Comments Add Comment

फुर्सद छ ? आउनुस् एकछिन लुडो खेलौं !

नेपालीले बनाएको लुडो एप एक करोडभन्दा बढी डाउनलोड

२ भदौ, काठमाडौं । तपाईंलाई थाहै होला, नेपालको घोषित राष्ट्रिय खेल ‘भलिबल’ हो । तर, अघोषित राष्ट्रिय खेलचाहिँ ‘लुडो’ लाई मान्दा हुने भयो । गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने गरेको यो रमाइलो खेल अहिले स्मार्टफोनमार्फत शहरमा सलहसरी व्याप्त भएको छ ।

नहोस् पनि किन, कुनै खेल सामग्री नचाहिने । खेलाडीको निश्चित संख्या पनि आवश्यक नपर्ने । जहाँ बसेर पनि खेल्न सकिने । खेलाडीहरु एकै ठाउँमा जुट्नु पनि आवश्यक हुँदैन । विदेशमा भएका साथीभाई आफन्तसँग पनि रमाउँदै खेल्न सकिन्छ । त्यसैले त सरकारले कुनै प्रोत्साहन कार्यक्रम नल्याउँदा पनि लुडोको लोकप्रियता उत्कर्षमा पुगेको छ ।

केटाकेटी हुन् वा बुढाबुढी । युवा हुन् वा युवती । सबैलाई भुलाएको छ लुडोले । प्रेममा परेका युवा–युवतीहरु फोनमा कुरा गर्दा–गर्दा थाकेपछि लुडो खेल्न थाल्छन् । बिहान शौचालयको कमोडमा बस्दा नै दुई–तीन राउन्ड लुडो खेल्न भ्याउँछन् कोही । हारेको झाेंकमा कहिलेकाहीँ ट्वाइलेट फ्लस गर्न बिर्सिँदा खप्की खानुपरेको अनुभव सुनाउनेहरु पनि छन् ।

भरपुर मनोरञ्जनको ग्यारेन्टी । उत्साह, निराशा, आक्रोश, चिडचिडाहट, सनसनी… के छैन लुडोमा ? लुडो खेल्दै गर्दा तपाईंलाई परिवारकै सदस्य पनि ‘दुश्मन’ जस्तो लाग्न थाल्छ ।

लुडोका थुप्रै एपहरु गुगल प्ले स्टोरमा भेटिन्छन् । त्यसमध्ये नेपालमा सबैभन्दा चलेको एपचाहिँ नेपालीले नै बनाएका हुन्

चार महिना अगाडि कोरोनाका कारण देश पूर्ण लकडाउनमा गयो । मानिसहरु फुर्सदिला भए् । यदि बेला हो, लुडोले शहरवासीलाई सबैभन्दा बढी भुलाएको । मोबाइल चलाउँदा–चलाउँदा वाक्क हुँदा होस वा टीभी हेर्दा हेर्दा दिक्क हुँदा । सुत्दा–सुत्दा जिउ दुखोस् वा बार्दलीबाट बाहिर हेर्दा–हेर्दा आँखा टट्याओस् । सबैको ओखती लुडो !

धुम्बाराही बस्ने रामेश्वर अधिकारीको परिवार बेलुका खाना खानासाथ वरिपरि भेला हुन्छन् । घरसल्लाह गर्नलाई वा सुख–दुःख साटासाट गर्नलाई होइन, लुडो खेल्नलाई । हरेक रात सय रुपैयाँ बाजीमा ३–४ राउन्ड लुडो खेल्ने बानी बसेको रामेश्वर बताउँछन् ।

‘लकडाउनमा लागेको बानी अहिले पनि हटेको छैन, पहिले टाइम पासका लागि खेलियो, अहिले लत बस्यो,’ उनले भने, ‘बरु फुर्सद भए आउनुस, न एक राउन्ड भिडौं ।’

अमेरिकादेखि सुडानसम्म

लुडोमा दुई प्रकारका खेल हुन्छन् । एउटा सर्प र भर्‍याङवाला । अर्को चारकुने । सर्प–भर्‍याङवाला लुडो त्यति चलेको छैन । अर्को चारकोठे लुडोचाहिँ अति प्रख्यात छ ।

लुडोका थुप्रै एपहरु गुगल प्ले स्टोरमा भेटिन्छन् । त्यसमध्ये नेपालमा सबैभन्दा चलेको एपचाहिँ नेपालीले नै बनाएका हुन् । जीवन श्रेष्ठ नाम गरेका युवाले डेभलप गरेको एप अहिलेसम्म १ करोडभन्दा बढी डाउनलोड भएको छ । यो एप मोबाइलमा डाउनलोड गरेर अफलाइनमा खेल्ने गरिन्छ ।

अनलाइनमै खेलिने लुडोका एपहरु थुप्रै छन् । यीमध्ये धेरै एप भारतीयहरुले बनाएका हुन् । भारतीयले बनाएको ‘लुडो किङ’ अहिलेसम्म ३५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ । यो एप सन् २०१६ को जनवरीमा पटनाका विकास जयसवालले डेभलप गरेका थिए ।

नेपाल र भारतसहित दक्षिण एसियाली देशहरुमा लुडो लोकप्रिय छ । यसका अलावा अमेरिकादेखि ब्राजिल र सुडानसम्म लुडो खेलिन्छ । कतिपय स्थानमा यसलाई फरक नामले चिनिन्छ । जस्तो नर्थ अमेरेिकामा ‘पर्चिसी’ भन्ने गरिन्छ ।

नेपालमा अनलाइन गेम

नेपालमा इन्टरनेटको व्यापकतासँगै अनलाइन गेमले पनि व्यापकता पाइरहेको छ । खासगरी बालबालिका र टिनएजका केटाहरु अनलाइन गेममा धेरै भुलिन्छन् । केटीहरुले यस्ता खेलमा त्यति रुचि राख्दैनन् । केटीहरुका लागि टिकटक छँदैछ ।

नि:सन्देह अहिले नेपालमा सबैभन्दा चर्चित अनलाइन गेम लुडो नै हो । त्यसपछि आउँछ पब्जी । यो विश्वव्यापीरुपमै युवाहरुमा लोकप्रिय अनलाइन गेम हो । जति लोकप्रिय छ त्यति विवादमै पनि छ । बच्चाहरुलाई ‘साइको’ बनाएको भनेर विभिन्न देशले पब्जीलाई प्रतिवन्धित गरेका छन् । नेपालमा पनि गत वर्ष पब्जीमा प्रतिवन्ध लगाइएको थियो । तर, अदालतले प्रतिबन्ध फुकुवा गरिदियो ।

नेपालमा एक समय सर्वाधिक लोकप्रिय रहेको क्यान्डी क्रस अहिले पनि लोप भइसकेको छैन । यो गेम पनि किशोर–किशोरीबाट फैलिएर गृहणीसम्म पुगेको थियो । अहिले क्यान्डी क्रस केही सेलाए पनि नेपालमा खेलिनेमा टप ५ मा नै पर्छ । यसैगरी, लकडाउनयता अनलाइन क्यारेम बोर्डको पनि लोकप्रियता बढेको छ ।

त्यसबाहेक फ्रि फायर, क्ल्यास अफ क्लान्स र कोइनमास्टर नेपालमा अत्यधिक चर्चित छन् । यी सबै एपहरु विदेशबाट भित्रिएका हुन् । एन्ड्रोइड  एप डेभलपर सौरभ घिमिरेका अनुसार अनलाइन बसेर गेम खेलिँदा गुगलमार्फत आउने विज्ञापनको पैसा डेभलपरले पाउने गर्छन् । मोबाइलमा डाउनलोड गरेर अफलाइनमा खेलिँदा चाहिँ उनीहरुले केही पाउँदैनन् । प्लेस्टोरमा २५ डलर तिरेर अकाउन्ट खोलेपछि जोकसैले आफ्नो एपलाई त्यसमा समावेश गर्न सक्छन् ।

अनलाइन गेमहरुको बढ्दो लोकप्रियतालाई हेरेर सामाजिक सञ्जाल फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ गेमिङ एप लन्च गरेको छ । यसलाई ‘फेसबुक गेमिङ’ नाम दिइएको छ । यो गूगल प्लेस्टोरमा पनि उपलब्ध छ ।

अनलाइन गेम तथा भिडियो गेमहरुले बच्चाहरुलाई गर्ने मानसिक असरको विषयमा विश्वव्यापीरुपमै बहस हुँदै आएको छ । यस्ता गेमहरुको लत बसेमा बच्चाहरुमा विभिन्न नकारात्मक पर्ने विज्ञहरु बताउँछन् । उनीहरु एकोहोरो बन्ने, पढाइमा ध्यान नदिने कोहीकोही डिप्रेसनमै पनि पुग्ने गरेका छन् । लुडोकै विषयमा मात्र यस्तो कुनै अध्ययन भएको छैन । तर, अन्य अनलाइन गेमजस्तै लुडोको पनि नकारात्मक असर भइ नै हाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment