमिगत जलस्रोत विकास बोर्डका विज्ञ सुरेन्द्र श्रेष्ठका अनुसार, काठमाडौं उपत्यकाको जमिनको माथिल्लो भागमा कालोमाटोको तह छ । यो तह पार गरेर तल्लो तहमा पानी भण्डारण हुन लामो सयम लाग्छ । शहरीकरणले भूमिगत पानीको पुनर्भरण प्रकृयालाई थप अवरुद्व पारेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment