Comments Add Comment

अनि बाबुको थर ?

अनि बाबुको नामचाहिँ के हो नि ? मोइन । अनि बाबुको थर ? उद्दीन । उद्दीन ? हजुर म मुस्लिम । यति भनिनसक्दै म उहाँको अनुहारमा खल्लोपन पढिहाल्छु । यस्तै प्रश्न र उस्तै जवाफ मैले बारम्बार दिइरहेँ । सायद यो क्रम चलिरहने नै छ, जबजब म मलाई मेरो हिन्दु बाहुन साथीले घरमा आमन्त्रण गरिरहन्छन् । मलाई लगेर उनले ठूलै पाप गरे भन्ने भान छोराछोरीमा हुन्छ कि भन्ने मलाई कहिलै लागेन । कतिपय अवस्थामा मैले धेरै ध्यान नदिएर पनि हुन सक्छ तर आज मैले ध्यान दिएपछि यस्तै अनुभूतिले गाँजिरहेको छ ।

घटना केही दिनअघिको हो । मेरो एकजना साथी रस्मी अर्यालले मलाई आफ्नो पुख्यौली घर स्याङ्जा लैजान लागिन् । त्यो त्यस्तो लामो योजना पछिको प्रस्ताव पनि थिएन । कुरैकुरामा उनले सोधिन् – मोइन ! मसँग स्याङ्जा जान्छौ ? तिमीलाई मेरो पुर्ख्यौली घर देखाउन मन छ । मैले तुरुन्तै ‘हुन्छ’ भनेँ । किन र केका लागि भन्ने प्रश्न मैले सोधिन । कहिलै नपुगेको त्यो ठाउँमा मलाई घुम्न रहर लागिरहेको थियो ।

‘तिमीलाई स्कुलमा बिदा माग्न गाह्रो पर्देन भने यही फाल्गुनको अन्तिम सातामा होलीको बिदा पारेर जाम न त । तिमीले केही चिन्ता लिनुपर्दैन ।’ उनको कुरा सुनेर म त झनै खुसी भएँ ।

‘हामी सायद जाँदा प्लेनमा बुटवल जान्छौं, हाम्रो घरमा । एकदिन त्यतै घुमाउँछु तिमीलाई अनि बिहानपल्ट काकाकाकी अनि अरूसँग बसमा स्याङ्जा जान्छौं । दुई दिन उतै बसेर पूजा सकाएर सोमबारै बिहान फर्किन्छौं ।’

मैले ‘हुन्छ’ भनेँ ।

मन गद्गद् भइरहेको थियो । ‘हुन्छ, तिमीलाई खबर गरौंला’ भनेर हामीले त्यो बेलाको च्याटमा विश्राम लियौं ।

दुई दिनपछि फेरि हाम्रो च्याटमा कुराकानी भयो । यस्तै हालखबर र स्कुलको कुराकानी भएपछि फेरि भम्रणकै कुरा सुरु भयो ।

मोइन ! हामी २२ गते काठमाडौंमा भेटौं, बेलुका ६ बजे थलीमा, मेरो श्रीमानको घरमा ।

संघर्ष पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहिरहनेछ । बस्, त्यो धर्म र कुलमै जन्मिएकै आधारमा कोही कोहीले आफूलाई ठूलो जातको रूपमा उभ्याउलान् त कोहीले जति ऊ गुणले सम्पन्न भए पनि धर्म र जातकै आधारमा नचाहँदा नचाहँदै पनि भेदभावको शिकारमा परिरहने छन्  ।

म त झसंग भएँ, श्रीमानको घरमा भन्दा । सुरुमा रस्मीले उसको माइतमा भनेकी थिइन् तर श्रीमान्को घर नगएको धेरै भएको हुनाले उनले त्यहाँ जाने विचार गरेकी रहिछन् । उनको श्रीमान् अमेरिकामा पीएचडी गरिरहेका छन् र उहाँ मेरो फेसबुकमा पनि हुनुहुन्छ ।

मैले सोधेँ – अनि तिम्रो श्रीमानलाई भनेकी छ्यौ त ?

अँ, सोधेकाले त लानला’को । मैले लामो सास फेर्दै मेसेज लेखे– अनि श्रीमानको परिवारलाई नि ?

जवाफ आयो, ‘सोधिसकेँ ।’

उहाँहरू त खुसी हुनुहुन्छ, साथी ल्याउन लागेकोमा । बरु मेरो आमा बुबाले मान्नुभा’को छैन । स्याङ्जामा अरूले केही भनिहाले भने पनि ‘अड’ नमान ल ? भनेर सम्झाउन थालिन् ।

मैले पनि आफूलाई केही नहुने भन्दै पिर नमान्न सुझाएँ ।

जाने दिन आयो, मैले स्कुलमा हेडसरलाई भनेर बिदा लिइसकेको थिएँ । साढे १ बजेको बस चढेर ६ बजे थली पुगेँ । रस्मी पनि आफ्नो स्कुलबाट ४ बजे निस्किइन ।

म १० मिनेट अगाडि पुगेकोले उनलाई पर्खिनु नै थियो । उनी आइन्, अनि हामी गफिँदै उनको ससुराली घरतर्फ लाग्यौं ।

हामी पुग्नासाथ उनकी भाउजूले ढोका खोलिन् । मैले विनम्रताका साथ नमस्ते भनेर अभिवादन गरे । उनले पनि अभिवादन फर्काइन् । लगत्तै रस्मीको सासू आइन् नातिनी सँगै ।

उनलाई पनि मैले अभिवादन गरे ।

उताबाट जवाफ आयो, अनि बाबुको नामचाहिँ के हो त ?

मोइन ।

अनि बाबुको थर ?

उद्दीन ।

उद्दिन ?

हजुर म मुस्लिम । यति भनिनसक्दै म उहाँको अनुहारमा एक प्रकारको अप्ठ्यारोपन भेटिहाल्छु । अब गर्न पनि के सकिन्थ्यो र ? बुहारीले ल्याइहालिन् मुस्लिम साथी । मैले ब्याग तल राखेँ । उनकी सासूले बस्नलाई आग्रह गर्नुभयो । भाउजूले भान्छाबाट मनतातो पानी ल्याएर दिनु’भो । अनि हामी सामान्य गफमा कुराहरू गर्न थाल्यौं ।

मलाई लाज निकै लाग्ने गर्छ । मान्छेसँग गफ गर्दा र प्रायः म अनुहार तल हेरेर कुरा गर्ने गर्छु । तर रस्मीको सासूले मेरो अनुहार हेरिरहेको अनुभव गरेँ ।

सायद उहाँले मलाई अविश्वासिलो नजरले हेरिरहेको पो हो कि । खैर एकैछिनमा रस्मीले आफ्नो श्रीमान्सँग भिडियो कल गरिन्, मलाई पनि गफ गर्न लगाइन् । के छ ? कस्तो छ भनी कुराकानी गर्‍यौं, अनि फेरि रस्मीलाई नै फोन दिएँ ।

एकैछिनमा रस्मीको ससुरा आउनु’भो । मैले त्यसरी नै अभिवादन गरेँ । साथमा रस्मीको साथी भनेर आफ्नो परिचय पनि दिएँ । खाना खानेबेला भएछ, रस्मीकी सासूसँगै खाना खान गयौं । मैले त्यही बेलामा कुराकानी सुरु गरेँ ।

उनलाई सोधेँ– तपाईंको पालाकी बुहारी र अहिलेकी बुहारीसम्म आइपुग्दाको समयलाई कसरी हेर्नुहुन्छ ? उनले धेरै परिवर्तन आइसकेको कुरा गरिन् । उनको पालामा बुहारीले भुइँमा बसेर र अन्तिममा खाना खानुपर्ने अनि घरायसी कामकाजमा लागि रहनुपर्ने भोगाइ सुनाइन् । अहिलेकी बुहारी त्यस्ता थिएनन् । रस्मीले जिस्किँदै भनिन्– बुहारीले आफ्नो केटा साथी ल्याउन पाइन्छ अहिले, तर त्योबेला हुँदैन’थ्यो भनेर भन्दैगर्दा सबैजना हाँस्न थाले ।

ती कुराहरू भइरहँदा मेरो मनमा भने लागिरहेको थियो– समाज परिवर्तन भइरहेको रहेछ । यदि म रस्मीको ठाउँमा भएको भए सायद म कुनै केटालाई आफ्नो ससुराली मात्र के, आफ्नो माइतमा समेत ल्याउँदिन थिएँ होला । त्यो रस्मीले गरेको देख्दा साहसिक कदम लाग्छ । खैर एक रात रस्मीको ससुरालीमा बिताइयो । भोलिपल्ट हामी गइसकेपछि के कुरा भयो होला, त्यो भगवान नै जानून् ।

११ः१० को फ्लाइटबाट हामी बुटवल अवतरण गर्‍यौं । अनि रस्मीको बुटवल निवासमा पुग्यौं । त्यहाँ उनकी काकी हुनुहुँदो रहेछ । मैले अभिवादन गरें । उनले अभिवादन फर्काइन् ।

‘अनि बाबुको नाम चाहि के हो नि ?’

मोइन ।

बाबुको थर ?

उद्दिन ।

उद्दिन ?

हजुर म मुस्लिम ।

मुस्लिम भन्नासाथ उहाँले केही सोध्नुभएन । रस्मी र काकी बाहिर गएर कुरा गर्न थालिन् र म फेसबुकमा फोटोहरू अपलोड गर्नमैै व्यस्त भएँ । पछि रस्मी आएर काकीले थर अर्कै भन्न लाउनु भनेर भनेको कुरा सुनाइन् ।

जे हो, त्यही भन्छ झूटो बोल्दैन मोइनले भनेर काकीलाई रस्मीले भनिछन् । मलाई सुनाउँदै थिइन् ।

एकैछिनमा हामी खाजा खाएर बुटवल घुम्न गयौं । फर्किँदा रात परिसकेको थियो । घरमा काकीका छोराछोरी आइसकेका रहेछन् । राधेराधे दिदी भनेर रस्मीलाई अभिवादन गरे । मैले नमस्ते भनेँ, उनीहरूलाई ।

सायद मेरो आवरणले मुस्लिम हो भनेर चिनेछन् जस्तो लाग्यो । खाना खाइसकेर मैले त्यो दिनको ब्लग बनाएर अपलोड गर्नै लाग्दा रस्मीका काका आए । उनी सिधै आएर मसँग गफिन थाले ।

उनले भने– भाइ ! आज आएर मलाई साह्रै खुसी लाग्यो । रस्मीको बुबाले त नल्या नै भनेका थिए तर मैले ल्याउँदा केही फरक पर्दैन भनेर भनेँ । बरु म नै राख्छुसम्म भनेको थिएँ । बरु पूजा नगर्ला, टीका न लगाउला, तर के रहेछ भनेर रिर्सच गर्ला अथवा पुराण नसुने घुम्नै जाला तर ल्याउँदा केही बिग्रिँदैन भनेर भनेको कुरा मलाई सुनाए ।

अनि म तपाईंहरूको जस्तैकोमा काम गर्छु नि । यानी मुस्लिमकोमै भनेर भन्दैगर्दा काकीले भित्रबाट बोलाइन् । काका भित्र गए । केहीबेर पर्खेँ तर नआए पछि म सुतें ।

भोलिपल्ट चार बजे उठेर फेस्र भएँ र ब्याग प्याक गर्न थालेँ । अरू ३०–३५ अर्यालहरू पनि बसस्टपमा जम्मा भएका थिए । रिजर्भ गाडीमा हामी स्याङ्जाको सिरुबारी भन्ने ठाउँमा गयौँ । बुटवलको गर्मीले तातिँदै थिएँ, यता स्याङ्जाको चिसो र झरीले स्वागत गर्दै थियो । त्यही बेलामा रस्मीकी आमाले छोरीलाई अँगालो हालिन् । प्रणाम र दण्दवत गरिसकेपछि रस्मीले उनकी आमालाई मसँग परिचय गराइन् ।

हामी जतिसुकै पढे लेखेको मोर्डन भने तापनि हामी पुरातन छापलाई अन्तरङ्गबाट पन्छाउन नसक्ने रहेछौँ ।

उनको अनुहारमा पनि छोरीले मलाई नल्याइदिएको भए हुन्थ्यो भन्ने भाव झल्किन्थ्यो । हामी सरासर उनको घरतर्फ लाग्यौँ ।

हालसालै बनाएका रहेछन् माटोले लिपेको घर । रस्मीको बुबा त्यही हुनुहुन्थ्यो । मलाई परिचय गराइन् । उनको अनुहारमा पनि त्यही भाव देखिन्थ्यो, जुन आमामा थियो ।

खासै कुरा भएन मेरो उहाँहरूसँग । पित्रीहरूलाई सम्झेर एकहप्ते पुराणको आयोजना गरिएको रहेछ । प्रायः देशैभरका अर्यालबन्धुहरू भेला भएका थिए । रस्मी पुराण सुन्न र पूजा गर्नमै व्यस्त भइन् । म पनि सुन्न लागेँ ।

यसरी पुराण सुनेको र कोही केटीसाथीको घरमा गएर बसेको मेरो पहिलो अनुभव थियो । मेरो हुलियाले गर्दा म अर्याल नभएको बुझेर कोही कोही परिचय खोज्न आए ।

आउने सबैको एउटै प्रश्न हुन्थ्यो, बाबुको नाम के हो ? मैले त्यही भने जुन मैले भन्दै आइरहेको थिएँ । मेरो असली परिचय ।

एकजनाले मलाई नजिकै आएर भने– ‘मुस्लिम नभन्नु बरु कटुवाल क्षेत्री भन्नु’ भनेर । त्यही नजिकै पुरान वाचन गर्ने पण्डितले सुन्नु भएछ र भन्नुभो – ‘के भो त मुस्लिम भएर ?’ उनको दाह्रीले पनि उनी मुस्लिम हो भनेर चिनाउँछ । अनि कुरा मोड्दै उनले भने – अनि नयाँ ठाउँ कस्तो लाग्यो त ? पहिला यता आउनुभएको थियो कि ?

मैले आको थिइनँ भनें ।

केही बेरपछि रस्मीले फोन गरिन्, ‘घरतिर आउन ।’

म गएँ ।

उनी बाटोमा पर्खिरहेकी थिइन् । हामी गफिँदै गयौँ । सोधेँ– केही त भन्नु भएन तिम्रो ममीले ? खासै केही भन्नुभाको छैन । त्यही हो नल्याइदिएको भए हुन्थ्यो भनेर भन्नु’भो ।

तर, हिजो त मलाई साह्रै रुनै मन लागेको थियो, जब उहाँहरूले त्यसोभन्दा भनेर बरु उनी आफैंले खिन्न भाव देखाइन् ।

खैर ल्याइसकेँ अब केको बाल ? भन्दै उनी घरतिर लागिन् ।

कुरा गर्दै जाँदा रस्मीले भनिन् – बुबाममी पूरै मोर्डन पनि स्वीकार्न सक्नुभा’को छैन र पूरै पुरातन पनि । उनले थपिन्– ‘साँच्ची मोइन ! मलाई यहाँ आएपछि फिल भयो कि यदि मैले मुस्लिमसँग बिहे गरेको भए त मलाई कुलबाट निकालिदिन्थे – मलाई अब त मरिस् हाम्रो लागि बरु घरै नआइज भनेर भन्थे होला ।’

अर्को दिन हामी बिहान त्यहाँबाट बिदा भयौं, काठमाडौं फर्किन ।

रस्मीसँग कुरा गर्दैजाँदा हामीले अनुभव गर्‍यौं– हामी जतिसुकै पढे लेखेको मोर्डन भने तापनि हामी पुरातन छापलाई अन्तरङ्गबाट पन्छाउन नसक्ने रहेछौँ ।

संघर्ष पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहिरहनेछ । बस्, त्यो धर्म र कुलमै जन्मिएकै आधारमा कोही कोहीले आफूलाई ठूलो जातको रूपमा उभ्याउलान् त कोहीले जति ऊ गुणले सम्पन्न भए पनि धर्म र जातकै आधारमा नचाहँदा नचाहँदै पनि भेदभावको शिकारमा परिरहने छन् । खैर रस्मी र मेरो पालादेखि र आउने पुस्तासम्ममा केही परिवर्तन हुने पो होकी ?

त्यो सायदै अबकोे शिक्षा प्रणाली, समाज, सोच र अपनत्वमा भरपर्ने देखिन्छ ।

रस्मीजस्तो मान्छेले साथी आमन्त्रित गर्दा र मजस्तो मुस्लिमले रस्मीको घर गइरहँदा अबको दिनमा धर्म र जातको कारणले सोचाइ र व्यवहारको भेदभावमा फरक नहोस् भन्ने कामना गर्दछौं । आखिर तपाईं र मैले आवेदन दिएर म यो परिवारमा, यही देशमा र यही कुलमा भनेर जन्मेको पनि होइन । यो भाग्यले कहाँ र कसकोमा जन्मियौं त्यसैको आधारमा हो । म भाग्यले मुस्लिम परिवारमा जन्मिएँ र रस्मी हिन्दु परिवारमा । सायद म रस्मीको कुलमा र ऊ मुस्लिम परिवारमा जन्मेको भए त्यो नियति फेरि पनि त्यही हुन्थ्यो कि ?

यसमा घोर विचार गर्ने बेला आएको छ । रस्मी र म एउटा उदाहरणको पात्रमात्रै हौं । यस्ता पात्रहरू संसारभरि छरिएका छन्, बस् लेख्ने चेष्टा मैले गरेँ ।

अब पनि ‘अनि बाबुको थर के हो ?’ भनेर सोध्ने दिन विरलै आओस् भन्ने कामना गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment